क्रान्ति नायक प्रेमप्रसाद आचार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2023 | 08:44:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सुजन दाहाल

छ हजार ५५३ शब्दमा मृत्युकालिन घोषणा लेखेर यही माघ १० गते आफ्नो शरीरमा आगो लगाई आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको घटनाले सबैलाई दुःखी बनाएको छ । देशको मुटु सार्वभौम संसदभवन अगाडिको यो कहालीलाग्दो घटनाले समग्र सांसदहरुको मात्र नभएर निकृष्ट, निरङ्कुश, संवेदनहिन, बर्वरतापूर्ण तरिकाले राज्य चलाउनेहरुलाई समेत झाप्पड हानेको छ । देशको केन्द्रमा घटित यो घटनाले कोही एक असफल व्यवसायीको मृत्युलाई मात्र इङ्कित गर्दैन यसले एक राज्यको आचरण र व्यवहार विरुद्धको क्रान्तिलाई समेत उद्घोष गरेको छ । 

कसैगर्दा पनि असफल भएका, राज्यका विभिन्न संयन्त्रहरुले पलपल लुटेका एक घाइते व्यक्तिको आत्मदाह, जसले राज्यको समग्र प्रशासनको अवस्था कस्तो रहेको छ भन्ने कुराको प्रतिनिधित्व गर्दछ । आफ्नो लामो मृत्युपत्र देशका असक्षम, अपराधी, जाली, फटाहा चरित्रका नेता, कर्मचारी, प्रहरी, बैंकलगायतले एक गरिखान प्रयास गर्ने, केही गरौँ भन्ने हुटहुटी भएका युवालाई मृत्युको मुखमा कसरी पु¥याउदो रहेछ भन्ने कुराको बयान र भोगाइ हो । यो त्यस्तो घटना हो जसले सामाजिक र आर्थिक क्रान्तिको विगुल फुकेको छ । 

प्रेमप्रसादले गरेको क्रान्ति विदुषी योगमायाले गरेको सामाजिक कुरिति, विकृति विसङ्गति, न्याय र समानताको क्रान्तिसंँग मिल्दोजुल्दो छ । योगमाया वि.सं. १९३४ मा भोजपुरमा जन्मिइन् र उनी सात वर्षको हुँदा बालविवाह भयो र विवाह भएको दुई वर्षमै पतिको निधन भयो । पछि भारतको असाममा काम गर्ने मानिसको रूपमा उनलाई लगियो लाने मनिसकै गर्भ बोकेर एक छोरीलाई समेत जन्म दिइन् र दोस्रो विवाह गरिन् । तर दुर्भाग्य दोसो पतिको पनि मृत्यु भयो । त्यसपछि तेस्रो विवाह पनि गरिन् । केही समयपछि नेपाल नै फर्किएर अरूण नदीको किनारामा कुटी बनाएर बसिन् र सामन्त्ति प्रवृत्ति विरोधी आन्दोलनको सुरुवात गरिन् । उनले हरेक प्रकारका शोषण, दमन, लैङ्गिक विभेद, छुवाछूत र असमानताजस्ता कुराको डटेर विरोध गर्न थालिन । आम मानिसहरु उनका पछि लाग्न थाले । योगमायाले नेपाली समाजमा भएको शोषण, उत्पीडनका विरुद्ध र त्यसका लागि जनपक्षीय सुधारका लागि तत्कालिन प्रधानमन्त्रीहरू चन्द्रशमशेर र जुद्धशमशेरलाई एक–एक भेटेरै निवेदन दिइन् । निवेदन राणा प्रधानमन्त्रीहरूले एक हातले लिए र अर्को हातले फालिदिए । त्यसका विरुद्ध आत्मदाह गर्ने विचार गरिन् । यो कुरा थाहा पाएर प्रशासनले उनलाई जेल हाल्यो । उनले जेलमा समेत आफ्नो विरोध जारी राखिन् । जेलबाट छोडिएपछि पुनः शान्तिपूर्ण आन्दोलन जारी राखिन् । राज्यबाट उनले उठाएका विषयउपर कुनै सुनुवाइ नभएपछि वि.सं. १९९८ असार २२ गते आफ्ना ६७ जना अनुयायीहरूसहित अरूण नदीमा डुबेर आत्महत्या गरिन् । योगमायाको यो शान्त्तिपूर्ण क्रान्तिलाई आजसम्म पनि सम्मानका साथ सम्झिने गरिन्छ ।  

त्यस्तै, विश्वमा आधुनिकता ल्याउन र सभ्य समाजको निर्माण गर्ने महाअभियानमा लाग्दा विश्वविख्यात दार्शनिक सोक्रेटसले विष पिउनु प¥यो । गरिबको दुःख हेर्न नसकेर मुक्तिका लागि गौतम बुद्धले राज्य नै त्यागे । कार्लमाक्र्स खान नपाएर लेख्दालेख्दै मरे । देशभक्तिपूर्ण युद्धमा लड्दालड्दै माटो र आमाका लागि भक्ति थापाले प्राणको आहूति दिए । देशभक्तिपूर्ण कार्य गर्दागर्दै बहादुर शाह र भीमसेन थापासमेत मारिनु प¥यो । त्यस्तै टयुनिसियाको मोहम्मद बौउजीजीले आत्मदाह गरेपछि सुरु भएको क्रान्तिको राप मध्यपूर्वदेखि सारा अरब राष्ट्रभरी फैलियो । 

यसरी उल्लेखित दृष्टान्त्तहरु कै एक श्रृङ्खला हो प्रेमप्रसाद आचार्यको आत्मदाह । मर्ने बेलामा मर्न लागेको व्यक्तिले झुटो बोल्दैन भन्ने विश्वास गरिन्छ । आफ्नो जीउमा आगो लगाए । त्यो नै उनको अन्तिम विकल्प हुन गयो । उनले दाया–बाया सोचेनन् । आफ्ना फूलजस्ता छोरीहरुलाई बिर्सिए । सँगै मर्ने–बाच्ने कसम खाएकी पत्नीलाई बिर्सिए र प्राणको आहुती दिइ क्रान्ति गर्ने अठोट गरे । 

लामो समयसम्म राज्यले खडा गरेको अव्यवस्थाको उपज नै प्रेमप्रसादको आत्मदाह हो । मानिसलाई मर्न सजिलो छैन । आफूले आफूलाई मार्न झन गाह्रो छ । ‘मरता क्या नै कर्ता’ भने झै उनको जीवनमा अगाडिको सबै कुरा अँध्यारा हँुदै गए र त्यही अँध्यारोलाई चिर्न नसकेर अप्रिय निर्णय लिए । लामो समयको राजनीतिक अस्थिरता, राज्य सञ्चालन गर्ने व्यक्ति र दलहरुको अकर्मन्यता र आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर राज्य सञ्चालन गर्दाको परिणाम नै यो दुःखद घटना हुन गयो । 

मृत्युकालिन घोषणामा प्रेमले उठान गरेका अनेकन सवाल र प्रश्नहरुको उत्तर सरकारले दिनुपर्छ । देश अस्तव्यस्त पारेर राज्य सञ्चालन गर्ने राजनीतिक दलहरुले यसको दिनुपर्छ । स्थायी सरकार भनिने कर्मचारितन्त्रले दिनुपर्छ । संविधानमा समाजवादउन्मुख भनी लेख्ने र ओठे भाषण गर्ने नेताहरुले उनले गठाएका प्रश्नहरुको उत्तर नेपाली नागरिकलाई दिनुपर्छ । देशको लामो अस्तव्यस्तता, कुशासनका कारण राजनीतिक दलहरु आम–नागरिकलाई फासिस्ट व्यवहार गर्न थाले, नागरिकका आवश्यकता र अपेक्षालाई तिलाञ्जली दिएर सत्तामा सति गएका कारण समाजका यस्ता प्रेमप्रसादहरु शिकार बन्न पुगे । सारा जनताको आकाङ्क्षा र चाहनालाई लात हानेर आफ्नो भूँडी भर्ने दलगत नेतृत्वमा फस्टाएको ‘माल प्राक्टिस’को संस्कृतिलाई बढावा दिँदा प्रेमप्रसादको यो हविगत भयो । 

बैंक तथा वित्तीय संस्थाहरुले उनीमाथि गरेको व्यवहार प्रतिनिधिमूलक व्यवहार हो । बैंक तथा वित्तीय संस्था कसैको माया–दयाले खोलिएका होइनन् । हड्डीभित्रको मासी झिकेर नाफा कुम्ल्याउनेबाहेक उनीहरुको कुनै अर्को उद्देश्य छैन भन्ने प्रेमप्रसादको आशय र भनाइले देशमा केही गरिखाने वर्गलाई मर्माहत बनाएको छ । उनले निजामती कर्मचारी, प्रहरी प्रशासन, बैंक तथा वित्तीय संस्था कसरी भ्रष्टिकृत भएका छन् भन्ने कुराको उजागरसमेत गरेका छन् । भ्रष्टाचारबाहेक देशमा अर्को केही छैन । पाइलैपिछे हरेक नेपाली लुटिएका छन्, ठगिएका छन् । आम नेपालीहरु यसरी नै आत्मदाह गर्ने परिस्थिति राज्य सञ्चालकहरुले सृजना गरेका छन् भन्ने सन्देश प्रेमप्रसादले दिएका छन् । 

देशको वेथिति विसङ्गति मौलाएर हदभन्दा माथि पुगेको छ । माफिया र दलालले राज्यका हरेक क्षेत्र कब्जा गरेर सर्बसाधारणलाई बौलाहा बनाएका छन् । केही सिमित मानिसहरुको कब्जामा राज्यका सम्पूर्ण निकायहरु रहेका छन् । इमान्दार र अनुशासित व्यक्तिहरुलाई बाँच्न गारो भएको छ । नेपाली समाजको आर्थिक वेथिति र विसङ्गति विरुद्ध जुन क्रान्ति गरे, आधुनिक र न्यायपूर्ण समाज स्थापना गर्न आफ्नो जीवनको आहूति दिने वीर योद्धा प्रेमप्रसाद जसले नेपाली समाज र समग्र राष्ट्रलाई नै अपिल गरेर सदाका लागि अस्ताए । 

झुटको खेती गर्ने, राज्यको स्रोत र साधनमा कब्जा गर्ने माफियातन्त्र शासन व्यवस्थाको ठाउँमा प्रगतिशील समाज व्यवस्था र असलशासन व्यवस्था स्थापना गर्ने उद्देश्य राखेर एउटा शिक्षित युवाले समाजलाई तरङ्गित पारी भावी पुस्ताको भलाइ र सपना साकार पार्न आफू आगोको मूस्लोमा जल्न तयार हुनुले आधुनिक युगको कुनै सशस्त्र क्रान्ति भन्दा कम होइन भन्ने कुराको सन्देश दिएको छ ।

प्रेमप्रसादको घटनाबाट नेपाली समाजले पाठ पढ्नुपर्छ र आधुनिक चेतनायुक्त न्यायपूर्ण र विवेकपूर्ण समाज स्थापना गर्न गरेको क्रान्तिलाई नमन र सलाम पनि गर्न सक्नुपर्छ । सरकार, कर्मचारीतन्त्र र बैंकिङ् क्षेत्रलगायत नेपाली समाज कति धेरै अन्यायपूर्ण र विभेदकारी छ भन्ने कुरा उनले देखाइदिए । तुरुन्त यो घटनालाई मनन गरेर राज्यका सबै निकायहरु मुलतः सरकारले यसमा पहलकदमी लिनुपर्छ । सत्ताको बाँडफाँड, चरम अवसरवादी सोच, प्रणाली विहिनता, असंवेदनशील राज्य संयन्त्र, गलत आर्थिक नीति, कुशासन, भ्रष्टाचार आदिका कारण तमाम असन्तुष्ट युवाहरुको प्रतिनिधि प्रेमप्रसादको घटना सबैको लागि शिक्षा हुन जरुरी छ । 

देशको आर्थिक नीति, शिक्षा, स्वास्थ्य वैदेशिक रोजगारी, सार्वजनिक यातायात र संरचनागत र प्रणालीगत राज्यका समस्याहरुको बारेमा एक क्रान्ति नायक प्रेमप्रसाद आचार्यले उठाएका सवालहरुको उत्तर दिन सरकार पछि हट्यो भने फेरि पनि अरु पे्रमप्रसाद जन्मँदैनन् भन्न सकिन्न । त्यसैले सरकारले राज्यका तमाम समस्याहरुलाई आत्मसाथ गर्दै गरिब, असहाय, निमुखा नागरिकहरुको हितमा र देशमा नै केही गरौँ भन्ने भावना बोकेर व्यापारलगाएत अन्य क्षेत्रमा प्रयासरत् युवाहरुका लागि वातावरण तयार नगर्ने र देश र नागरिकलाई पाइलैपिच्छे लुट्ने मात्र काम गरिरहने हो भने क्रान्ति नायक प्रेमप्रसादको आत्माले कदापि शान्त्ति पाउने छैन  । सरकारले बेलैमा विचार गरोस् र जिम्मेवार बनोस् । प्रेमप्रसाद मरेर गए पनि उनले उठाएका प्रश्नहरु मर्ने छैनन् । हार्दिक सलाम, हार्दिक सम्मान र हार्दिक श्रद्धाञ्जलि प्रेमप्रसाद । 

लेखमा प्रस्तुत विचार लेखकका निजि विचार हुन् । : सम्पादक 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved