सुन तस्करीका विषय उठान गर्ने वरिष्ठ उपाध्यक्ष गुप्ताबारे संघमा छलफल हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 11:11:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रत्न तथा आभूषण संघमा कोटा दुरुपयोग र सुनको तस्करीका विषय उठान गर्ने वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताका विषयमा छलफल हुने भएको छ । शुक्रबार दिउँसो २ः३० बजे कार्य समिति बैठक बोलाइएको र उक्त बैठकको पहिलो एजेण्डा नै वरिष्ठ उपाध्यक्ष गुप्ताको विषय रहेको पाइएको छ ।

बैठकको पहिलो एजेण्डामै ‘यस संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता ज्यूलाई विभिन्न मितिमा संघबाट सोधिएका छलफल र स्पष्टिकरणका सम्बन्धमा उहाँका प्रतिक्रियाबारे छलफल गरि आवश्यक प्रक्रिया अघि बढाउने’ भनिएको छ । यस्तै, दोस्रो एजेण्डा संघ (नेग्जा)को ह्वाट्स एप ग्रुपको सञ्चालन छ ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले संघ र महासंघका पदाधिकारीहरुले सुनको कोटा दुरुपयोग गरेका, आफ्ना सुन पसललाई मात्रै प्राप्त कोटा वितरण गरेको र कोटाको आडमा सुनको तस्करी गरेको जस्ता आरोप लगाएका थिए । संघ र महासंघले गुप्ताले लगाएका आरोपको खण्डन गर्ने प्रयास गरे पनि संघका सदस्य र जनताले संघ र महासंघले गरेको खण्डन चित्त बुझाएका छैनन् ।

यसैबीच, संघले गुप्ताका सम्बन्धमा आवश्यक निर्णय लिनका लागि शुक्रबार बैठक बोलाएको हो । गुप्तालाई कारबाही गरेर जाने, बर्खास्त गर्ने भन्ने एजेण्डा नरहेको तर, संस्थाका पदाधिकारीमाथि नै आरोप लागेपछि आरोप लगाउनेले प्रमाण देखाउन सक्नुपर्ने र आरोपितहरुले पनि आफ्नो संलग्नता नरहेको प्रष्ट्याउन सक्नुपर्ने भएकाले छलफल राखिएको महासचिव जयराम पाण्डेले बताए ।

‘उहाँ (नरेन्द्र कुमार गुप्ता)लाई अध्यक्षले लिखित रुपमै स्पष्टिकरण सोध्नुभएको छ, उहाँले लिखित रुपमै जवाफ पठाउँछु भन्नु भएको थियो रे, तर अहिलेसम्म पठाउनु भएको छैन’ महासचिव पाण्डेले भने, ‘यसपछि संस्थालाई अनिर्णयको बन्दी बनाएर राख्नु हुँदैन, यो विषय टुङ्ग्याएर जानुपर्छ भनेर छलफल राखेका हौँ । यसमा मैले आफूले एजेण्डा सेट गरेको पनि होइन, बैठक बोलाउँ भनेर आन्तरिक छलफल भएपछि अध्यक्षको निर्देशनमा बैठक डाकेको हुँ ।’

उनले सुनको कोटा दुरुपयोगको विषय छलफलबाट नटुङ्गिए आफू महासचिव पदमा नबस्ने समेत बताएका छन् । 

‘यदि कसैले गल्ती गरेको रहेछ भने उमाथि कारबाही प्रक्रिया पनि अघि बढाउनुपर्यो, छलफलबाट विवाद टुङ्गिनुपर्यो’ उनले भने, ‘विवाद बल्झिरहन्छ, टुङ्गिदैन भने म पनि महासचिव पदमा बस्दिनँ, राजीनामा दिन्छु । संस्थालाई अनिर्णयको बन्दी बनाएर पदमा बसिरहनुको अर्थ हुँदैन ।’

यता सुनको कोटा दुरुपयोग भइरहेको विषयमा आवाज उठाइरहेका संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले भने कोटा दुरुपयोग गर्नेहरुमाथि सरकारले समेत छानबिन गरिरहेको र यस सम्बन्धमा आफूले संविधानको धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक अनुसार आवाज उठाउँदा आफ्नो आवाजलाई निस्तेज पार्न खोजिएको बताएका छन् ।

‘२० हजारको हाराहारीमा रहेका सुनचाँदी र गहना व्यवसायी तथा मजदूर र कालिगढको अधिकारको कुरा उठाउँदा मेरो आवाजलाई कमजोर बनाउने प्रयत्न भयो’ गुप्ताले भने, ‘संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक अनुसार कुरा उठाउँदा हामीमाथि जति नै प्रहार भए पनि हामी पछि हट्नेवाला छैनौँ, कोटाको दुरुपयोग गर्नेलाई कारबाही गराउने र कोटा प्रणाली हटाउने अभियानमा निरन्तर लागिरहन्छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved