आगामी महिनादेखि रेल चलाउने तयारी, देउवा र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2022 | 09:46:58 AM मा प्रकाशित

laxmi  sunrise bank

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा आगामी महिनादेखि सुरु हुने भएको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

विसं २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । अब भने रेल चलाउने तयारी गरिएको हो  

‘‘हामीले सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ”, नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भने , “रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुनमात्र बाँकी छ ।” दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ ।

“कुन मितिबाट रेल चल्छ भन्ने ठ्याक्कै म अहिले भन्न सक्दिनँ”, महाप्रबन्धक झाले भने,‘‘ तर हामीले फेब्रुअरीको दोस्रो वा तेस्रो साताबाट रेल चलाउने तयारी गरेका छौँ ।” अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको महाप्रबन्धक झाको भनाइ छ ।

“रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन दिनको एकपटक आउने र जाने गरी रेल चलाउँछौँ”, महाप्रबन्धक झाले भने ,‘‘ त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीनपटकसम्म पनि रेल चलाउन सकिन्छ ।” रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म समान्य सिटमा रु ७० र एसी सिटमा रु ३०० भाडा निर्धारण गरिएको उनको भनाइ छ ।

रेल सेवा सञ्चालन गर्ने तयारी गरिए पनि रेल्वे लिकमा रहेका क्लिपहरु चोरी भइरहेको र ठाउँठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेको, रेल्वे लिकमै अनधिकृतरूपमा छाप्रो हालेर पसल चलाउँदै आएको र छाडारूपमा पशु चौपाया छाड्ने गरेकाले रेल सञ्चालनमा कठिनाइ भइरहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved