बिक्दैनन् ‘सेकेण्ड ह्याण्ड’ विद्युतीय गाडी, रिकण्डिशन सञ्चालक दिक्क

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2024 | 12:46:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले विद्युतीय कारको आयात र बिक्रि बढिरहेको भए पनि ‘सेकेण्ड ह्याण्ड’ ईभी भने बिक्रि हुनै मुस्किल देखिएको छ । रिकण्डिशन कम्पनीहरुले केही वर्ष चलेका विद्युतीय गाडी किनेर राखे पनि खरिदकर्ता नपाउँदा अहिले रिकण्डिशन सञ्चालकहरु दिक्क भएका छन् ।

काठमाडौँको सोल्टीमोडास्थित थापा इन्टरप्राइजेजले अहिलेसम्म मुस्किलले २ वटा मात्रै ईभी बिक्री गरेको छ । १ वर्ष जति अगाडीबाट थापा इन्टरप्राइजेजले रिकण्डिशनमा ईभी गाडी राख्नै छोडेको सञ्चालक आभाष पौडेल बताउँछन् । 

‘ईभी रिसेल छैन, पहिलो कुरो त भने जति रेन्ज हुँदैन, अनि रिकण्डिशनबाट गाडी किन्नेहरुको रोजाईमा पनि ईभी पर्दैनन्’ उनी भन्छन्, ‘अहिले मेरो ईभी बिक्री गरिदिनुपर्यो भनेर मान्छेहरु आउँदा पनि रिकण्डिशन कम्पनीले ईभी गाडी राख्नै चाहदैनन् ।’

पौडेलका अनुसार अहिले उनको कम्पनीले पनि रिसेलका लागि ईभी गाडी लिन छोडेको छ ।

यस्तै, प्याराडाइज मोटर्सका सञ्चालक विष्णु अधिकारी पनि इलेक्ट्रिक भेहिकलको रिसेल राम्रो नरहेको बताउँछन् । उनका अनुसार अहिले नयाँ गाडी किन्नेहरुले आँखा चिम्लेर लगानी गरिरहेको भए पनि केही वर्षपछि बिक्रि गर्नुपर्दा निकै हण्डर ब्यहोर्नुपर्ने निश्चित छ ।

‘भावनात्मक कुरा बढी भएको छ, नेपालको बिजुली प्रयोग हुन्छ, पेट्रोल आयात गर्दा विदेशिने नेपाली पैसा स्वदेशमै बस्छ भन्ने कुराले ईभीको सेल बढेको हो’ उनी भन्छन्, ‘तर, केही वर्ष चलाएर बिक्रि गर्नुपर्दा आधा पनि मूल्य आउँदैन । मूल्य नआउने मात्रै होइन, बिक्रि नै पनि नहुन सक्छ ।’

उनका अनुसार एक वर्ष जति मात्रै चलेको टाटाको टिगोर ईभी अहिले रिसेलमा २३ लाख मूल्य तोकेर राख्दा पनि बिक्रि भएको छैन । जबकी, नयाँ खरिद गर्दा यसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ४९ हजारसम्म छ ।

त्यस्तै, केही वर्ष अघि आयात भएको ‘बाहे ईभी’ अहिले ९ लाखमा बिक्रिमा राख्दा पनि किन्ने ग्राहक भेटिएका छैनन् । 

‘अहिले ईभी गाडी किनेर एक दुइ वर्ष चलाएर रिकण्डिशनबाट बिक्री गर्छु भन्ने कसैले सोचेको छ भने त्यो सोच पूरा हुनेवाला छैन’ एक जना रिकण्डिशन सञ्चालक भन्छन्, ‘मोटर क्षमतामा चाँडै ह्रास आएको हुन्छ, स्पेयर पार्टस् पनि सहजै उपलब्ध हुँदैन, मेकानिक पनि भनेजति छैनन् । सँगै, काठमाडौँ बाहिरको हकमा चार्जिङ स्टेशन पनि पर्याप्त उपलब्ध छैनन् । चार्जिङ भनेको एकदमै सानो कुरा हो, ईभीका मुख्य कुरा मोटर क्षमता, स्पेयर पार्टस्को उपलब्धता, मेकानिकहरुको व्यवस्था, ब्याट्रीको आयु जस्ता कुराहरु हुन् । यसकारण रिकण्डिशनबाट सेकेण्ड ह्याण्ड ईभी जाँदै जाँदैनन् ।’ 

त्यसो त, अहिले रिकण्डिशन बजारमा इलेक्ट्रिक सवारीको हिस्सा खासै छैन । अहिले बिक्रि भएका नयाँ गाडीहरु रिसेलका लागि रिकण्डिशनमा आउन अझै केही वर्ष लाग्ने व्यवसायीहरु बताउँछन् । साथै, आईसी इन्जिनवाला गाडीको हकमा बाहिरबाट हेरेर र केही मिनेट चलाएपछि त्यसको अवस्था धेरै जानकारी लिन सकिने भए पनि ईभीको हकमा त्यो सुविधा नहुँदा पनि मान्छेहरु सेकेण्ड ह्याण्ड ईभी किन्न डराउने गरेको कतिपयको बुझाई छ ।

‘गाडी नआउने होइन अलिअलि आइरहन्छन्, तर आँखाले हेरेको भरमा र एक घण्टा चलाएको भरमा ईभीको भित्रि अवस्था कस्तो छ भन्ने बुझ्न सकिँदैन, सँगै, सेकेण्ड ह्याण्ड ईभी ठिक छ कि छैन छुट्याउने मेकानिक पनि छैनन्’, ललितपूरका एक जना रिकण्डिशन सञ्चालक भन्छन्, ‘हेरेकै भरमा र अलिकति चलाएकै भरमा अवस्था जाँच गर्न नसकिने भएर पनि रिकण्डिशनमा ईभीको खासै माग बढ्न सकेको छैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved