गोर्खा ग्राउण्ड जिरो : गठबन्धनको 'ओभर कन्फिडेन्स' र एमालेको 'निरीहता', तातेन चुनावी माहोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 04:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको इपीसेन्टर मानिएको गोर्खाको दुवै क्षेत्रमा चुनावी चहलपहल त्यति धेरै तातेको छैन । यसअघिका निर्वाचनमा जस्तो अहिले चुनावी रौनक नदेखिएको गोर्खाबासीहरूको भनाइ छ ।

गोर्खा १ र २ दुवै क्षेत्रमा गत स्थानीय र २०७४ सालको मतका आधारमा गठबन्धन धेरै अगाडि छ । क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उठेका छन् भने नेकपा एमालेका तर्फबाट अब्दुस मियाँले उनीसँग प्रतिस्पर्धा गर्नेछन् ।

देशैभरिको चुनावी प्रचार-प्रसारमा हिड्नुपर्ने कारण देखाउँदै प्रचण्डले गोर्खाको चुनावी अभियानमा दत्तचित्त भएर लागेका छैनन् । एमालेका मियाँ चुनावी प्रचार-प्रसारका लागि आफ्नै जन्मथलो बसेका छन् तर उनले पनि मतदातासँगको भेटको दायरा बढाउन सकेका छैनन् ।

'गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी र नेपाल समाजवादी पार्टीका झण्डा बोकेका गाडीहरू यदाकदा देखिने गरेका छन्,' एक स्थानीय रामशरण बुर्लाकोटीले बिजपाटीसँग भने, 'एमालेको भने खासै देखिएको छैन । पहिला-पहिला जस्तो यहाँ अहिले चुनावी माहोल नै बनेको छैन ।'

प्रचण्ड लड्ने भएकाले काठमाडौँकेन्द्रित सञ्चारमाध्यमहरूले पनि गोर्खालाई पछ्याइरहेका छन् । प्रचण्डसँग भिड्ने तयारीमा रहेका एमालेका अब्दुस मियाँ ३० वर्ष नकाटेका युवा हुन् । दुवै कारणले सञ्चारमाध्यमहरूले पच्छ्याएको गोर्खा १ मा भने चुनावी रौनक नदेखिएको हो ।

चुनावी रौनक नदेखिनुमा गठबन्धनको अति-आत्मविश्वास र एमाले कमजोर हुनु दुई प्रमुख कारण रहेको हर्मी भन्ज्याङ निवासी स्थानीय पत्रकार धनबहादुर तामाङ बताउँछन् ।

'गठबन्धनको मतान्तर धेरै छ, यसैले प्रचण्ड चुनाव जित्नेमा ढुक्क छन्,' तामाङले भने, 'त्यसैले उनीहरू त्यति सारो डटेर चुनावी मैदानमा भिडेका छैनन् । एमाले आफू कमजोर भएको स्वीकारिसकेको छ । त्यसमाथि अहिले राष्ट्रिय राजनीतिमा नदेखिएको अनुहार (अब्दुस मियाँ)लाई अगाडि सारेको छ । मियाँ पनि त्यति धेरै चुनावी प्रचारमा हिंडेका छैनन् ।'

आफूले यसै जित्ने अवस्था रहेको दाबी गर्दै गठबन्धन दल विशेष गरेर माओवादी केन्द्रले खासै पैसा खर्च गर्न नखोजेकाले पनि चुनावी अभियानमा युवा कार्यकर्ताहरूको उपस्थिति फितलो देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी पनि प्रचार-प्रसारमा हिंडेका छन् । तर उनलाई नै मत हाल्ने दाबी गरेका एक मतदाताले बुर्लाकोटीको माहोल नबनिसकेको स्वीकारेका छन् । उनले भने, 'यसपटक नयाँ पार्टी र अनुहारलाई मत हाल्ने मेरो सोच हो तर स्वतन्त्र पार्टीको पक्षमा पनि खासै माहोल आउन सकेको छैन ।'

तर बुर्लाकोटीले भने आफूले ६ देखि ७ हजार मतले प्रचण्डलाई जित्ने दाबी गरेका छन् । बिजपाटीसँग संक्षिप्त कुरा गर्दै बुर्लाकोटीले यसपाली गोर्खाबासीले आफ्नो मन र मत परिवर्तन गर्ने दाबी गरे ।

गोर्खा २ को प्रदेश सभा (ख)मा कांग्रेसका सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् भने (क)मा नेपाल समाजवादीका फणिन्द्र देवकोटा चुनावी मैदानमा छन् ।

गोर्खा निर्वाचन क्षेत्र १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं चुनावी मैदानमा छन् । एमालेका रामशरण बस्नेतले सोही क्षेत्रमा गठबन्धनसँग प्रतिस्पर्धा गर्दै छन् ।

पछिल्लो स्थानीय चुनाव र २०७४ को संसदीय निर्वाचनको आंकडाले यहाँ पनि गठबन्धन ठूलो मतान्तरका साथमा अगाडि छ । गोर्खा २ मा प्रचण्डलाई खासै गाह्रो नभए पनि १ मा भने आफ्नो प्रतिस्पर्धा बस्नेतसँग हुने तर सहज जित निकाल्ने तयारीमा आफू रहेको बजगाईंले बताए ।

'२ नम्बरमा गठबन्धनका उम्मेदवार प्रचण्डलाई खासै गाह्रो छैन, अब्दुस मियाँ उहाँको प्रतिस्पर्धी नै होइन,' बजगाईंले बिजपाटीसँग भने, '१ नम्बरमा भने रामशरण र मेरो राम्रो प्रतिस्पर्धा हुन्छ । तर हाम्रो मतान्तर तुलना नै गर्न नसक्ने किसिमको छ, त्यसैले मेरो जित सहज छ ।'

बजगाईंले पनि गोर्खाको दुवै क्षेत्रमा एमाले कमजोर रहेकाले गठबन्धनले जित निकाल्न खासै मेहेनेत नगरेको स्वीकार्छन् ।

'यहाँ दुवै क्षेत्र गठबन्धनका लागि सहज क्षेत्र हो, त्यसैले पनि चुनावी प्रतिस्पर्धा ठूलो हुँदै छैन,' उनले भने ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved