राष्ट्र बैंक भन्छ 'भू-राजनीतिक तनाबका कारण महँगी बढ्यो, अझै बढ्ने जोखिम छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 12:14:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय भू–राजनीतिक तनाबका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान र अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको जनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त कारणले खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा बढी चाप परेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार केही मुलुकहरुले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्ध र स्वदेशी बजार अनुगमन प्रभावकारी नहुँदा सोको फाइदा उठाउने प्रवृत्तिले गर्दा पनि मूल्यमा चाप पर्न गएको छ । पछिल्लो समय मध्यपूर्वी एशियाली मुलुकमा शुरु भएको भू–राजनीतिक तनाबले मूल्यमा थप चाप पर्न सक्ने जोखिम रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । तर, भारतमा पछिल्ला महिनाहरुमा मूल्यवृद्धि घट्न थालेको र नेपालको थोक मूल्यवृद्धि कम रहेकोले मूल्यवृद्धिमा सुधार हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकका अनुसार २०८० असोज मसान्तमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । २०८० असोज मसान्तमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मूल्य वृद्धि ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो समूहको मूल्य वृद्धि क्रमशः ८.०५ प्रतिशत र ८.८५ प्रतिशत रहेको थियो ।  समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३.७३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा तलब तथा ज्याला दर सूचकाङ्क ५.६५ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्ष ११.५९ प्रतिशतले बढेको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved