प्रहरीको अनुरोधः दशैँ भ्रमण गोप्य राख्नुहोस्, घर–डेरा छाड्दा प्रहरीलाई खबर गर्नोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 11:47:26 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ नजिकिएसँगै काठमाडौँ छोड्ने योजनामा लाखौँ सर्वसाधारण छन् । दशैँ मनाउन यति नै संख्यामा सर्वसाधारणहरुले काठमाडौँ छोड्छन् भन्ने यकिन तथ्यांक नभएपनि घटस्थापनादेखि नवमीसम्म २२ देखि २३ लाख जना सर्वसाधारणहरु काठमाडौँबाट बाहिरिने अनुमान प्रहरीले गरेको छ ।

यस सम्बन्धमा अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा प्रहरीले विगतमा जस्तै यसपाली पनि सर्वसाधारणलाई सुसूचित गराएको छ । 

दशैँको लागि काठमडौँबाट बाहिरिने सर्वसाधारणहरुले यहाँ घर वा डेरा छोडेर गाउँ जाँदा सकेसम्म आफू जाने मिति, फर्किने अनुमानित दिन र सम्बन्धित घर नम्बर लगायतका विवरण प्रहरीलाई उपलब्ध गराएर जान प्रहरीले अनुरोध गरेको छ ।

‘विगतमा पनि सुरक्षाका उपायहरु अवलम्बन गर्न अनुरोध गर्ने गरेका थियौँ’ महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोत भन्छ, ‘यसपाली पनि विगतमा जस्तै सर्वसाधारण दाजुभाइ दिदीबहिनीले सुरक्षाका उपायहरु अपनाएर आफू घर जाँदा त्यसको जानकारी नजिकको प्रहरी कार्यालयमा दिनु राम्रो हुन्छ ।’

प्रहरी स्रोतका अनुसार काठमडौँ उपत्यकासहित देशका विभिन्न सहरमा आफू बस्दै आएको घर छोडेर जाँदा चोरी हुन सक्ने भएकाले त्यसरी छोड्न लागिएको घरको ठेगाना, सम्बन्धित घरधनी, घर धनीको सम्पर्क नम्बर लगायतका विवरण प्रहरीलाई उपलब्ध गराउँदा सम्भावित जोखिम न्यूनिकरण गर्न सकिने र कथमकदाचित चोरी भइहाले तत्काल खोजतलास गर्न सजिलो हुनेछ । 

यति मात्रै नभई आफूले घर रेखदेख गर्न कोही व्यक्ति राखेको भए उक्त व्यक्तिको जानकारी पनि प्रहरीमा दिए सहज हुने प्रहरीको भनाइ छ । 

भरसक, यो ठाउँ जाँदैछु, यहाँ पुगे लगायतका यात्रा विवरण सामाजिक सञ्जालहरुमा नराख्नु उचित्त हुने प्रहरी बताउँछ ।

यो पनिः
दशैँमा काठमाडौँमा ७७ सय प्रहरी खटाइने, नाकामा तालिमप्राप्त कुकुर पनि परिचालन गरिने

यसैबीच, यसपाली दशैँमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन काठमाडौँ उपत्यकामा ७ हजार ७ सय ५८ जना प्रहरी खटाइँदै छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले झैझगडा, चोरी, ठगी तथा जुवातास नियन्त्रणका लागि आवश्यकताका आधारमा यसबाहेक थप सुरक्षाकर्मी पनि परिचालन गर्न सकिने जनाएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीसँगै सादा पोशाकका प्रहरी खटाइने छ । 

त्यस्तै, नागढुङ्गा, फर्पिङ र भक्तपूरको जगाती चेक प्वाईन्ट सहितका केही नाका र व्यापारिक स्थानमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिनेछ । 

सँगै, दशैँमा मानिसहरु बाहिरिने भएकाले काठमाडौँ उपत्यकामा भीडभाड कम हुने भएकाले मानिसको चाप कम भए पनि चोरी लगायतका घटना हुन सक्ने भएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved