मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । उक्त पाइपलाइनबाट बिहिबार साँझ पेट्रोलियम पदार्थ नेपाल आइपुग्ने भएको हो ।
आजको परीक्षण सफल भएपछि भारतबाट पाइपलाइनबाटै पेट्रोलियम पदार्थ नेपाल आउने छ । पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवका अनुसार पाइप लाइनको परीक्षणका लागि बुधबार भारतको बिहार राज्यको राजधानी पटनाबाट डिजेल पठाइएको छ ।
पहिलो चरणमा परीक्षणका लागि पाइपमा पानी, पाइप सफा गर्ने तिग र डिजेल हालेर पठाइएको छ । नेपाल आयल निगमका प्रवक्ता बीरेन्द्र गोइतले साउन अन्तिममा पाइपलाइनको उदघाटन गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उद्घाटनको तयारी अघि बढाईएको छ ।
अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारण गर्न ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका २ वटा ट्यांकी राखिएका छन । पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमको विश्वास छ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९.५ किलोमिटर नयाँ पाइपलाइन बिछ्याइएको थियो । पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.५ किलोमिटर पर्दछ । परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड भारू र नेपालको ७५ करोड लगानी छ ।
नेपालको ७५ करोड रुपैयाँ भने ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना निर्माणमा खर्च गरिने आयल निगमले जनाएको छ ।