बैंकिङ प्रणालीमा पैसा फालाफाल तरपनि सन्तोषजनक छैन कर्जा परिचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 08:41:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुसँग लगानीयोग्य रकम प्रशस्तरुपमा हुँदाहुँदै पनि कर्जा परिचालन हुन नसक्दा आर्थिक गतिविधि ठप्प जस्तो देखिन्छ। यस अवस्थालाई अर्थविद तथा बैंकरहरुले आआफ्नै तरिकाले विश्लेषण गरेका छन्। 

जेठ मसान्तसम्म करिब १३० अर्ब रुपैयाँ कर्जा परिचालन भएको छ। यो कर्जा वृद्धि  ४ प्रतिशत मात्रै हो। जबकी नेपाल राष्ट्र बैंकले १२ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य निर्धारण गरिदिएको थियो। दिइएको सीमाको तुलनामा आधाभन्दा कम अर्थात करिब ४ प्रतिशतले मात्रै कर्जा वृद्धि हुँदा बैंकिङ प्रणालीमा ३५० अर्ब रुपैयाँ लगानीयोग्य पैसा थुप्रिएको छ।  

ब्याजमात्रै कारण भनिएको भए पनि अहिले घर कर्जाको ब्याज नै एघार प्रतिशत भन्दा तल आइसकेको छ।  बैंकहरुले नेपाल राष्ट्र बैंकमार्फत सरकारलाई यही सोमबार असार ४ गते वार्षिक ६.९३ प्रतिशतको ब्याजमा ६ वर्षका लागि १० अर्ब कर्जा दिएका छन्। जुन २०७८ भाद्र ११ पछिकै सबैभन्दा न्यून ब्याज हो। यसैले पनि बैंकहरुले सरकारलाई नै ७ प्रतिशतको ब्याजमा कर्जा परिचालन गर्दा निजी क्षेत्रले कर्जाको माग किन गरेन भन्ने प्रश्न तेस्रिएको छ। 

पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम हुँदाहुँदै पनि कर्जा परिचालन नहुनुमा आत्मविश्वासको अभाव भएको बताएका छन्। उनकाअनुसार अहिलेकै अवस्थामा निजी क्षेत्रसँग कर्जा लिएर उद्योग व्यवसाय गर्ने आत्मविश्वास देखिन्न। अर्कोतर्फ बैंकहरुमा पनि नयाँ कर्जा दिँदा के होला भन्ने संशय बढेको छ। 

'बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त भए पनि आत्मविश्वासको अभावले कर्जाको माग नहुँदा अर्थतन्त्र चलायमान नभएको हो, यसको विकल्प अहिलेको सरकारले नै दिनुपर्छ' उनले बताए। 

त्यस्तै एक बैंकका प्रमुख कार्यकारी अधिकृतले पनि आत्मविश्वासको अभावले नै कर्जाको माग बढ्न नसकेको बताएका छन्। अहिलेको सरकार कता जाने हो र के हुने हो भन्नेबारे अन्यौल रहेकाले निजी क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको आफूले महसुस गरेको ती सीइओले बताए। 

त्यस्तै 'वर्किङ्ग क्यापिटल लोन' मा तोकिदिएको कडा मापदण्डका कारण पनि बजारमा कर्जाको माग हुन नसकेको ती सीइओको भनाइ छ। उनकाअनुसार अहिलेको मापदण्डभन्दा फरक तरिकाले वर्किङ्ग क्यापिटल कर्जा लिएकाले त्यसको सेटलमेन्ट गर्नुपर्ने र नयाँ लिनलाई पनि पूर्ण रुपमा मापदण्ड पालना गर्नुपर्ने भएकाले कर्जाको माग घटेको हो। 

नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले जारी गरेको मिड जुलाई २०२२ को प्रतिवेदनमा पनि चालूपूँँजी कर्जा सहीरुपमा प्रवाह नभएको र यस्तो कर्जा सहीरुपमा सदुपयोग पनि नभएको उल्लेख छ। यो समस्यालाई राष्ट्र बैंकले नयाँ चुनौतीको रुपमा समेत व्याख्या गरेको छ। 

यससँगै पर्याप्त पूँजी अनुपातका कारणले केही बैंकहरु चाहेर पनि कर्जा परिचालन गर्न नसक्ने अवस्थामा पुग्दा प्रणालीमा पैसा हुँदा पनि कर्जा प्रवाह हुन नसकेको ती सीईओको भनाइ छ। उनकाअनुसार केही बैंकसँग पैसा छ र सिडी रेसियो पनि सहज छ तर पर्याप्त पूँजी अनुपातका कारण कर्जा परिचालन गर्न सकेका छन्। नेपाल राष्ट्र बैंकले कमर्शियल बैंकका लागि पर्याप्त पूँजी अनुपात  ११ प्रतिशत तोकेको छ। अहिले यस्तो अनुपात औषतमा १३.५३ प्रतिशत रहेको छ। 

त्यस्तै अर्को एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पनि राष्ट्र बैंकले लिएका केही नीतिगत व्यवस्थाका कारणले पनि बजारमा कर्जा परिचालन हुन नसकेको बताए। 

पहिलोपटक घर लिँँदाको अवस्थाबाहेक घरजग्गा लिनलाई ६० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने भएकाले पनि घरजग्गा कारोबार हुन नसक्दा अर्थतन्त्र चलायमान बनाउन ठूलो टेवा नदिएकाले रियल स्टेटको क्षेत्र सुस्ताउँदा अर्थतन्त्र पनि सुस्ताएको उनको भनाइ छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved