बढ्न थाल्यो अन्तर बैंक ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 11:24:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले गर्ने अन्तरबैंक कारोबार ब्याजदर क्रमिक रुपमा बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यहि मंसिर २० गते बुधबार ०.९६ प्रतिशतमा झरेको यस्तो ब्याजदर मंसिर २६ गते बढेर २.६९ प्रतिशत पुगेको छ ।

बैंकिङ प्रणालीमा थुप्रिएको लगानीयोग्य रकम विस्तारै कम हुँदै गएपछि एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तर बैंक ब्याजदर घटेको हो । बैंकिङ प्रणालीमा कर्जा लगानी बढ्दै गएको साथै राष्ट्र बैंकले पनि बैंकिङ्ग प्रणालीबाट रकम खिच्न थालेसँगै रकम घट्न थालेको हो । यसअघि बैंकिङ्ग प्रणालीमा अधिक लगानीयोग्य रकम थुप्रिन जाँदा अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा पनि तल आएको थियो । 

त्यस्तै मौद्रिक नीति समिक्षामार्फत राष्ट्र बैंकले केही नीतिगत दर घटाएको थियो । त्यसको प्रभाव पनि बैंकिङ्ग प्रणालीमा परेको हो । त्यस्तै केन्द्रिय बैंकले बैंकिङ्ग प्रणालीबाट धमाधम रकम तानिरहेको छ । मंसिर २८ गते २० अर्ब बैंकिङ्ग प्रणालीबाट खिचेको बैंकले आज थप १० अर्ब खिच्ने सुचना निकालेको थियो ।

त्यस्तै केन्द्रिय बैंकले मंसिर २२ गते र मंसिर २१ गते १४ दिनको अवधिको लागि २५/ २५ अर्ब निक्षेप संकलन गरेको थियो । मंसिर २० गते एक साता अवधिको १० अर्बको निक्षेप खिचेको थियो ।

अन्तर बैंक ब्याजदर बढ्दै गएको भएपनि कर्जा निक्षेप अनुपात भने अझै पनि ८० प्रतिशतको नजिक नै देखिन्छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार मंसिर २६ मा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.५० प्रतिशतमा आइपुगेको छ ।

सीडी रेसियो जति कम भयो त्यती नै बैंकहरुको लगानी क्षमता त्यति नै बढी भएको मानिन्छ । वाणिज्य बैंकहरूलाई अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ भने कुल कर्जा ४९ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved