विद्यमान ऐन, कानुन नै समृद्धिको बाधक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2023 | 11:07:18 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्ति अर्याल

पुँजी बजारको विकासबाट देशमा समृद्धि सम्भव छ । पुँजी बजारको विकास हुँदा यसले व्यवसायी र उद्यमीहरूलाई आवश्यक पुँजी उपलब्ध गराउँछ । पुँजी उपलब्ध गराइएका क्षेत्रहरू उत्पादनमुलक बन्छन्, किनकि यसले देशको कुल गार्हस्थ उत्पादन, रोजगारी र राजस्व संकलनमा योगदान दिन्छ । व्यक्तिलाई पनि जीविकोपार्जनको लागि आम्दानी गर्ने अवसर उपलब्ध गराइदिन्छ र साथै सेवा र सुविधाहरूमा पनि सुधार गर्दछ ।

समृद्धिका विभिन्न आयाम छन् । पुँजी बजारमा सक्रिय पेशाकर्मीको हेराइमा व्यक्तिको ‘फाइनान्सियल इन्डिपेन्डेन्सी’ अर्थात् आर्थिक स्वतन्त्रता नै समृद्धि हो । व्यक्तिले आफूले गर्न चाहेको काम गर्न पाउनु र सो कामबाट मिल्ने आर्थिक सफलतालाई उसको समृद्धि भन्न सकिन्छ ।

पुँजीबजार र समृद्धि

नेपालमा औपचारिक रूपमा पुँजी बजारको सुरुवात भएको ३० वर्ष भैसकेको छ । ३० वर्षको उपलब्धि हेर्ने हो भने हामीले समयमात्रै खेर फालेका छौँ । ३० वर्षमा हुनुपर्ने उपलब्धिको एकछेउ पनि भएको छैन । तर, ३० वर्षअघिको अवस्था र अहिलेको अवस्थालाई दाँजेर हेर्ने हो भने केही विकास पक्कै भएको पाईन्छ । यद्यपि  अहिले पनि जुन गतिमा विकास हुनुपर्ने हो, त्यो भइरहेको छैन ।

जुन हिसाबले हाम्रा छिमेकी देशले पुँजी बजारको विकासबाट समृद्धि हासिल गरिरहेका छन्, पुँजी बजारबाट जसरी लाभ लिइरहेका छन्, समग्र देश र नागरिकले जसरी फाइदा लिईरहेका छन्, त्यो खालको विकासक्रम हाम्रोमा छैन । शुन्यदेखि १०० सम्मको स्केलमा हेर्ने हो भने हाम्रो पुँजी बजारको विकासक्रम १ मा पनि पुगेको छैन । जसरी पुँजी बजारको आकार बढ्नुपथ्र्याे । जसरी बजार खुला हुनुपर्दथ्यो, जसरी संस्था र साधनहरूको विकास हुनुपर्दथ्यो त्यो पटक्कै भइरहेको छैन । पुँजी बजारबाट लाभ लिनसक्ने जुन प्रचुर क्षमता छ, त्यो लाभलाई हामीले पहिचान नै गर्न सकेका छैनौँ र लाभ लिन सकिरहेका छैनौँ । पुँजी बजारबाट लाभ लिनसके नै समृद्धि आउने हो । तर, पुँजी बजारबाट आउने समृद्धिको केही प्रष्ट बाधकहरू छन् ।

अहिले पुँजी बजारको विकासक्रममा देखिएको मूल बाधा नै हाम्रो देशको कानुन हो । जुनसुकै देशको हकमा यदि नियम कानुन सही छैनन् भने त्यसले सही नतिजा दिँदैन । हाम्रो देशको नियम, कानुनहरू ‘ड्रयाकोनियन’ खालका छन् । यो भनेको कानुनहरू एकदमै सङ्कुचित, नियन्त्रित र खराब छन्, जुन पुँजी बजारका लागिमात्र होइन समग्र अर्थतन्त्रकै लागि पनि बाधक छन् । पुँजी बजारले खुलेर र फुकेर काम गर्न पाउनुपर्छ ।

यसो भन्दैमा यसमा कुनै नियमन हुनुहुँदैन भन्ने होइन । नियमन पूरापुर हुनुपर्दछ तर नियन्त्रण हुनु हुँदैन । हाल नियमन नभएको र नियन्त्रणमात्रै भएको अवस्था छ । नियन्त्रण होइन, नियमन चाहिन्छ । नियमनको नाममा नियन्त्रण हुनुहुँदैन । नियन्त्रणमा पुँजी बजारले काम गर्नसक्दैन र यो प्यारालाइज्ड हुन्छ । पुँजी बजारको अहिलेको अवस्था यही हो । पुँजी बजारलाई आफै जिम्मेवार र जवाफदेही हुने बनाउनुपर्दछ । यसमा इमान्दारिता, निष्ठा र नैतिकता पनि हुनुपर्दछ ।

अहिले हाम्रो कानुन नियन्त्रित त छ नै । त्यसमा नियामक निकायमा बसेका व्यक्तिहरूको सोचपनि नियन्त्रित नै छ । नियन्त्रित सोच भएका व्यक्तिहरूले कानुन निर्माण गरिरहेको अवस्था छ, जसको परिणामस्वरुप कानुन नै नियन्त्रित आइरहेको छ । नियामक निकायमा बस्ने व्यक्तिहरूको सोच फराकिलो हुनुपर्छ । दुनियाँ कसरी चलिरहेको छ, त्यसबाट जानकारी र लाभ लिन सक्नुपर्छ । कानुन निर्माण गर्दा कम्तीमा पनि २०÷३० वर्ष अगाडि आउनसक्ने अवस्था हेरर निर्माण गर्नुपर्छ ताकि त्यसले आउने २०÷३० वर्ष निर्बाध काम गर्न सकोस् । त्यस कानुनको अधीनमा रही काम गर्नेले पनि दीर्घकालीन योजना राखेर काम गर्न सकोस् ।

पुँजी बजारसँग सम्बधित हाम्रा सबै कानुन परिमार्जन गर्नुपर्दछ । धितोपत्र ऐन र सो अन्तर्गतका व्यवस्थाहरू, कम्पनी ऐन, राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था ऐन, बीमालगायत पुँजी बजारसँग सम्बन्धित सबै ऐनलाई अर्थतन्त्र र बजारले काम गर्नसक्ने गरी पूर्णरूपमा संशोधन र परिमार्जन गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

कानुन निर्माण गर्दा कम्तीमा कम्पनी चल्नसक्ने कानुन निर्माण हुनुपर्छ, कम्पनीलाई विश्वास गर्नसक्ने कानुन बन्नुपर्छ । जिम्मेवारी नियामक निकायमा नभई सम्बन्धित संस्थालाई वा बजारका सहभागीहरूलाई नै दिनुपर्छ । ती संस्थालाई फुक्न दिनुपर्छ, फुक्न दिँदा केही समस्या आउन सक्छन् । नियामकले धेरै कस्दा कम समस्या होला तर विकास पनि हुँदैन । खुला छोड्दा केही समस्या आउन सक्छन्, विकास पनि हुन्छ भन्ने विषय प्रष्टसँग बुझ्नुप¥यो । गलत गरेमात्र नियामकले नियामकीय उपकरणले कस्ने हो, काम गर्न स्वतन्त्र छोड्नुपर्छ ।

समस्या पुँजी बजारका सहभागीहरूमा पनि छ । एक त सहभागी नै ज्यादै कम छन् । अर्को भएका सहभागीको वित्तीय र व्यवहारिक क्षमता नै कमजोर छ । अहिले आउँदै गरेका नयाँ स्टक ब्रोकर र नयाँ स्टक एक्सचेञ्जले केही सहभागिता बढाउँछ तर त्यो पर्याप्त हुँदैन । लगानीकर्ताका रूपमा रहेका व्यक्तिगत बजार सहभागी तथा संस्थागतरूपमा रहेका सहभागीहरू जानकार छैनन्, सूसुचित छैनन् ।

हामीसँग लगानीका धेरै उपकरण पनि छैनन् । बजार सहभागीहरूले सहीरूपमा काम गर्न सकेका छैनन् । तर, यहाँपनि कानुन नै बाधक छ । कानुन नै बाधक हुँदा बजारमा धेरै लगानीका उपकरण छैनन्, बजार सहभागी पनि न्यून छन् , लगानीका अन्य उपकरण नहुँदा बजार सहभागीहरूले खुलेर काम गर्न सकेका छैनन् ।

विश्व बजारमा भएका सबै लगानीका उपकरणहरू हामीले नेपालमा सुरु गर्न सक्छौँ । अहिले बुझाई, ज्ञान, जानकारी र उपयुक्त कानुनको अभावमा हामीले विश्व बजारमा प्रयोग भईरहेका लगानीका उपकरणहरू ल्याउन सकेका छैनौँ । कानुनमा केही परिमार्जन र सरलीकरण गर्ने हो भने धेरै लगानीका उपकरण र धेरै वित्तीय संस्था ल्याउन सकिन्छ । यसो हुँदा जस्तोसुकै संस्थालाई चाहिने पुँजीको जोहो पुँजी बजारको माध्यमबाट नै गर्न सकिन्छ । पुँजीलाई जति चलायमान बनायो, त्यसले त्यति धेरै काम गर्छ । घरमा थन्किएर बसेको जतिसुकै पुँजी पनि शुन्य बराबर हुन्छ, तर त्यो पुँजी १० पटक प्रयोग गरिए १० गुणा बढी लाभ लिन सकिन्छ ।

उदाहरणका लागि विश्वका विकसित देशहरूमा ‘म्युनिसिपल बन्ड’मार्फत पुँजी जुटाएर ठूलाठूला पूर्वाधार विकास भएका छन् । ती सबै देशका नागरिकसँग छरिएर बसेको रकम एकत्रित गरिएको हो । यसो हुँदा नागरिककै रकमबाट ठूलाठूला पूर्वाधार बन्छन् भने नागरिकले पनि त्यतिकै बसेको रकम लगानी गरेर आम्दानी गर्न सक्छन् । नेपालमा पनि यो प्रयोग गर्न सकिन्छ । काठमाडौँ, पोखराजस्ता ठूला शहरहरूमा मेट्रो रेल चलाउने, बुढीगण्डकी जलविद्युत् आयोजना, सडक योजनाजस्ता ठूलो पुँजी चाहिने पूर्वाधार निर्माण ‘म्युनिसिपल बन्ड’मार्फत नै सम्भव छ । यो महानगरपालिका तहले मात्र नभई प्रदेश सरकारले पनि जारी गरेर पुँजी जुटाउन र पूर्वाधार विकासमा लगानी गर्नसक्छन् ।

विश्व अगाडि बढेको यही आधारभूत विषय बुझेर नै हो । हामीले पनि त्यही बुझ्ने, सिक्ने र यहाँ प्रयोगमा ल्याउने हो जे विकसित देशहरूले गरिरहेका छन् । हामीलाई कम्तीमा पनि दुईचार सय म्युचुअल फण्डजस्ता सामुहिक लगानी कोष योजनाहरू चाहिन्छ, उत्तिकै संख्यामा संस्थागत लागानिकर्ताहरू चाहिन्छ । र, हजारौँको संख्यामा लगानीका साधन र उपकरणहरू चाहिन्छ । देशमा धेरै पुँजी निष्क्रिय भएर बसेको छ, त्यस्तो पुँजीलाई कयौँ गुणा बनाउने गरी लगानीका उपकरणहरू विश्व बजारमा उपलब्ध छन् । त्यस्ता उपकरण हामीले पनि प्रयोगमा ल्याउनुपर्दछ । खासगरी विभिन्न प्रकारका कर्जाहरू निष्क्रिय बसेका छन् । तिनलाई विभिन्न प्रकारका धितोपत्र बनाई पुँजीको उच्चतम परिचालन गर्न सकिन्छ ।

पुँजीको उच्चतम परिचालन बिना हाम्रो अर्थतन्त्रको आकार बढ्दैन । पुँजीको उच्चतम परिचालन गर्नसके अर्थतन्त्रको आकारलाई दोब्बर पु¥याउन ५÷७ वर्षपनि लाग्दैन । अर्थतन्त्रको आकार बढ्दा त्यसले केही जोखिम पनि बढाउँछ तर जोखिमको अनुपातमा त्यसले दिने योगदान र उपलब्धि धेरै हुन्छ । बढेको अर्थतन्त्रको जोखिम वहन गर्ने क्षमता पनि बढेको हुन्छ । तसर्थ, हाम्रोजस्तो आयातमा आधारित र अवसरको उपयोग नगरिएको अर्थतन्त्रको आकारलाई पुँजीको अधिकतम परिचालन गरेर बढाउने नै हो ।

कुनैपनि देशको लागि सबैभन्दा महत्वपूर्ण पुँजी भनेको मानवीय पुँजी हो । मानवीय पुँजी भन्नाले जनशक्ति बुझ्नुपर्दछ । अहिले हामी त्यै मानवीय पुँजी नै विदेश पठाइरहेका छौँ । यो दुर्भाग्यपूर्ण अवस्था हो । जनशक्ति भनेको काम गर्ने, उद्यम गर्ने, परिश्रम गर्ने र उत्पादकत्व बढाउने तागत त हुँदै हो, उपभोग गर्ने ठूलो बजार पनि हो । जनशक्ति विदेश पठाएर ठूलो वैदेशिक मुद्रा रेमिट्यान्सको रूपमा भित्र्याएका छौँ तर त्योभन्दा ठूलो देशका उद्यमी दिमाग र परिश्रमी हातहरू पनि निर्यात गरेका छौँ । उनीहरू यहीँ भएको भए देशको अर्थतन्त्रमा ठूलो योगदान हुन सक्दथ्यो । यसमा परिवर्तन आउन आवश्यक छ ।

सञ्चारमाध्यमको भूमिका

समृद्ध देश निर्माणमा सञ्चारमाध्यमको भूमिका ठूलो छ । सञ्चारमाध्यमले नागरिकमा जनचेतना र उत्साह जगाउने, कसरी अर्थतन्त्र चलायमान हुन्छ भन्ने खालको समाचार प्रसारण गर्नुपर्छ । यो भइरहेको त छ, तर पर्याप्त छैन । सञ्चारमाध्यमले सही, सन्तुलित र विश्वसनीय सामग्री प्रकाशन र प्रसारण गर्नुपर्छ । अर्थतन्त्र र नागरिकबीचको पुलको काम सक्नुपर्छ । उसले सही काम र नीतिको प्रशंसा र गलत नीतिको खुलेर आलोचना गर्नसक्नुपर्छ ।

मिडियाले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ, पत्रकारले आफ्नो अध्ययन र अनुसन्धन्को दायरा बढाउनुपर्छ । पढाई र अनुभवले मात्र प्रभावकारी पत्रकारिता हुनसक्दैन । सही र वास्तविक सूचना वा जानकारी गहिरो अनुसन्धान बिना निस्कँदैन । त्यसका लागि पत्रकारहरूलाई नियमितरूपमा तालिम, विकास र क्षमता अभिवृद्धिको अवसर दिनुपर्छ । यसो हुँदा पत्रकारहरूमा नयाँ बुझाई, नयाँ दृष्टिकोण र गुणस्तरको वृद्धि हुन्छ ।

उनीहरूलाई राम्रो वेतन, पारिश्रमिक र प्रोत्साहन पनि हुनुपर्दछ । यस्तो नहुँदा कार्य सम्पादन न्यूनतम मात्र हुन्छ, अधिकतम वा सर्वाेत्कृष्ट हुँदैन ।

त्यस्तै कतिपय सञ्चारमाध्यमले नियतवश नै गलत समाचार लेखेको देखिन्छ । कतिपयले नबुझेर गलत गरिरहेका छन, कतिपयले स्वार्थ प्रेरित भएर निश्चित स्वार्थपूर्तिका लागि गलत काम गरिरहेको देखिन्छ । यस्ता विषय आजको समाजमा स्वीकार्य हुँदैनन् । यसमा व्यापक र तत्काल सुधार हुनुपर्छ । नबुझेको र प्रस्ट जानकारी नभएको विषयमा रिपोर्टिङ नगर्नु नै वेश हुन्छ ।

देशको अर्थतन्त्र र पुँजी बजारको विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ भन्ने सबैले बुझ्न जरुरी छ । यो तथ्य सञ्चारकर्मीहरूले झन् बढी बुझ्न जरुरी छ । उनीहरूको रचनात्मक र आलोचनात्मक रिपोर्टिङले नै सर्वसाधारणलाई सही र वास्तविक जानकारी हुने हो । यस्तो रिपोर्टिङले नै सर्वसाधारणमा अर्थतन्त्र र पुँजी बजारबारे चेतना र बुझाईको स्तर अभिवृद्धि हुने हो ।

सूचनाको भूमिका, महत्व र यसले कसरी वित्तीय सम्पत्तिहरूको सही मूल्य तय गर्नमा र साधन स्रोतको प्रभावकारी बाँडफाँड गर्दछ भन्ने बारेमा १९७० देखि नै अमेरिकी वित्तीय अर्थशास्त्री युजिन एफ फामाले आफ्नो लेख अनुसन्धान केन्द्रित गर्दै आइरहेका छन् । यस क्षेत्रमा उनले धेरै महत्वपूर्ण सिद्धान्तहरू प्रतिपादन गरेका छन् । उनको उल्लेखनीय योगदान बापत उनलाई २०१३ को अर्थशास्त्रको नोबेल पुरस्कारसमेत दिइएको थियो । यसले आर्थिक र वित्तीय क्षेत्रमा सूचनाको प्रभाव र महत्व कति छ भन्ने पुष्टि गर्दछ ।

सञ्चारमाध्यमको भूमिकाबारे सबैले बुझ्न जरुरी छ । सूचनाको महत्व र प्रभाव सञ्चारमाध्यमबिना सम्भव छैन । त्यसैले सञ्चारमाध्यमको भूमिकालाई कहिँकतै कसैले कम आँक्न मिल्दैन । सञ्चारमाध्यमको महत्व र भूमिकालाई हामीले पनि त्यसरी नै बुझ्न जरुरी छ जसरी यसलाई विकसित बजारमा बुझ्ने गरिन्छ । सञ्चारमाध्यमले नै पुँजी चाहिने र पुँजी हुनेबीच पुलको काम गर्दछ । उसले नै बचत र लगानीको प्रवद्र्धन गर्ने र लगानीको वातावरण बनाउने काम गर्दछ । उपलब्ध स्रोतहरूको उचित र अधिकतम प्रयोगको लागि मिडियाले नै प्रभावकारी भूमिका खेल्न सक्दछ । सञ्चारमाध्यमले विकसित बजारमा रहेका राम्रा अभ्यासहरूलाई देशभित्र नीतिगत व्यवस्था गराउनका लागि पहल गर्नसक्छ ।

तथ्याङ्कको सही विश्लेषण गरेर बजार सहभागीहरूलाई सही जानकारी दिन्छ । वित्तीय साधनहरूको सही र प्रभावकारी मूल्य निर्धारण पनि सञ्चारमाध्यमले प्रवाहित गर्ने सूचनाकै आधारमा हुने गर्दछ । त्यस्तै सीमित साधन र स्रोतको प्रभावकारी बाँडफाँड गर्न पनि सञ्चारमाध्यमले प्रवाहित गर्ने सूचना कै आवश्यकता पर्दछ । पुँजी बजारका नयाँ सोच र साधनहरूको विकास वा प्रवर्दन गर्न मिडियामार्फत नै जनमानसमा पु¥याउन सकिन्छ ।

कुनैपनि विषयमा पक्ष र विपक्ष, फाइदा र बेफाइदाबारे बहस गरेर नीतिगत तहमा योगदान पु¥याउन सक्छ । सञ्चारमाध्यमले ‘वाच डग’को भूमिका निभाउँदा सरकार तथा विभिन्न संस्थाहरू पारदर्शीरूपमा चल्न र जवाफदेही हुन बाध्य हुन्छन् । समग्रमा देशको विकास र समृद्धिको लागि सञ्चारमाध्यमको भूमिका निकै महत्वपूर्ण छ ।

मुक्ति अर्याल अन्तर्राष्ट्रिय पुँजी बजार विज्ञ हुन् ।  यो लेख बिजपाटी डटकमको ८ औ वार्षिकोत्सवको अवसरमा प्रकाशित 'समृद्धिको यात्रामा सञ्चारमाध्यम' स्मारिकाबाट साभार गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved