सुनचाँदी व्यवसायीहरुबीच शीतयुद्ध, झगडाले खुल्दैछ तस्करको पोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 10:40:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कोटाको सुन नक्कली व्यवसायी खडा गरेर वितरण गरिएको विषयलाई लिएर सुनको कारोबार गर्ने व्यवसायीबीच कुटाकुटको अवस्था आइलागेको छ । सुन वितरणको विषयलाई लिएर आरोप प्रत्यारोपमा उत्रिएका व्यवसायीहरु अहिले खुलेरै एक अर्काविरुद्द विज्ञप्तिबाजीमा लागेपछि व्यवसायीबीच शितयुद्द भएको देखिएको हो ।

विशालबजारमा रहेको रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक नरेन्द्रकुमार गुप्ताले कोटाको सुन वितरणलाई लिएर प्रश्न उठाएपछि व्यवसायीहरु विज्ञप्तिबाजीमा उत्रिएका हुन् ।

गुप्ताले कोटाको सुन नक्कली व्यवसायी खडा गरेर असमान वितरण गरेको आरोप लगाएपछि सुन तथा चाँदी व्यवसायसँग सम्बन्धित दुइ ठूला महासंघले संयुक्त विज्ञप्ति जारी गरेर नै यसको विरोध गरेका हुन् ।

दुई महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले २०६७ सालदेखि सुनको आयात र वितरणलाई कोटा प्रणालीअन्तर्गत ल्याई उक्त सुन मुलुकभरका आम गहना व्यवसायीसमक्ष समानुपातिक रुपमा वितरण गर्ने जिम्मेवारी गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुलाई प्रदान गर्दै आएको छ । त्यसरी प्राप्त अख्तियारीलाई सम्बन्धित महासंघ र संघहरुले पारदर्शीरुपमा वितरण गर्दै आएको सर्वविदित छ ।’

नेपाल रत्न तथा आभूषण संघ काठमाडौँका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले १५ वर्षदेखि यस संघको विभिन्न तहमा रहेर काम गर्दै आएको र संस्था र देशको पक्षमा काम गर्न खोज्दा आफूमाथि अपमान गरिएको बताएका छन् ।

उनले आफू लामो समयदेखि सुनको कोटाभित्रको विकृतिको रुपमा बोल्दै आएको र यसमा बेथिति गर्ने केही पदाधिकारीहरुले यी दुई महासंघको दुरुपयोग गरेर विज्ञप्ति निकालेको बताएका छन् । 

आफूले कोटा सुनको आडमा भारतमा सुन तस्करी नगर्न र  त्यस्ता तस्करलाई संरक्षण नगर्न तथा कोटा वितरण ठीक ढंगले दामासायीले वास्तविक गहना व्यवसायीलाई गर्नुपर्ने आवाज उठाएपछि केही व्यक्तिले महासंघको लेटर प्याडको दुरुपयोग गरेर आफ़ूविरुद्द भ्रामक प्रचार गरेको गुप्ताले बिजपाटीलाई बताए। 

‘खुलेआम नेपाली व्यवसायीहरुलाई कोटामार्फत आएको सुन नदिएर भारत तस्कर हुँदा समेत राज्य संयन्त्र गुपचुप बसेर सुन तस्कर घटाउँछु भनेर भाषण गर्नु दुर्भाग्य हो’ उनले भने ।

कोटाको आडमा सुन भारतमा तस्कर भइरहेको विषयमा नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका अध्यक्ष सुमनमान ताम्राकार, नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका द्वितीय उपाध्यक्ष निर्मल ज्योति तुलाधर र यिनका सहयोगीहरुलाई सुन तस्करको विषयमा छानबिन गर्न भन्दै गुप्ताले प्रहरीमा ठाडो किटानी जाहेरी समेत दिएका छन्।

आरोपितहरुले भने गुप्ताले लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै आफूहरु पारदर्शी रुपमा चलिरहेको दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved