'आफु र बालबच्चाको जीवन बनाउने अवसर हो लकडाउन' डा. पाण्डेको विचार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 12, 2020 | 07:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको बुहानमा देखिएको कोरोना भाइरसले विश्वलाई आफ्नो चपेटामा पारेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि केहि अपवाद बाहेक विश्व नै लकडाउन (बन्दाबन्दि) को अवस्थामा छ। यसबाट नेपाल समेत अछुतो छैन। 

सन २०१९ को अन्त्य तिर कोरोना भाइरस देखिएपनि नेपालमा भने चैत ११ गतेदेखि मात्र लकडाउन सुरु भएको छ। सरकारले औपचारिक रुपमा बैशाख ३ सम्म लकडाउनको घोषणा गरेपनि यो अवधि लम्बिने संकेत दिएको छ। 

वातावरण जस्तो हुन्छ मानिसको दिमागले पनि त्यसैगरि सोच्ने विशेषज्ञहरु बताउँछन। अहिलेको अवस्थामा नेपालमात्र नभई विश्व नै कोरोना भाइरसले आतंकित छ। नेपाल लगायतका विश्वभरका मिडियाहरुले दिने समाचार तथा सूचना पनि कोरोनासँग सम्बन्धित छन्। एकातर्फ घरमै बस्नुपर्ने बाध्यता र अर्को तर्फ चौतर्फी कोरोनासँग सम्बन्धित सूचना र जानकारी छन। यसले गर्दा मानिसहरुको दिमाग नै एकरूपले कोरोनामय बनेको छ। 

यस्तो कठिन परिस्तिथिलाई अवसरको रुपमा बदल्न कसरि सकिन्छ भन्नेबारे बिजपाटी डटकमले अल्का अस्पतालमा कार्यरत नशा तथा मनोरोग विशेषज्ञ डाक्टर प्रदिप पाण्डेसँग कुराकानी गरेको छ। उनि भन्छन:-

वातावरणबाट जे सूचना आउँछ हाम्रो विचार त्यस्तै हुन्छ। कोरोना भाइरसले सिर्जना गरेको लकडाउनले गर्दा धेरै भन्दा धेरै नकारात्मक  सोच हाम्रोमा आउनु स्वाभाविक देखिन्छ। तर यसो भन्दैमा अब सबै सकियो भनेर हात बानेर बस्ने छुट कसैलाई पनि छैन। 

अहिलेको अवस्थामा सकारात्मक सोच कसरि बढाउने र भोलिका लागि आफुलाई कसरि तयार पार्ने भन्ने नै हो। शास रहेसम्म मान्छेले आस गर्नुपर्छ। भोलि यहि नै हुन्छ भन्ने यकिन नभएपनि बाँचियो भने आफ्नो नियमित जिन्दगिमा फर्कनु त छदै छ। आफुलाई तयार गर्नलाई आज नै धेरै काम गर्न सकिन्छ। 

थोरै तर आधिकारिक स्रोतबाट सूचना लिने 

अहिले हामीलाई कठिन बनाएको हाम्रो वातावरणमा रहेको सूचना  र हाम्रो बानिले हो। पलपलको सूचना लिने, सबै तिरबाट सूचना लिने, जुनै बेला सूचना उपलब्ध हुने साधनसँग टासिएर बस्दा हाम्रो दिमागलाई झन नकरात्मक बनाइदिन्छ। 

तर यसलाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ। विश्व स्वास्थ्य संगठन, सरकारी निकाय लगायतका आधिकारित संस्थाबाट जानकारी लिन सकिन्छ। तर हरेक आधा घण्टामा जानकारी लिनुपर्छ भन्ने छैन। 

अहिले मानिसहरु सबै फेसबुक, युट्युब, ट्विटर, अनलाइन मिडिया लगायतका स्रोतबाट धेरै सूचना लिइरहेका छन्। यी मध्ये सबै सूचना सहि र सत्य हुन्छन भन्ने हुदैन। त्यहि भएर आधिकारिक र विश्वसनीय स्रोतबाट जानकारी लिंदा राम्रो हुन्छ। झुटो र गलत सूचना नै सहि, त्यसले हाम्रो दिमागमा असर पार्छ नै त्यसैले कति र कस्ता सूचना कहाँबाट लिने भन्ने कुरा अर्थपूर्ण हुन्छ। 

युट्युब, फेसबुक, संचारमाध्यम, टिभी अनलाइन मिडिया, पत्र पत्रिका जता हेरे पनि कोरोना मात्र छ। अहिले बिश्वभर यति मान्छे मरे,यो देशमा यस्तो भयो, त्यो देशमा त्यस्तो भयो,अब हाम्रो देशमा पनि कोरोनाले महामारीको रुप लिन्छ भनेर हामि मानिसिक रुपमा पहिलेनै पराजित अवस्थामा पुगेका छौं। 

दिमागलाई डाइभर्ट गर्नुहोस 

बिहान बेलुका परिवारसँग पनि कोरोनाको कुरा, साथीभाईसँग पनि कोरोनाकै कुरा, सूचना तथा जानकारी पनि कोरोनासँग सम्बन्धित नै लिने गर्नुहुदैन। कतिलाई कोरोना लाग्यो, संख्या कति पुग्यो भनेर प्रत्येक आधा घण्टामा नयाँ जानकारी लिन खोजिरहेका छौं। कोरोनाबारे जति जानकारी लिन खोज्छौं हाम्रो दिमागमा पनि कोरोनाले धेरै ठुलो स्थान पाउँछ। यसले नयाँ कुरा सोच्नबाट रोकेको छ। 

कोरोनाले हाम्रो दिमागमा ठाउँ बनाउदै जाँदा हाम्रो आत्मबल कम हुन्छ र यसले हाम्रो इम्युनिटी पावर लाई कम्जोर बनाउदै लैजान्छ। यसले कोरोना आउँदा यसंग लड्न सक्ने क्षमता कम्जोर बनाईरहेको छ र हामी सहजै कोरोनाबाट पराजित हुने अवस्था आफैं बनाउदैछौं। 

भविष्यमा कोरोना लागेपनि यसबिरुद्द लड्नलाई आफुलाई सकारात्मक सोच राख्नुको विकल्प छैन। त्यसैले यसको लागि दिमागलाई कोरोनाबाट टाढा लैजानुपर्छ। सूचना लिंदा पनि सकारात्मक सूचना लिने। चीनमा कोरोना देखिएर पनि अवस्था सामान्य हुँदै गएको छ, कोरियाले कोरोनाबाट कसरि मुक्ति पायो, विश्वका केहि देश अहिले पनि कोरोनाबाट मुक्त छन त्यो कसरि भयो भन्ने जस्ता सूचना लिएर पनि दिमागलाई सकारात्मक बनाउन सकिन्छ। 

अर्कोकुरा, थोरै सूचना लिएर धेरै समय सृजनशिल काममा प्रयोग गर्न सकिन्छ। मर्निङ वाल्क, घरमै एक्सरसाइज गर्ने, योगा गर्ने, ध्यान गर्ने, आफ्नो कुनै ह्बी छ भने त्यसलाई समय दिने, रहर लागेर पनि समयअभावको कारण गर्न नपाएका काम गर्ने जस्तो केटाकेटीसँग समय बिताउने, कुकिङ गर्ने, आफन्तहरुसँग कुराकानी गर्ने, जस्ता क्रियाकलाप गरेर पनि आफुलाई कोरोनाको वातावरणबाट मुक्त गरेर आफुलाई स्वस्थ र ताजगी राख्न सक्छौं। 

अरु काममा आफुलाई अब्यस्त बनाउदा हाम्रो दिमागले लकडाउन जस्तो कठिन परिस्थितलाई पनि स्वीकार्दै जान्छ र अवस्था आफु अनुकुल बनाउन सकिन्छ। यसलाई बानि बनाउन सकिएन भने भोलि आजको अवस्थाबाट मुक्ति पाउन कठिन हुन्छ। अहिले बढी नकारात्मक सोच राख्दा भोलि दिमागमा धेरै नकारात्मक कुरा खेल्ने हुन सक्छ। 

लकडाउनलाई बिग होलिडे बनाउन सकिन्छ

कोरोना संकट सकिएपछि नयाँ जीवन सुरु त गर्नु छ। सुरक्षित तवरले बिताउने हो भने अहिलेको लकडाउनलाई आफुले खोजेको 'बिग होलिडे' जस्तो बनाएर मनाउन सकिन्छ। समय मिलेको भए यो गर्थे त्यो गर्थे भन्ने धेरै हुनुहुन्छ।  प्रकृतिले दिएको लामो विदा हो भनेर यसको उचित सदुपयोग गर्न सकिन्छ। बर्षौंदेखि लामो विदा चाहेको थिए तर अहिले पाए भनेर यसमै रमाउनु पर्छ। 

अहिले धेरै दिन बिदा मिलेको छ तर हामि यसलाई बाध्यता सोचेर दुखि भएर चिन्तित अवस्थामा घरमा छौं। तर यसलाई बर्षौं देखि खोजेको लामो होलिडे सोच्ने हो भने यसमै खुसि मिल्छ। यो समय परिवार, केटाकेटी, आफन्तसँग सम्बन्ध थप मजबुत बनाउने अवसर पनि हो। 

बालबच्चालाई कसरि राख्ने 

हिजो कार्य ब्यस्तताले बालबच्चासँग भनेजति समय बिताउन नपाएकालाई यो त सुनौलो अवसर पनि हो। यो बेला आफ्ना बालबच्चालाई दिनभर अब्जरबेसन गर्ने, उनीहरुको स्वभाव थाहा पाउने बेला पनि हो। बालबच्चाको स्वभाव थाहा भएपो उनीहरु के गर्न चाहन्छन भन्ने बुझ्न पाइन्छ तर त्यहि अनुसार उनीहरुलाई तयार गर्न सकिन्छ। 

अब्जर्बेसनले बालबच्चाले दिनभर के के गर्दा रहेछन, को को सँग समय बिताउँदो रहेछ, के के खान्छ, दैनिकी थाहा हुन्छ। बच्चाहरु घरमा बस्दा टेलिभिजन, फेसबुक, मोबाइल, इन्टरनेटमा रमाउने, अनि खाने पिउने गर्नाले ओबिसिटि को समस्या हुन् सक्छ। अर्कोतर्फ बच्चाहरुमा इन्टरनेट र टेलिभिजन एडिक्सन हुनसक्छ भने टिनएज उमेर समुहका लाई भिडियो गेममा लत बस्न सक्छ। यो लतले दिर्घकालमा झनै हानि पुर्याउने देखिन्छ। 

हिजोका दिनमा हप्तामा एक दिन बिदा हुँदा समेत उनीहरुलाई इन्टरनेट र टेलिभिजनबाट टाढा लैजान बाहिर घुमाउन लाने गरिन्थ्यो तर अहिले त पुरै समय घरभित्रै सिमित हुँदा एडिक्सन बढ्न सक्छ। त्यसैले अहिलेको समय बालबच्चामा राम्रो गुण बसाल्ने बेला पनि हो। उनीहरुलाई अहिले बिहानमा समयमै उठाउने, बिहान एक्सरसाइज गराउने, उनीहरुको हबी अनुसारको काम गर्न दिने गर्दा उनीहरुमा नयाँ बानिको विकास हुन्छ। अहिले उनीहरुलाई बोलेर होइन साथमै सिकाउने बेला हो। 

बच्चाहरुसँगै बिहान उठ्ने, उनीहरुकै साथमा एक्सरसाइज गर्ने, उनीहरुको हबि अनुसारको खेल सँगै खेलेर पनि बच्चामा नयाँ बानि बसाल्न सकिन्छ। अरु बेला बिहान ८ बजेदेखि बेलुकासम्म बालबच्चालाई हेर्ने समय नहुँदाको अपुरो काम अहिले पुरा गर्ने बेला हो।  यो बेला बालबच्चालाई कुन बेला के गर्ने भन्ने सिकाउने मात्र नभई किचनको काम पनि सिकाउँन सकिन्छ। आफुले बच्चामा देखेको कुरा सिकाउँ दिनमा २ घण्टा समय दिंदा पनि एक महिनामा त्यसको नतिजा आउँछ। बच्चापढोस भन्ने चाहना राख्ने हो भने उसको अघि आफुले पढ्नुपर्यो। बच्चाले वातवरणमा जे देख्छ उसले त्यहि कुरा सिक्छ। 

हिजोका दिनमा हामि ब्यवस्त थियौं र बाल बच्चालाई समय दिन सक्थेनौं त्यसले गर्दा बच्चाहरुमा आफुले चाहेको चिजको विकास हुन् सकेन। प्रत्यक्ष रुपमा सिकाउँने समय अभिभावकमा नभए बालबच्चाहरुले भनेर मात्र सिक्दैनन। 

बिगतको तालिका बिग्रियो कसरि सुधार गर्ने 

सुताई र उठाईको वास्तविक मापदण्ड छैन। सामान्यतया ८ घण्टा सुत्नुपर्छ भन्ने मान्यता रहेको छ। यद्दपी यी कुराहरु हाम्रो शरीरको माग अनुसार हुने भएकाले ब्यक्तिपिछे फरक हुने गर्दछ। तर अहिले गर्नलाई केहि छैन भनेर बिगतको सुतुने उठ्ने आफ्नो बानि बिगार्न भएन। 

हिजो बिहान ७ बजे उठ्ने र बेलुका १० बजे सुत्ने बानि थियो भने अहिले पनि त्यही अनुसार चल्नु पर्यो। यस्तो भएन भने आफु सहित परिवारको तालिका भोलि बिग्रन सक्छ। अहिले दिनभर काम नभएर दिन भर सुत्ने अनि राति निद्रा नलागेर ढिलो सुत्ने, बिहान ढिलो उठ्ने गर्दा यसले हाम्रो शरीरको व्यवहार बिग्रिन्छ। काम नभएर बिग्रिएको तालिका सुधार्न आफु केहि काममा ब्यस्त हुनुपर्छ। जस्तो आफुलाई गर्न मन लागेका कामहरु, पढ्ने, कोर्ने, एक्सरसाइज गर्ने जस्ता काम गर्दा आफुलाई ब्यस्त राख्न सकिन्छ। 

हिजोका दिन ५-७ दिन समय हुँदा जे जे गर्छु भन्ने मनमा लागेको थियो, आज त्यो चिज गर्ने बेला हो। आज लकडाउन छ भनेर यसलाई शास्ती सोच्नु भन्दा चाहेको बिग होलिडे प्राप्त भयो भन्ने सोच राखेर आफुलाई भविष्यको लागि तयारी गर्नुपर्छ। यो समयलाई धेरै भन्दा धेरै  उपयोगि बनाउन सक्नुपर्छ। त्यसका लागि आफुलाई के चाहिएको हो त्यसमा स्पष्ट हुनुपर्छ। भोलि त नियमित तालिकामा फर्कनुनै छ, यहि सोच राखेर आफुलाई तयार गर्नुपर्छ। 

कतिपयले अहिलेको तनावलाई कम गर्न नेगेटिभ कोपिङ स्किल गरिरहेका छन्। मानिसहरुले रक्सि लिने, गाँजा पिउने, जस्ता अल्कोहलिक पदार्थको सेवन गरेर आफ्नो तनाब कम गरिरहेका छन्। यस्ता गतिबिधि तत्काललाई राहत दिने खालका भएपनि दिर्घकालमा हानि पुर्याउने किसिमका हुन्छन। यसले तत्काललाई हाम्रो इम्युनिटी पावर पनि कम्जोर बनाउँछ र कोरोना भाइरससंग लड्न सक्ने क्षमता कमजोर बनाउँछ।  तसर्थ अहिले यी चिजको सेवन गर्नुभनेको कोरोनालाई निम्तो दिनु हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved