अस्पतालबाटै सहकारी पीडितहरुको चित्कारः 'सहकारी भाग्यो, छोराको अप्रेसन गर्ने पैसा पनि छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 08:20:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बसुन्धराको उत्तम सहकारीबाट बचत फिर्ता नपाएका बचतकर्ताहरु आइतबार सहकारी विभागमा पीडा बोकेर पुगे। ३८ करोड रुपैयाँ बचत संकलन गरेर सहकारीका सञ्चालक दुर्गेश भनिने दुर्गाराज न्यौपाने फरार भएको र आफ्नो पनि लाखौँ रुपैयाँ फसेको भन्दै एक महिलाले विलौना गरिन् । 

उनीसँगै थिए बचत फिर्ता नपाएका पीडित कृष्ण मानन्धर पनि । मानन्धरका अनुसार सहकारी संस्था रहेको घरको भाडा पनि नतिरी सहकारी बन्द गरेर सञ्चालक वेपत्ता भए । सञ्चालक फरार भएपछि सहकारी बसेको घरमा घरबेटीले अहिले ताला झुण्ड्याइदिएका छन् ।

बढी ब्याज पाउने लोभमा कृष्ण मानन्धरले मेगा सहकारीमा भएको पैसा निकालेर उत्तम सहकारीमा राखेका थिए । १५ प्रतिशत ब्याज पाउने आशामा मानन्धरले ३८ लाख रुपैयाँ फिक्स्ड डिपोजिटमा राखे । तर, अहिले ब्याज त परैको कुरा, सावाँसमेत फिर्ता आउने अत्तोपत्तो छैन ।

त्यस्तै, अर्का बचतकर्ता विजेन श्रेष्ठले पनि १५ प्रतिशत ब्याज पाउने लोभमा ३० लाख रुपैयाँ उत्तम सहकारीमै फिक्स्ड डिपोजिटमा राखेका थिए । केही महिना ब्याज खाए, तर अहिले ‘डिपोजिट म्याचुअड’ भएपछि सावाँ फिर्ता आउने बेलामा सहकारीका सञ्चालक गायब भए । यसले उनलाई पिरोल्नुसम्म पिरोलेको छ ।

‘भित्र (प्रहरी हिरासतमा) छ भन्छन्, कहाँ छ हामीलाई पनि थाहा छैन’, उनले नेवारी लवजमा भने, ‘बसुन्धरा चौकीमा उत्तम मार्ट थियो, त्यो पनि अहिले बन्द छ । मान्छे भित्र (हिरासत) छ भन्छ, चेक वाउन्समा परेको रे भन्छ, अहिले कोही पनि सम्पर्कमा छैन ।’

कालिमाटीको धनधान्य बचत तथा ऋण सहकारी र कोटेश्वरमा केन्द्रीय कार्यालय रहेर जोरपाटीमा समेत शाखा रहेको प्रस्परस सहकारीबाट बचत फिर्ता नपाएका पीडितहरुको जम्बो टोली पनि आइतबार सहकारी विभागमा पुगेको थियो । 

उनीहरु सबैको एउटै गुनासो थियो, ‘बचत फिर्ता पाइएन, फिर्ता पाउने ग्यारेन्टी गरिदिनुपर्यो ।’ यही माग बोकेर अहिले बचतकर्ताहरु सहकारी विभाग धाइरहेका छन् ।

बिजपाटीको टिम सहकारी विभागमा पुग्दा विभागका उप–रजिष्ट्रार टोलराज उपाध्यायलाई कान्ति बाल अस्पतालबाट एक जना सहकारी पीडित महिलाले फोन गरिन् । सिफल चोकमा रहेको सिन्धु दोलखा सहकारीले आफूले जम्मा  गरेको ४५ हजार रुपैयाँ बचत फिर्ता नदिँदा आफूले छोराको उपचार गर्न नसक्ने अवस्था आएको ती महिलाको चित्कार थियो । 

कुमारीगाल बस्ने देवी सापकोटाले आफ्नो छोराको अपरेशनका लागि अहिलेलाई ३० हजार रुपैयाँ मात्रै भए पनि उठाइदिन विभागका उप–रजिष्ट्रार उपाध्यायलाई विन्ती बिसाइन् । त्यसपछि विभागका उप–रजिष्ट्रार उपाध्यायले सहकारी सञ्चालकको नाम र मोबाइल नम्बर लिए र पैसा उठाउन सहजीकरण गरिदिने वाचा गरे । अनि ती महिलाले आफू विभागमै आएर औपचारिक उजुरी नै दिन चाहेको बताइन् । उप–रजिष्ट्रार उपाध्यायले ‘हुन्छ’ भनेर फोन राखे ।

सहकारी विभागमा दिनहुँ यस्ता समस्या आइरहन्छन् । ‘कहिलेकहीँ त राती पनि फोन आउँछ, अब यो हाम्रो काम होइन भन्न पनि भएन’ उप–रजिष्ट्रार उपाध्यायले हामीसँग भने, ‘अलिकति बढी ब्याज आउँछ भनेर लोभमा परेर मान्छेहरुले सहकारीमा पैसा राखे, अहिले समस्या आइदियो, हातले पैसा दियो, खुट्टालाई दुःख ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved