किन ह्वात्तै बढ्यो बैंकहरुको खराब कर्जा, आत्तिहाल्नुपर्ने अवस्था आएको हो ?

चन्दा कार्की

चन्दा कार्की

Nov 05, 2023 | 04:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थतन्त्रमा देखिएको मन्दीको प्रत्यक्ष प्रभाव बैंकिङ्ग क्षेत्रमा परेको छ । जसकारण बैंकको समग्र पर्फर्मेन्स कमजोर देखिएको छ भने निष्क्रिय कर्जा (खराब कर्जा) को अनुपात दोब्बरले बढेको छ ।

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार सबै बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । आव २०७९/८० को प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा १.७७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा निष्कृय कर्जा ३.४० प्रतिशत पुगेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वको कृषि विकास बैंकको निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै अर्थात ५.३३ प्रतिशत पुगेको छ । यसअवधिमा पाँच वटा बैंकको निष्कृय कर्जा ५ प्रतिशत नजिक देखिन्छ । त्यस्तै ३ देखि ४ प्रतिशतमा हुने बैंकको संख्या पाँच, २ देखि ३ प्रतिशत र १ प्रतिशतदेखि २ प्रतिशतसम्मको अनुपातमा हुनेमा समान चार/चार बैंक रहेका छन भने १ प्रतिशतभन्दा कम हुने बैंकमा एभरेष्ट बैंक मात्रै रहेको छ ।  

आत्तिहाल्नुपर्ने अवस्था छैन, सजग भने हुनु पर्छ : केसी

बैंकर्स संघका अध्यक्ष सुनिल केसी अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव बैंकिङ्ग क्षेत्रमा देखिएको बताउँछन् । एनएमबि बैंकका सीइओ समेत रहेका उनले कोभिडदेखि नै सुस्ताएको अर्थतन्त्रमा आर्थिक क्रियाकलाप बढ्न नसक्दा बैंकहरुमा खराब कर्जा बढेर गएको बताए । जसका कारण बैंकको नाफा प्रभावित भएको उनको भनाई छ । आर्थिक गतिविधि सुस्त हुँदा एकातिर कर्जाको मागमा पनि कमी आउने र प्रवाह गरिएको कर्जा असुलीमा पनि समस्या देखिएको उनको भनाई छ । 

यसका लागि बैंकहरुमाथि कुनै एक्शनमा जानुभन्दा पनि सुधारका लागि सबै क्षेत्रबाट पहल हनुपर्ने उनी बताउँछन् ।  उनी भन्छन् ' नियामक निकायले कुनै एक्शनमा जानुभन्दा पनि समाधानको पहल खोजी गर्नुपर्छ । यसका लागि आर्थिक क्रियाकलाप बढाउने कार्य गर्नुपर्छ ।'

केसीले अहिलेको बैंकिङ्ग सेक्टरको अवस्थाबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले बैंकको निष्कृय कर्जा दक्षिण एसियाका अन्य मुलुकको दाँजोमा कम रहेको बताए । यद्यपी, सजग हुनुपर्ने अवस्था भने आएको उनको भनाई छ ।

मन्दीका कारण बैंकिङ्ग क्षेत्र प्रभावित : शिवाकोटी

नेपाली बैंक तथा वित्तीय संस्थाहरूको निष्कृय कर्जा बढ्नुमा राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा देखिएको आर्थिक शिथिलता नै प्रमुख कारण रहेको राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी बताउँछन् । उनले कोभिड, रुस युक्रेन युद्ध पश्चात विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण नेपाली बैंकिङ्ग क्षेत्र प्रभावित भएको बताए । ऋणीहरुको कर्जा तिर्ने क्षमतामा ह्रास आउँदा निष्कृय कर्जामा वृद्धि हुँदा सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन बढेको छ । राष्ट्र बैंकले सुपरीवेक्षणमा गरेको कडाइका कारण बैंकहरुको सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन पनि बढेको उनले बताए । यद्यपी, बैंकको अन्य पर्फर्मेन्स भने त्यत्ति कमजोर नरहेको उनको भनाई छ ।

यता, पूर्व बैंकर भुवन दाहाल बैंकहरूको निष्कृय कर्जा बढ्दैमा अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार नेपाली अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तीय संस्थाहरूको खराब कर्जा वृद्धि भएको हो । तर यो अवस्थामा खासै डराइहाल्नु नपर्ने उनको भनाई छ ।  उनी भन्छन्, “बैंकिङ्ग क्षेत्रमा समग्र अर्थतन्त्रका प्रतिबिम्बित भएको हो । आर्थिक क्षेत्रमा सुस्तता आउँदा ऋणीहरुले ऋण तिर्न सकेनन जसले गर्दा निष्कृय कर्जा बढ्यो ।” 

बैंकहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दा बैंकहरुको सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन पनि बढेको उनले बताए । चालु आवको प्रथम त्रैमासमा मात्रै वाणिज्य बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि १६ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । गत आवको सोही अवधिमा यस्तो रकम ९ अर्ब ४७ करोड रुपैयाँ थियो ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका दाहाले बैंकिङ्ग क्षेत्रमा देखिएको अहिलेको समस्या समाधानका लागि सरकार, बैंक र नीजि क्षेत्र सबैले पहल गर्नुपर्ने बताउँछन् । यसका लागि बैंकहरुले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने उनको भनाई छ । त्यस्तै सरकारले पनि अर्थतन्त्र चलायमान हुने गरी कार्य गर्नु पर्ने उनको भनाई छ । 

 खराब कर्जा बढ्दैमा निक्षेपकर्तालाई असर नपर्ने बैंकर दाहालको भनाई छ । उनले भने, “निक्षेपकर्ता डराउनु पर्दैन, निक्षेपकर्तालाई खासै असर पर्दैन ।”

अरु देशको तुलनामा कम नै छ : गभर्नर 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने बैंकहरुको खराब कर्जा अनुपात बढेको भए पनि डराउनु पर्ने अवस्था नरहेको बताउछन् ।  बैंकमा अहिले खराब कर्जाको मात्र समस्या रहेपनि त्यति ठूलो जोखिम भने नरहेको उनको उनको भनाई छ। शनिवार आयोजित एक सर्वजनिक कार्यक्रममा उनले पछिल्लो त्रैमासिकको वित्तीय विवरणअनुसार बैंकहरुको निष्क्रिय कर्जा बढेको देखिए पनि अन्य देशको तुलनामा कम नै रहेकोले जोखिम नभएको बताए। 

खराब कर्जा बढ्दा बैंकलाई कस्तो पर्छ असर ? 

खराब कर्जा बढ्दा बैंकले प्रोभिजनिङ्गको लागि ठूलो रकम छुट्याउनु पर्ने हुँदा नाफा र वितरणयोग्य नाफामा कमी आउँछ । जसले गर्दा लगानीकर्ताले पाउने लाभांशमा कमी आउँछ । त्यस्तै बैंकको लगानीयोग्य रकममा पनि कमी आउने छ । 

साथै राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंकहरुले निष्कृय कर्जाको अनुपात ५ प्रतिशतमा राख्नुपर्ने व्यवस्था छ । उक्त सीमा नाघेमा बैंक शीघ्र सुधारात्मक कारबाहीमा पर्दछ । सुधारात्मक कारवाहीमा परेको बैंकमाथि सरोकारवाल पक्ष निक्षेपकर्ता, सेयर लगानीकर्ता, ऋणी लगायतको विश्वासमा कमी आउँछ भने नियामक निकायबाट प्रदान हुने सुविधा पनि खोसिन सक्छ ।

सीमाभन्दा बढी निष्कृय कर्जा हुने बैंकको विभिन्न सुविधा कटौती हुन सक्ने राष्ट्र बैंकका सञ्चालक शिवाकोटी बताउँछन् । तोकिएको सीमाभन्दा बढी हुने बैंकलाई राष्ट्र बैंकले लिने विभिन्न अक्शनमा भाग लिन नपाउने उनले बताए । त्यस्तै राष्ट्र बैंकबाट प्रदान हुने विभिन्न सेवा सुविधाबाट बैंक बञ्चित हुन सक्ने उनको भनाई छ । खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी भएका बैंकलाई राष्ट्र बैंकले शाखा बिस्तार, बैंकिङ कारोबार संचालन गर्न डिबेञ्चर जारी गर्न र राष्ट्र बैंकले दिने अन्य सबै सुविधाबाट बञ्चित गराई आवश्यकता अनुसार अन्य कारवाही गर्न सक्ने व्यवस्था छ । राष्ट्र बैंकका संचालक शिवाकोटी निष्कृय कर्जा सम्बन्धी सीमाका सम्बन्धमा कुनै ऐनमा नभई राष्ट्र बैंकले निर्देशनमा व्यवस्था गरिएको हुनाले उक्त सीमा बढ्न पनि सक्ने बताउछन् । 

यस अघि : सबै वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो: कृषि विकासको सबैभन्दा धेरै, एसबीआईको उच्च वृद्धि

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved