कुलमानले उद्योगको लाइन काटेपछि मजदूरको रोदनः हाम्रा लालाबालाको आँशुमा रमाउने शासक कस्ता ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 29, 2023 | 06:50:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनसरीका अमरलाल यादव रिलायन्स स्पिनिङ मिलमा ज्यालादारीमा काम गर्ने मजदूर हुन् । नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटिदिएपछि उनले शनिबार (पौष ७ गते) देखि काम गर्न पाएका छैनन् । दैनिक ६ सय ७९ रुपैयाँ ज्यालामा काम गरेर २ छोरी र १ छोरासहित श्रीमतिको पालनपोषण गरिरहेका अमरलाललाई अहिले बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले सताएको छ ।

अमरलाल यादवको जम्मा ५ कठ्ठा जमिन छ, त्यसमा फलेको अन्नले वर्षदिन खान पुग्दैन । उनी मजदूरी गर्न बाध्य छन् । तर, विद्युत प्राधिकरणले पौष ६ गते शुक्रबार साँझ ६ः३० बजे रिलायन्स स्पिनिङ मिल्सको लाइन काटिदिएपछि अमरलाल यादव अहिले कहिले बिजुली आउँछ र काम पाइएला भनेर बसेका छन् ।

‘शुक्रबार बेलुका ६ः३० बजे लाइन काट्यो, शनिबारदेखि आजसम्म ७ दिन भइसक्यो काम गर्न नपाएको’ बिजपाटीसँग अमरलालले आफ्नो दुःखेसो पोखे, ‘मसहित ९ सय मजदूरको बिचल्लि भएको छ, हाँजिरी ज्यालामा काम गर्ने हजारौँ जना भोकभोकै हुने अवस्था आएको छ ।’



ज्यालादारीमा काम गर्ने मजदूरले काम नभएको दिनको ज्याला पाउँदैनन् । काम गरेर, आफ्नो हिसाब अनुसार ज्याला बुझेर परिवार पाल्दै आएका अमरलाललाई लाग्न थालेको छ, ‘काम दिइरहेको उद्योगलाई बन्द गराएर गरिबको रोजीरोटी खोस्दा कसको मन खुशी भइरहेको होला ? हाम्रा लालाबाला रोइरहेको देख्दा पनि मन नपलाउने कस्ता शासक हुन् ?’

पर्याप्त रोजगारी नहुँदा दिनहुँ परदेश हिडिरहेका युवाहरुको लर्को देखेर विरक्त मान्दै आएका उनी भइरहेको आफ्नै सानोतिनो रोजगारीसमेत खोसिएपछि थप चिन्तित बनेका छन् । अझै कति दिन काम नगरी बस्नुपर्ने हो यसको कुनै ठोस तालिका आइसकेको छैन । सँगै, अझै कति दिन अनिदो र भोको बस्नुपर्ने हो, त्यसको पनि कुनै ठेगान छैन ।



‘आफू त दुइ चार दिन भोकै बस्दा पनि हुन्थ्यो, पहिला पनि बसिएकै हो’ अमरलाल भावुक हुँदै भन्छन्, ‘तर, मेरै भरथेगमा बाँचिरहेका मेरा २ छोरी, १ छोरा र श्रीमतिलाई के खुवाउनु ? कहाँबाट ल्याएर खुवाउनु ?’

उद्योग र उद्योगपतिसँग के विवाद थियो, प्राधिकरण सही कि उद्योगी ठिक भन्ने बहस गर्न पनि अमरलालले आवश्यक ठानेका छैनन् । यो आफ्नो बुताभन्दा माथिको विषय भएकाले नबोल्नु नै ठिक हो भन्ने उनलाई लागेको छ । 



तर, दैनिक ८ घण्टा काम गरेर आफ्नो र परिवारको पेट पाल्दै सन्तानको शिक्षादीक्षा समेत धानिरहेका अमरलाल यादव अब उकुसमुकुस भएर बस्न नसक्ने अवस्थामा पुगेका छन् । उमेरले ६ दशक टेक्नै आँटेका अमरलालले सबै मजदूरलाई एक भएर गरिबको पेटमा लात हान्ने शासकविरुद्द आवाज बुलन्द पार्न आह्वानसमेत गर्न थालेका छन् । उनकै आह्वानमा विराटनगर आसपास अहिले विद्युत प्राधिरणविरुद्द प्रदर्शन हुन थालेको छ । करिब ४ हजार मजदूरहरु आफ्नो रोजीरोटी गुमेको आक्रोशसहित सडकमा उत्रिएका छन् । 

‘हामीमाथि सरकारबाटै अन्याय भयो, अब हामी सडकमा उत्रिनुको विकल्प भएन’ अमरलालले बिजपाटीसँग भने, ‘विद्युत प्राधिकरण ठिक की उद्योगी ठिक भन्ने हाम्रो बहस होइन, यो हामीले छिनोफानो गर्ने विषय पनि होइन । तर, हाम्रो गाँस खोसिएको छ । हामीमाथि अन्याय भएको छ । उद्योगको लाइन काटिएपछि हामीले काम गर्न पाएका छैनौँ, यसकारण लाइन काटिएपछि काम गर्न नपाउँदा हामीले गुमाएको ज्यालाको भर्पाइ प्राधिकरणले गरिदिनुपर्छ । होइन भने हामी काठमाडौँमा आएर प्राधिकरणको कार्यालय नै घेराउ गर्छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved