सुनकोसी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रू’ हुँदै, बिपी राजमार्गको ९ सय मिटर सारिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 04:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक दुइ सेन्टिमिटर मात्रै बाँकी छ । यहीँ बैशाख २६ गते ‘ब्रेक थ्रू’ गर्ने तयारी भइरहेको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिएका छन् । 

तराई मधेसका विभिन्न जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको सुनकोसी मरिण डाइभर्सनको सुरुङ बैशाख २६ गते विशेष छिचोलिने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत सुरुङ ब्रेक थ्रू गरिने योजना रहेको आयोजना प्रमुख बरालले जानकारी दिएका छन् । 

कूल १३.३ किलोमिटर लामो सुरुङको प्रधानमन्त्री प्रचण्डसहित अर्थमन्त्री वर्षमान पुन र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा ब्रेक थ्रू हुनेछ । रामेछाप र सिन्धुलीका संघीय तथा प्रदेश सांसदहरुलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको आयोजनाले जनाएको छ । 

अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यववसायी चाइना ओभरसिज इन्जिनियरिङका अधिकारीलाई पनि बोलाइएने छ । 

‘ठाउँ अलि साँधुरो छ, २ सय जना जति अटाउन सकिन्छ भन्ने भएकाले सोही अनुसार निमन्त्रणा पठाउने र अन्य तयारीको काम सँगै अघि बढाइएको छ’ आयोजना प्रमुख बरालले भने ।

२ वर्षमा सुरुङ निर्माणको काम सक्ने लक्ष्य लिइएको भए पनि त्यसभन्दा अगाडी नै निर्माण सम्पन्न हुन लागेको हो । सुरुङ खन्ने काम सुरु भएको झन्डै १९ महिनामा नै छिचोलिएको हो । सुरुङ छिचोलिए पनि अन्य काम पूरा गर्न थप १ वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिएका छन् । २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम सुरु गरिएको हो ।

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुनकोसी मरिण डाइभर्सन परियोजना सुरु गरिएको हो ।

यस परियोजनाबाट बिजुलीसमेत निकालिने भएकाले विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । 

सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । राजमार्गलाई ९ सय मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका छोएर बग्ने तामाकोसी नदी सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मा सुनकोसी नदीमा मिसिएपछि सुनकोसी नदी भएर बग्छ । तामाकोसी र सुनकोसी मिसिएकै नजिकबाट सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

सुनकोसीको करिब ६७ सय क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । त्यस्तै सो आयोजनाबाट ३१.०७ मेगावाट बिजुली उत्पादन हुनेछ ।

अहिले बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भएको देखिएको छ । यद्यपी, विसं २०८४ असोजमा यो परियोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved