सफल सीईओको छाप छोड्दै नेपाल बैंकबाट बिदा भए अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 03:18:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चार वर्षे कार्यकाल पूरा गरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी बाहिरिएका छन् । तल्लो तहबाट नेपाल बैंक प्रवेश गरेका अधिकारी वि.स. २०७६ असोज १४ गते सीईओको रुपमा नियुक्त भएका थिए । 

बैंक सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त नगर्ने निर्णय गरेसँगै उनी सोमबारबाट नेपाल बैंकबाट बिदा भएका हुन् । नेपाल बैंकमा करिब दुई दशक विभिन्न जिम्मेवारीमा रहेर काम गरेका अधिकारी सीईओ भएकै पालादेखि लाभांश वितरण गर्ने देखि आफ्नो व्यवसाय विस्तारमा फड्को मारेको थियो । 

बैंकले २३ वर्षपछि आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई प्रतिफल दिन सफल भएको थियो । २०७५/७६ मा शेयरधनीलाई २५ प्रतिशत लाभांश प्रदान गरेको बैंकले त्यसपछिका वर्षहरुमा निरन्तर लाभांश प्रदान गर्दै आएको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

शेयरधनीलाई मात्र नभई नेपाल बैंकले नेपालको राजश्वमा पनि उल्लेखनीय योगदान पुर्याउन सफल भएको छ । २०७४/२०७५  मा १ अर्ब ४१ करोड राजश्व तिरेको नेपाल बैंकले २०७८/०७९ मा २ अर्ब ६८ करोड राजश्व बुझाएको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म हरेक वर्ष पुस मसान्तमै साधारणसभा गर्दै आएको छ ।  बैंकले पछिल्लो ५ वर्षमा विभिन्न ५२ वटा नीति तथा नियम निर्माण गरी कार्यन्वयनमा ल्याएको छ।

पछिल्लो ५ वर्षको अवधिमा बैंकको वित्तीय अवस्था पनि अब्बल हुँदै आएको छ । आव २०७५ को असारमा ९९ अर्ब ५४ करोड रहेको बैंकको निक्षेप २०८० असारसम्म आइपुग्दा २ खर्ब ४४ अर्ब पुगेको छ। प्रतिशतको आधारमा यो १४५.६८ प्रतिशतको वृद्धि हो।  त्यस्तै २०७५ असार ७८ अर्ब रहेको बैंकको कर्जा प्रवाह बढेर २०८०  असारमा १ खर्ब ८४ अर्ब पुगेको छ । प्रतिशतको आधारमा यो १३५।४८ प्रतिशतको वृद्धि हो ।

विगत ५ वर्षको अवधि बैंकको चुक्ता पुँजी ८२.७१ प्रतिशतले बढेको छ । २०७५ असारमा ८ अर्ब ४ करोड रहेको बैंकको चुक्ता पुँजी २०८० असरमा बढेर १४ अर्ब ६९ करोड पुगेको छ ।

यसअवधिमा बैंकको खराब कर्जामा उल्लेखनीय सुधार देखिएको छ। आव २०७५/७६ मा २.५८ प्रतिशत रहेको खर्ब कर्जा आर्थिक वर्ष २०७८/७९ मा घटेर १.८३ प्रतिशत पुगेको थियो । तर अर्थतन्त्रमा देखिएको मन्दीका कारण आर्थिक वर्ष २०७९/८० मा समग्र बैकिङ उद्योगमा खराब कर्जा बढेर झन्डै ५ प्रतिशत पुग्दा पनि नेपाल बैंकको बैंकको खराब कर्जा २.८५ प्रतिशतमा सिमित रहेको छ । 

बैंकले देशका ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ । २०७५ असारमा बैंकको उपस्थिति ६४ जिल्लामा रहेकोमा २०८० असारसम्ममा बैंकको उपस्थिति ७१ जिल्लामा पुगेको छ । यस अवधिमा बैंकको शाखा संख्या १३९ बाट बढेर २२८ पुगेको छ भने एटिएम संख्या ५६ बाट बढेर २०३ पुगेको छ । २०७५ असर देखि २०८० असारसम्मको अवधिमा बैंकले ८९ वटा शाखा र १४७ वटा एटिएम थप गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved