आरजु र मञ्जु डामिएपछि दबियो नक्कली भुटानी शरणार्थी प्रकरण : नेपाल प्रहरीसामु दुई विकल्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 08:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाई मोटो रकम (करोडौँ रकम) कुम्ल्याउने प्रपञ्चका साथ सरकारी अधिकारीहरु नै सहभागि भइ सेटिङमा गरिएको सङ्गठीत ठगी अपराधमा ‘हाइप्रोफाइल’का व्यक्तिहरु जोडिएपछि राजनीतिक नेतृत्व नै तरङ्गित भएको छ ।

तत्कालिन मन्त्री, बहालवाला सचिव, मन्त्रीका सल्लाहकार र तिनका परिवारसमेत घटनामा मुछिएपछि सडकदेखि सदनसम्मै तातेको छ । 

भ्रष्टाचार तथा ठगी जस्तो अपराधमा राजनीतिक दलहरु पक्ष र विपक्षमा विभक्त हुनुले एक पटक फेरि वाइडबडी, ओम्नी र ललितानिवास काण्डलाई ताजा बनाइदिएको छ । जसरी ती घटनाहरु रातारात तातेर सेलाएको थियो शरणार्थी प्रकरण पनि त्यसैगरी विलाउने आशंका बढेको छ । 

आइतबार २०८० वैशाख २४ गते शरणार्थी प्रकरणसँगै हाइप्रोफाइको नाम जोडेर सार्वजनिक भएको पैसा लेनदेनको अडियो कुराकानीले उनीहरु जोडिएको तथ्यलाई नकार्ने ठाउँ छैन । 

उक्त अडियोमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी सांसद आरजु राणा र तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जुलाई साँढे ८ करोड दिएको कुराकानी सुनिन्छ ।

यसरी राजनीतिक नेतृत्वसमेत तरङ्गीत हुनुपर्ने अबस्था नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव टोपबहादुर रायमाझी तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण जोडिनाले हो । 

जसरी राजनीतिक क्षेत्र तातेको छ त्यसैगरी प्रहरीमाथि आक्षेप लगाउने क्रम पनि बढिरहेको छ । दिनभरी कार्यक्रममा सहभागि भएको रायमाझीलाई बेलुका पक्राउ गर्न नसकेको भनेर प्रहरीले आलोचना खेपिरहेको छ । 

वैशाख १९ गते एकाएक तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईलाई पक्राउ गर्न सक्ने, लगत्तै २० गते बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गर्न सक्ने नेपाल प्रहरीले अन्य आरोपीलाई पक्राउ गर्न नसक्ने भन्ने हुनै सक्दैन ।

केही अघि कपनकी भाँडा व्यावसायी नीरा पाण्डे आचार्यको कुनै क्लु बिनै पनि सफल अनुसन्धान गरी दोषीलाई पक्राउ गरेको नेपाल प्रहरी अनुसन्धाना असक्षम भनेर आरोप लगाउन पनि सकिंदैन ।

तर शरणार्थी प्रकरणमा भिआइपी कनेन्सनको लहरो लामो देखिएपछि राजनीतिक नेतृत्व सामु प्रहरीले हात कमाएको आशंका उब्जिएको छ । प्रहरीका एक उच्च अधिकारी तथ्य र प्रमाण हातमा भए पनि राजनीतिक दवावमा प्रहरी निरिह हुने स्वीकार गर्छन् । यो विगतदेखि चलिएको कुपरम्परा पनि हो । 

किनकी प्रहरीले पक्राउ पूर्जी जारी गर्दा एमाले सचिव टोपहादुर रायमाझी अर्घाखाँचीमा एक कार्यक्रममा खुलम्खुला बोलिरहेका थिए । प्रहरीले चाहेको भए उनी त्यही दिन पक्राउ पर्ने थिए तर त्यसो हुन सकेन । 

त्यती नै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर रायमाझीका विषयमा कुराकानी गरेपछि प्रहरी हच्किएको बताइन्छ । तर त्यसदिनको बैठकमा प्रचण्डले भ्रष्टाचार नियन्त्रणका विषयमा कडा अडान रहेको सार्वजनिक भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि शरणार्थी प्रकरणमा जोडिएका जो कसैलाई पनि बाँकी नराख्ने भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । 

जब पक्राउ परेका आरोपीहरुको बयानबाट हाइप्रोफाइलका नाम जोडिँदै आयो तब राजनीतिक वृत्तमा ठुलो भूमरी परेको छ । नक्कली शरणार्थी प्रकरणको शुरुवात र त्यसमा मुछिएका व्यक्तिहरुको बयानसमेतलाई आधार मान्दा तत्कालिन गृहमन्त्री हालका एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण, गृह सचिवहरु प्रेमकुमार राई, महेश्वर न्यौपाने, टेकनारायण पाण्डेलगायतका व्यक्तिहरुमाथि अनुसन्धान गर्नुपर्ने देखिएको छ । (हेर्नुहोस् यसअघि बिजपाटीले लेखेको समाचार) । 

पाण्डे त पक्राउ परिसके । तर गृहमन्त्री खाँड आफैँले रोजेर ल्याएका पाण्डेसँग उनको मिलेमतो छैन भनेर पत्याउन सकिने आधार देखिँदैन । त्यसैले उनीमाथि छानबिन जरुरी छ नै । 

उनी जोडिएको विषय सार्वजनिक भएपछि उनले सानो विज्ञप्ति नै जारी गरी आफू संलग्न नभएको भन्दै प्रष्टिकरण नै दिएका छन् । तर अरुले त्यसरी प्रष्टिकरण दिन पनि सकेका छैनन् । यसमा जो सुकै जोडिएको भए पनि सबै दलले छानबिनमा प्रहरीलाई भरपुर सहयोग गर्न जरुरी छ । यस्तै ठगी र भ्रष्ट आचरणकै कारण नेपालको अर्थतन्त्रमा नराम्ररी प्रहार भइरहेको हो । जससम्म यस्ता घटनालाई निमूर्लल पार्न सकिँदैन नेपालले लिएको आर्थिक समृद्धिको लक्ष्य लक्ष्यमै सिमित रहनेछ । 

अहिलेको शरणार्थी प्रकरणले संसद र दललाई तताइरहेको छ भने दलीय वृत्तमा गर्मागर्मी बहस उठाइरहेको छ । आज वैशाख २६ गते मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच यही विषयमा घण्टौँ छलफल भएको छ । सितिमिति प्रचण्डला इृभेट्न नखोज्ने ओली अहिले लगातार जसो भेट्न खोजिरहेका छन् छन् । यसबीचमा २,३ पटक त भेटिनै सके ।

आफ्नो उच्च तहका नेताहरु नै मुछिएपछि त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यसहित यो छलफल भएको उच्च श्रोतले बताए पनि प्रचण्डको सचिवालयले समसामयिक विषयमा छलफल भएको जनाएको छ । 

यद्यपि आजै काभ्रेको एक कार्यक्रममा प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धमा जसैगरी साथ र सहयोग चाहिएको छ भनेर दिएको सार्वजनिक अभिव्यक्तिले राजनीतिक वृत्त थप तरङ्गित बन्न पुगेको छ । 

यो अभिव्यक्तिलाई हेर्दा राजनीति सत्तासमिकरणको फेरबदलसम्म पुग्ने त होइन भन्ने आशंका जन्माइदिएको छ। किनकी एमाले र कांग्रेसका उच्च तहका नेताहरु नै शरणार्थी प्रकरणमा जोडिएका छन् । 

यस घटनाका मुख्य नाइकेहरुमा केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ हुन् । उनीहरु मध्ये केहीलाई प्रहरीले गत चैत १२ गते र केहीलाई २,३ दिनको अन्तरालमै नै पक्राउ गरेको थियो । उनीहरुकै बयानले हाइप्रोफाइलका व्यक्ति मुछिएका हुन् । आज वैशाख २६ गते थप दुई जना गोविन्द चौधरी र रामशरण केसीलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । योसँगै अहिलेसम्म प्रहरीले उक्त घटनामा १० जनालाई पक्राउ गरिसकेको छ । तर मुछिएका हाइप्रोफाइलतर्फ प्रहरीको पाइला ‘स्टप’ छ, किन ? निकम्मा बन्ने की शाख जोगाउने अब प्रहरीसामु यी दुई अप्सन छ । 

उक्त घटनाका पीडितले २०७८ जेठमा उजुरी दिए पनि प्रहरीले १० महिनापछि २०७८ चैतमा मात्रै गिरोहको एक समूहलाई पक्राउ गर्न सफल भएपछि उक्त घटना सरकारी अधिकारी र नेताकै संलग्नतामा योजनाबद्धरुपमा भएको खुलेको हो ।

उक्त घटना एकपटक घटना अख्तियारसम्म पनि पुगेको थियो । करोडौँको चलखेल भएको भन्दै अख्तियारमा उजुरी दर्ता प्रयास भएको थियो । तत्कालिन गृहसचिव हालका अख्तियार प्रमुख प्रेमकुमार राईसँग तपाईकै नाम तोकेर यसरी पैसा असुल भएको भनी परेको भनी उजुर पुगेको थियो । तर राइले थामथुम पारेर पठाइदिएका बताइन्छ । त्यहाँबाट अनुसन्धान अघि बढ्न नसकेपछि पीडितहरु महानगरीय अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए । 

२०७६ जेठ २ गतेको मन्त्रिपरिषद निर्णयले उक्त कार्यदल बनेको थियो । त्यसबेला केपी शर्मा ओली नेतृत्वको सरकार थियो । कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । त्यसमा ४२९ जना छुटेको भनी प्रतिवेदन तयार पारिएको छ ।

कार्यदल बनाउनुअघि नै सार्वजनिक नै नभएको अध्ययन प्रतिवेदन भने त्यही बेला गिरोहको हाता परेको थियो । यहीबेला गृहसचिबमा प्रेमकुमार राई थिए भने गृहमन्त्रीमा रामबहादुर थापा थिए । 

यसकारण पनि हाइप्रोफाइलमाथि अनुसन्धान जरुरी छ

तत्कालिन गृहसचिव टेकनारायण पाण्डे २०७८ साल साउन २७ देखि २०७९ असोज २ सम्म गृहसचिव बनेर बसेका थिए । उनलाई सचिवका रुपमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणले ल्याएका थिए । 

खाँड विसं २०७८ साल असार २९ देखि २०७९ साल पुस ११ सम्म गृहमन्त्री भएका थिए । पाण्डे पनि रुपन्देही कै भएकाले आफ्नो सजिलोका लागि उनले पाण्डेलाई गृहमा भित्र्याएका हुन् । खाँणले आफू आएको एक महिनामै उनलाई ल्याएका थिए । 

खाँडअघि हालका नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री थिए । उनी विसं २०७४ फागुन ११ देखि २०७८ असार २८ सम्म लामो समय गृहमन्त्री भए । त्यही बेला हाल प्रहरी हिरासतमा रहेका ईन्द्रजीत राई सुरक्षा सल्लाहकार नियुक्त भएका थिए । त्यहीबेला राईले रकम लेनदेन गरेको आरोप छ । त्यसो त गृहमन्त्रीका छोरा प्रतिकपनि घटनामा मुछिएका छन् । राईका छोरा नीरजमाथि पनि पक्राउ पुर्जी जारी भएको छ । उनी नेपालमा नरहेको बुझिएको छ । उनले साँढे ५ करोड रकम असुलेको जानकारी प्रहरीमा आइसकेको छ ।

तत्कालिन गृहसचिव पाण्डे गृहमा जानु अघि महेश्वर न्यौपाने गृहसचिव थिए । न्यौपानेले निक्कै लामो समय २०७६ माघ २१ देखि २०७८ असार २७ सम्म गृह मन्त्रालय सम्हालेका थिए । त्यसबेला गृहमन्त्री रामबहादुर थापा बादल नै थिए । न्यौपाने आउनु अघि बादलले अर्का तत्कालिन गृहसचिव प्रेमकुमार राईलाई पनि गृहसचिवका रुपमा वेहोरे । बालकृष्ण खाँणले भने न्यौपानेलाई हटाएर पाण्डेलाई सचिवका रुपमा ल्याएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि यही घटनाक्रमको समयमा गृह सचिव भएर बसेका थिए । उनले विसं २०७४ साल चैत २६ देखि २०७६ माघ २० सम्म गृहसचिव भएर बसे । यो घटनाको शुरुवात यही समय २०७६को शुरुवातबाटै भएको बताइन्छ । त्यही बेला नै कार्यदल बनाए रकाम अघि बढाइएको थियो । २०७७ पछि भने सङ्गठित रुपमै पैसा असुलीको समेत काम भएको थियो ।

(हेर्नुहोस् यस प्रकरणमा बिजपाटीले लेखेको यस अघिका समाचार) 

नक्कली भुटानी शरणार्थी प्रकरणः थप २ जना पक्राउ

शरणार्थी ठगी प्रकरण: घरमा छापामार्दा भेटिएनन् एमाले सचिव रायमाझी

नक्कली शरणार्थी प्रकरणः आरजु र मन्जुले साढे ८ करोड लिएको दाबी गरिएको अडियो बाहिरियो

पूर्व गृहमन्त्री खाणले भने 'भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, चरित्रहत्या गरियो'

शरणार्थी ठगी प्रकरणमा भिआइपीसहित ११ जनामाथि बलियो प्रमाण खोज्दै प्रहरी, गतिविधि निगरानीमा

'हाइ प्रोफाइल'जोडिएको शरणार्थीसम्बन्धी सङ्गठित ठगीमा सम्पत्ति शुद्धिकरणको गम्भिर चासो, छुट्टै मुद्दा लैजाने

शरणार्थीसम्बन्धी सङ्गठित ठगीको अनुसन्धानमा पर्लान् त यी चर्चित अनुहार ?

शरणार्थीसम्बन्धीे सङ्गठित ठगीमा २० जाहेरी: १०६ जनाबाट २३ करोड २५ लाख ठगिएको विवरण

पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकले भने,‘शरणार्थीसम्बन्धीको सङ्गठित ठगीको अनुसन्धानमा सघाउँछु’

भुटानी शरणार्थीका आवरणमा ठगी प्रकरणमा एमालेका सचिव रायमाझीका छोरा बुटवलमा पक्राउ

उच्च नेतृत्वतर्फ तन्कियो नक्कली शरणार्थी बनाएर असुलेको करोडौँको लहरो

बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ, शरणार्थीलाई अमेरिका पठाउने खेलोको रकम लेनदेनमा मुछिए

नेपालीलाई नक्कली शरणार्थी बनाइ अमेरिका पठाउने करोडौँको खेलमा गृहकै अधिकारी संलग्नको आशङ्का

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved