अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रको ढुकुटी दुरुपयोग नहुने दाबी गरेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थ मन्त्रालयको धारणा स्पष्ट पार्दै अर्थमन्त्री डा. महतले राज्यकोषको दुरुपयोग हुन आफूले नदिने बताएका हुन् ।
‘राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमिता, घोटला, राज्य कोष जथाभावी बाड्ने र व्यक्ति पोषित काम म बाट हुँदैन र हुन दिइँदैन’ उनले भने, ‘म यस्तो काम गर्दै गर्दिनँ, हामी कोही पनि गर्दैनौं ।’
उनले अयोग्य लडाकूहरुलाई पैसा दिने कुरा आफू अर्थमन्त्री भएपछि निर्णय भएको विषय नभई पूरानै विषय भएको दाबी पनि गरेका छन् ।
‘यसभन्दा अगाडिको बजेटमा पनि त्यो व्यवस्था गरिएको छ, म त्यसबेला अर्थमन्त्री थिइन’ उनले भने, ‘यो म अर्थमन्त्री भएपछि भएको निर्णय होइन । यो विषय अगाडि बढेको बारे मलाई जानकारी पनि थिएन । कार्यविधि पास गरेर अगाडि बढाउने विषयमा पनि मलाई जानकारी छैन ।’
उनले कार्यविधि बनाउने जिम्मेवारी गृह मन्त्रालयको भएकाले यसबारे कार्यविधि बनाउनुपर्छ भन्ने विषय आएको थियो र अहिले कार्यविधि बन्यो अरे भन्ने मात्रै आफूले सुनेको बताए ।
‘म स्पष्ट भन्न चाहन्छु, लडाकुलाई पैसा दिने विषयमा अर्थमन्त्रालय र म संलग्न छैन । नेपाली कांग्रेस पार्टीको प्रवक्ता पनि हुँ म । पार्टी र मेरो व्यक्तिगत राय– सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन पनि गर्नुपर्छ । जति पनि द्वन्द्वसँग जोडिएका विषय छन्, यी सबै सत्य निरुपण आयोगबाट भयो भने सबैभन्दा उत्तम हुन्छ’ उनले थपे ।