ब्याजदरमा परेको दबाब कम हुन थालेको छ, बैंकहरु सुदृढ अवस्थामा छन् : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 07:24:27 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमा परेको दबाब कम हुन थालेको बताएका छन्। बिहिबार आयोजित राष्ट्र बैंक वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ब्याजदरमा परेको दबाब कम हुन थालेको बताएका हुन् ।

उनले भने 'शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा पछिल्ला महिनामा आएको निरन्तर सुधारका कारण बैंकिङ प्रणालीको तरलता स्थितिमा पनि सुधार आएको छ भने ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । तरलता व्यवस्थापनलाई सुदृढ गर्दै ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेपश्चात अन्तर बैंकदर ८.५ प्रतिशतबाट घटेर सात प्रतिशतमा आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि निक्षेप र कर्जाको ब्याजदर घटाउन थालेका छन्।'

मौसमको अनुकूलता र रासायनिक मललगायत कृषि सामग्रीको उपलब्धताका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिएको उनले बताए । ब्याजदरमा देखिएको वृद्धिको फलस्वरूप कर्जाको मागमा समेत कमी आएको तथा सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसक्नालेसमष्टिगत माग कमजोर रही आर्थिक गतिविधिमा भने केही शिथिलता आएको उनले उल्लेख गरेका छन्। तथापि, करिब चार सय मेगावाटको थप जलविद्युत्को उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उनले बताए। त्यस्तै, पछिल्ला महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको उनले उल्लेख गरे ।

उनले भने ' आयातमा कमी आउँदा चालु आर्थिक वर्षमा सरकारको राजस्व सङ्कलन गत वर्षभन्दा घटेको छ । कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आयात नियन्त्रणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्था हटाइएको र आयात बढ्ने क्रममा रहेकोले आगामी महिनामा राजस्व परिचालनमा सुधार हुने अपेक्षा राखिएको छ ।' अनावश्यक खर्च कटौती, राजस्व चुहावट नियन्त्रण, राजस्वको दायरा फराकिलो पार्दै र वैदेशिक सहयोग परिचालन बढाउँदै जानुपर्ने देखिएको उनले बताए। 

उनले आर्थिक गतिविधिमा आएको केही शिथिलताले गर्दा बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको बताए । तापनि, २०७९ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निष्क्रिय कर्जाको अनुपात कुल कर्जाको २.६ प्रतिशत रहेको, खुद तरल सम्पति कुल निक्षेपको २४.३ प्रतिशत रहेको र जोखिम भारित सम्पतिको १२.९ प्रतिशत कुल पुँजीकोष अनुपात रहेकोले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेको उनले उल्लेख गरेका छन् । 

उनको सम्बोधनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved