कुनै बेला भैलो खेलेको पैसाले दाइका लागि मरमसला किनेको क्षण सम्झिँदा भावुक हुन्छु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 11:17:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योत्सना श्रेष्ठ

हामी सानो छँदा दशैँ र तिहार भन्नासाथ नयाँ कपडा लगाउने, मिठो मिठो परिकार बनाएर खाने भन्ने हुन्थ्यो । तिहारमा आफ्नै उमेर समूहका साथीसंगी भेला भएर देउसी भैलो खेल्ने, पटाका पड्काएर रमाउने जस्ता रमाइला क्षणहरु हुन्थे । त्यतिबेला कुनै खालको ‘रेस्पोन्सबिलिटी’ थिएन । त्यतिबेलाको तिहारमा हुने पारिवारिक जमघटको माहोल अहिले पनि खुब सम्झना आउँछ ।

पहिला पहिलाको तिहारमा गाउँघरमा साना ठूला सबै उमेर समूहका मानिसहरु भेला भएर देउसी भैलो खेल्दा निकै रमाइलो अनुभूति हुन्थ्यो । साना बालबालिकाहरुको आफ्नै समूह हुन्थ्यो, अलि बढी उमेर भएकाहरु आफ्नै समूह बनाएर देउसी भैलो खेलिन्थ्यो । देउसी र भैलो खेल्न आउनेहरुलाई नाङ्लोमा सजाएर दान दक्षिण दिने परम्परा थियो । आफ्नो संस्कृति अनुसारका खानपिन बनाउने काम हुन्थ्यो । अनि त्यसरी बनाएको सेलरोटी लगायतका मिष्ठान्न परिकारहरु पहिला देउसेलाई दिएपछि मात्रै आफूले खानुपर्छ भन्ने चलन थियो ।

तर, अहिले निकै परिवर्तन भइसकेको छ । हेर्दा पनि सबैलाई सधैँ हतार मात्रै देखिन्छ । शहर बजारमा आर्थिक संकलनका लागि देउसी खेल्ने परम्परा जस्तो बनिसक्यो । वास्तवमा देउसी भैलो भनेको हाम्रो संस्कृति हो, यसको रक्षा र जगेर्ना गर्नुपर्छ । सँगै, गाउँघरमा रमाउने र हाम्रा संस्कृतिहरुको संरक्षण गर्ने युवा पुस्ता नै अहिले छैनन्, गाउँ खाली हुँदै गएका छन्, गाउँघरमा सन्नाटा छाएको छ । तिहारमा गाउँलेहरु भेला भएर धारा, पधेँरा, पाटी, पौवा, चौतारा सफा गरेर पिङ हाल्ने गरिन्थ्यो । अहिले यसो गर्न सक्ने युवाहरु गाउँमा नहुँदा चाडपर्व नै खल्लो खल्लो हुँदै गएको छ ।

सँगै, अहिले परम्परागत सीपहरु हराउँदै गएको जस्तो पनि लाग्छ । हामी सानो छँदा आमा दिदीबहिनीहरुले सेलरोटी पकाउनु हुन्थ्यो, लड्डु बनाउनु हुन्थ्यो । त्यतिबेला ‘जोइन्ट फेमिली’ थियो । अहिले त कति मानिसहरुलाई सेलरोटी पकाउन पनि आउँदैन । मलाई लाग्छ अहिले ८० प्रतिशतले सेलरोटी आफैँ बनाउँदैनन् । घरमा नबनाएर किन्ने चलन हुँदा व्यवसायिकता चाहिँ बढ्यो भन्न सकिएला, तर सेलरोटी हाम्रो परम्परा र संस्कृति हो । हिजो पो मानिसहरु घरमा भेला हुन्थे, एकले अर्कालाई आफ्नो सीप सिकाउँथे, बुबा आमाहरुले छोरा छोरीहरुलाई पकाउनदेखि सबै कुरा सिकाउनुहुन्थ्यो । अहिले त्यस्तो माहोल नै छैन । 

पहिला पहिला देउसी खेल्नेहरु रमाउँदै, मादल बजाउँदै आउँथे । देउसेहरु आए है भनेर दान दक्षिणा तयार पार्ने काम हुन्थ्यो । अहिले त देउसी खेल्न आउनेहरु पनि कारमा चढेर आउन थालेका छन् । यसरी हरेक वर्ष हाम्रो संस्कृति क्रमशः घट्दै घट्दै आइरहेको छ । पोहोर जस्तो यसपाली हुँदैन, यसवर्षको जस्तो आगामी वर्ष हुँदैन । यसकारण हामीले हाम्रो संस्कृति भुल्दै गएका हौँ कि जस्तो लाग्छ, आफ्नो संस्कृति बचाउने काम हामीले नै गर्नुपर्छ ।

तिहारको प्रमुख रौनकता नै सेलरोटी, झिलिमिल बत्ती र फूलहरुको सजावट हो । सेलरोटी नभई तिहार नै हुँदैन, चाहे आफैँले बनाउँ, चाहे किनौँ । साथै, भाइपूजासँगै सेलरोटी पकाएर, दियो बालेर, फूलका माला गाँसेर सजावटका साथ लक्ष्मी माताको विधिपूर्वक पूजा आराधना गर्नु तिहारको मुख्य विशेषता हो । यो संस्कृति युगौयुगसम्म रहिरहनुपर्छ भन्ने म ठान्दछु । यसले नेपाली समाजको मौलिकता र यहाँका मौलिक पर्व तथा चाडहरुको प्रतिनिधित्व गर्छ । दियो बाल्दा कपासबाट आफैँले बनाएको बत्ती प्रयोग गर्छौँ, तेल प्रयोग गर्छौँ, आँगनदेखि पूजा कोठासम्म झिलिमिली बनाएर यसरी पूजा गरिने संस्कृति हाम्रो मौलिक संस्कृति हो । यस्ता संस्कृतिहरु वर्षौ वर्षसम्म रहिरहनु पर्छ ।

मलाई तिहार भन्नासाथ कुनै बेला आफूले भैलो खेलेको पैसाले दाइका लागि मरमसला किनेको याद आउँछ । घरबाट नजिकका छिमेकसम्म देउसी भैलो खेल्न जाने अनुमति पाइन्थ्यो । नयाँ लुगा लगाइदिएर, साडी लगाइदिएर चिटिक्क पारेर पठाउनुहुन्थ्यो, अनि हामीले रमाउँदै भेलो खेल्थ्यौँ र जम्मा भएको पैसा आपसमा बाँड्थ्यौँ । त्यसरी आफ्नो भागमा परेको पैसाले दाइका लागि मरमसला किनेको क्षण सम्झिँदा म अहिले पनि भावुक हुन्छु । मेरो एक जना मात्रै दाइ हुनुहुन्थ्यो, उहाँ बितिसक्नुभयो । अहिले भदा भाइहरु (दाइका छोराहरु)लाई र मलाई दिदी भन्ने मेरा अरु भाइहरुलाई तिहारको भाइटिका लगाउँदै आएको छु ।

अन्तिममा, तिहार भनेको नेपाली र नेपालको आफ्नो मौलिक पर्व हो । यसले परिवारलाई आपसमा ‘कनेक्ट’ गराएर राख्छ । वर्ष दिनमा अरु समय जहाँ पुगेपनि, जता व्यस्त भएपनि दशैँमा मान्यजनसँग भेट्नुपर्छ, उहाँहरुको आशिर्वाद लिनुपर्छ भन्ने चलनले परिवार, आफन्तलाई ‘कनेक्ट’ गराउँछ । ठिक यसैगरी तिहारले पनि दिदीभाइ वा दाजुबहिनीबीच आत्मीयता हुनुपर्छ भन्ने सन्देश दिएको हुन्छ । तिहारले दिने अनेकौँ सन्देशमध्ये सबैभन्दा महत्वपूर्ण र हामीले ग्रहण गर्नुपर्ने सन्देश भनेकै दिदीबहिनी र दाजुभाइबीच झगडा हुनुहुँदैन, द्वन्द हुनुहुँदैन, सधैँ आत्मीयतापूर्ण सम्बन्ध कायम हुनुपर्छ भन्ने नै हो । यो सामाजिक प्रथा, यो मौलिकतामा आधारित रहेर परिवारबीच टुटफुट र झगडा हुनुहँदैन भन्ने सन्देश बोकेको तिहार चाड कहिल्यै पनि नमासियोस् भन्ने कामना पनि गर्दछु ।

साथै, हामीले वर्षभरी दुःख पर्दा देवीलाई पुकार्छौँ । कुनै समस्या भयो, शक्ति चाहियो भने पुकार्ने देवीलाई दशैँमा विधिपूवर्क पूजा गरिए जसरी तिहार पनि लक्ष्मी माताको पूजा गर्छौँ । दुःख पर्यो, पैसा छैन, आम्दानी घट्यो भनेर हामी झट्ट ‘हे लक्ष्मी माता’ भनिहाल्छौँ । यो भनेको हाम्रो आस्था हो । वर्षभरी पुकार्ने देवीलाई एकदिन राम्रोसँग पूजा आराधना गर्दा अझ बढी आस्थावान भइन्छ । यसले सत्कर्म गर्न प्रेरित पनि गर्छ र हाम्रो संस्कृति पनि बचाउन मद्दत पुग्छ । यसकारण, यसपाली पनि पवित्र भावनाका साथ लक्ष्मी माताको पूजा आराधना गर्दै देशकै समृद्धिको कामना गरौँ भन्दै शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु । 

ज्योत्सना श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष हुन् ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौँः सम्पादक

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved