कर्णालीमा खुल्न लागेको पहिलो सिमेन्ट उद्योगलाई कर्णालीबाटै आएका मन्त्रीको असहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 13, 2023 | 03:57:02 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत र सडक पूर्वाधार बनाइदिने प्रतिबद्धतापछि १४ अर्बको लगानी स्वीकृत गरेर निर्माणको काम थालेको सूर्यतारा सिमेन्ट उद्योगका लागि विद्युत प्राधिकरण र सडक विभागले पूर्वाधारमा सिन्को नभाँचेपछि हात झिक्न लागेका उद्योगीहरुलाई कर्णालीबाटै प्रतिनिधित्व गर्ने संघीय मन्त्रीहरुले पनि असहयोग गरेका छन् । 

कर्णालीकै पहिलो उद्योग बनेर त्यसक्षेत्रको औद्योगिक विकासको मुहार फेर्न सक्ने सुर्यताराका लागि चाहिने विद्युत र सडक पुर्वाधार बनाइदिन कर्मचारी तहमा गरेको प्रयास असफल भएपछि गाँठो फुकाइदिने आशासहित त्यही क्षेत्रबाट जितेर मन्त्री बनेका राजनीतिज्ञसँग विन्ती विसाउँदा पनि उद्योगीलाई असहयोग मात्र हात लागेको छ ।

उद्योग सञ्चालनका लागि २० मेगावाट बिजुली र सुर्खेतको बराहतालस्थित उद्योगको खानीसम्म जाने १५ किलोमिटर पहुँचमार्ग (हाल गोरेटो बाटो २७ किलोमिर भएको) पहिलो आवश्यकता हो । तर दुई वर्षदेखि पूर्वाधार निर्माण गरिदिन गुहार माग्दै तलदेखि मन्त्रीसम्म पुग्दा पनि सफल नभएको लगानीकर्ताहरुले बताएका छन् ।

मुकुन्द तिमिल्सिना र बालकृष्ण भुसाललगायतका केही उद्योगीहरु कर्णालीमा उद्योग खोल्न कम्मर कसेर लागेको २ वर्ष वितेको छ । सुर्खेतको पञ्चपुरीमा सूर्यतारा सिमेन्ट उद्योग खोल्न २०७८ चैत १७ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५०औं बैठकले १४ अर्ब २७ करोड लगानी स्वीकृत गरेको थियो । विद्युत र सडक पूर्वाधारमा बनाइदिने सम्झौतामै उल्लेख छ, तर सरकारी तहबाटै असहयोग भएपछि तिमिल्सिना र भुसालहरु ‘ब्याक’ हुने मनस्थितिमा पुगेका छन् ।

सूर्यताराका लागि बिजुली दिने र बनाइदिने जिम्मा पाएका उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व अहिले कर्णाली प्रदेशले नै पाएको छ । बिजुली दिने ठाउँमा उर्जामन्त्री शक्तिबहादुर बस्नेत र बाटो बनाइदिने ठाउँमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । उनीहरु कर्णालीकै प्रतिनिधित्व गरेर संघीय सरकारमा पुगेका हुन् । तर, उनीहरुबाट कर्णालीमा खुल्न लागेको सूर्यतारा सिमेन्ट उद्योगलाई सहयोग नहुँदा उद्योगीहरु हात झिक्ने अबस्थामा पुगेका छन् ।

‘पटक पटक अनुरोध गर्दा पनि उर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाबाट सहयोग पाउन सकिएन’, सूर्यताराका एक जना लगानीकर्ताले बिजपाटीसँग भने, ‘कर्णालीमा उद्योग खोल्ने कुरा उहाँहरुको प्राथमिकतामा परेन, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का पनि कर्णालीकै हुनुहन्छ, लाइन मिनिष्ट्री नभए पनि कर्णालीको प्रतिनिधि भएको नाताले उहाँसँग पनि सहयोगको अनुरोध गर्यौँ, तर सहयोग पाइएन ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको सचिवालयले त्यस विषयमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । ‘यसबारे यहाँ जानकारी आएको जस्तो लागेन, अनुरोध आएको भए सहयोग नहुने भन्ने हुँदैन’, सचिवालयका एक सदस्यले भने, ‘मन्त्रालयबाट असहयोग नै भयो भन्ने कुरा त होइन होला, उहाँहरु आउनुभयो भने बसेर छलफल गर्न सकिन्छ ।’ 

यता नेपाल विद्यतु प्राधिकरणले अहिले सुर्खेतमा १३२ केभीको प्रशारण लाइन नै नभएकाले सूर्यतारालाई बिजुली दिन नसकिने बिजपाटीसँग बताएको छ ।  

पूर्वाधार नहुँदा बैंकबाट ऋण पाइएन

उद्योग स्थापनाका लागि सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालकले ४० विघा जमिन खरिद गरेका थिए । यो जग्गा अहिले तारबार लगाएर राखिएको छ । उद्योगमा हुने कुल लगानीमध्ये ८० प्रतिशत बैंक ऋण र २० प्रतिशत संस्थापकहरुको स्व-पुँजी रहने गरी शेयर संरचना बनाइएको थियो ।

यसमध्ये उद्योगीहरुले गर्ने स्व-पुँजीबापतको लगानी जग्गा किन्न  र तारबार लगाउन खर्चिएका छन् । बैंकबाट ऋण लिनका लागि सुरुमा पूर्वाधार बन्नुपर्ने हुन्छ तर, बिजुली र पहुँच मार्गको पूर्वाधार नबन्दा बैंकबाट ऋण लिने प्रक्रिया पनि रोकिएको छ । 

‘पूर्वाधार नभएको ठाउँमा बैंकले लगानी गर्ने कुरा आउँदैन, बिजुली र पहुँचमार्ग पुग्ने वितिक्कै बैंकहरु कर्जा प्रवाह गर्न तयार छन्, तर चाहिने आधारभूत पूर्वाधार नबन्दा ऋण लिन जाने कुरा पनि भएन’ एक लगानीकर्ताले भने ।

यसअघिः

कुलमानले बिजुली दिन नसकेपछि नखुल्ने भयो १४ अर्बको सिमेन्ट उद्योग

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved