भन्सार छलेर सामान ल्याउने क्रम बढ्यो, ३५ फर्मले १०५ करोडको मालवस्तु भित्र्याए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2023 | 03:35:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गत फागुनमा महोत्तरीका ज्ञानेन्द्र गुर्माछाने र योगेन्द्र मेहर जोशीले भारतबाट भन्सार छलेर कपडाहरु ल्याए । उनीहरुले इन्द्रचोकमा कपडा राखेको सुराक राजस्व अनुसन्धान विभागमा आइपुग्यो । टोलीले त्यहाँ पुगेर १०३ पोका कपडा र एउटा गाडी नियन्त्रणमा लिए । त्यसबेला गाडी चालक गुर्माछानेमात्रै पक्राउ परे ।

यसरी भारतबाट राजस्व छलेर ल्याइएको कपडा मात्रै एक करोड ७१ लाखको भएको पुष्टी भयो । मङ्सिरमा नियन्त्रणमा लिइएका ती मालवस्तुको लामो अनुसन्धानपछि विभागले फागुनमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गर्यो ।

गत फागनु १४ गते पनि यसरी नै राजस्व छली गर्ने विरुद्ध अर्काे मुद्दा दर्ता गरिएको छ । उक्त मुद्दाका मुख्य अभियुक्त हुन् नेपालगञ्जको ए.एम जनरल अडर एण्ड सप्लायर्सका सञ्चालक आमिर अन्सारी र सहयोगी मोहम्मद रिजवान अन्सारी । उनीहरुले नक्कली बील, बीजक बनाइ चिनीको कारोबार गरेको फेला परेपछि मुद्दा चलाइएको विभागको दावी छ । 

उनीहरुमाथि सरकारी कागजातमा उल्लेख भएको स्थानमा कारोबार नगरी कारोबारको स्थल गोप्य राखी निजी निवासमा मालवस्तुको भण्डारण गरी कानूनले दिएको सफाइको मौकालाई समेत वेवास्ता गरेको आरोप छ ।

उनीहरुमाथि रु ३६ लाख ८८ हजार विगो बराबरको चिनीमा कर छलेको अभियोगमा विगो र सोही बराबरको असुल उपर गरी हदैसम्मको कैद सजायाँको माग गरिएको छ ।

यी र यस्तै गरी गएको साउनदेखि फागुनसम्ममा ३८ वटा फर्म वा कम्पनीविरुद्ध एक अब ५ करोड बिगो कायम गरी सम्बन्धित अदालतमा मुद्दा चलाइएको विभागका निर्देशक एबं सूचना अधिकारी नवराज अधिकारीले बिजपाटीलाई जानकारी दिए । 

त्यसमध्ये विदेशी विनियमयतर्फ १७ फर्म तथा कम्पनीमाथि ६ करोड ९४ लाख बराबरको बिगो कायम गरी मुद्दा चलाइएको छ ।

यस्तै राजस्व चुहावटतर्फ २१ फर्म विरुद्ध ९८ करोड ४० लाख बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अन्तरगतको कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको उनले बताए । पछिल्लो दुई महिनाकै अन्तरालमा मात्रै  करिब ९ करोडको बीगो कायम गरी मुद्दा चलाइएको जनाइएको छ।  

भन्सारतर्फ न्युन बिजकीकरण प्रवृत्ति दुरुतसाहनको प्रयास गरिएको र  यसका लागि अझै राज्यले सहजकर्ता, उत्प्रेरक र नियमनकारी भूमिका बढाउनुपर्ने देखिएको अधिकरीले बताए । 

यस्तै भिसिटिएस जरीवानातर्फ करिब २०० फर्मबाट ७७ लाख असुल गरिएको पनि उनले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved