'हरेक हिसाबले तल परेका नेपाली नागरिक हाम्रा ग्राहक' गार्डीयनका सीइओ भण्डारीको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 11:18:21 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा क्षेत्रमा परिचित नाम हो चिरायू भण्डारी। नेपालकै पहिलो पुनर्बीमा कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत बनेर संस्थालाई एउटा लयमा पुर्याएका भण्डारी अहिले फेरि नेपाली बजारमा नयाँ मानिएको पहिलो लघु जीवन बीमाको संस्थापक सीईओको रुपमा काम गरिरहेका छन्। राष्ट्रिय बीमा संस्थानबाट करियर सुरु गरेर झन्डै चार दशक अर्थात चालिस वर्ष लामो अवधि नेपालको बीमा क्षेत्रमा योगदान पुर्याएका भण्डारी अहिले नेपालकै पहिलो लघु जीवन बीमा 'गार्डियन लघुबीमा जीवन बीमा' को प्रमुख कार्यकारी अधिकृत बनेका छन्।

लघु जीवन बीमा के हो, यसले कसरी आम नेपाली नागरिकलाई समेट्छ भन्ने कौतुहलता धेरैमा पाइएको छ। यहि विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंश: 

जीवन र निर्जीवन बीमा सुनिरहेका आम नेपाली माझ अहिले लघुबीमा पनि आइपुगेको छ, सामान्य भाषामा भन्नुपर्दा लघुबीमा भनेको के हो ?

कम आम्दानी भएकाहरुलाई कम पैसामा उनीहरुको जोखिम बहन गर्दिने सँस्थाको रुपमा लघु बीमालाई लिनपर्ने हुन्छ। नेपाली समाजमा नियमित तर कम आम्दानी गर्ने र एकै पटक धेरै पैसा तिर्न नसक्ने ठुलो संख्या रहेको छ। उनीहरु र उनीहरुको परिवारको जीवनमा आउँन सक्ने सम्भावित घटनाले पर्ने आर्थिक असरलाई न्यूनीकरण गर्ने उदेश्यले लघुबीमा नेपाली बजारमा प्रवेश गराईएको हो। यसलाई अर्को शब्दमा भन्नुपर्दा कम आम्दानी गर्नेहरुको जीवनलाई आर्थिक रुपमा साथ दिनलाई नेपाल सरकारले लघु बीमा ल्याएको हो। 

हामीले सुनिरहेका जीवन बीमा र लघुबीमाबीच अरु के के कुरामा फरक छ ?

 दुवैले जीवन बीमा नै गर्ने हो तर धेरै कुराहरु फरक छन्। मुख्यकुरा नै दुवै बीमाका लक्षित वर्ग र क्षेत्र नै फरक छन्।  लघूबीमा भनेको तोकिएको निश्चित रकमको मात्रै बीमा गर्न पाइने संस्था हो र यसले बीमाको पहुँचमा नआएका कम आम्दानी भएकालाई लक्षित गर्ने हो। गाउँ होस् या शहर होस्, कम आय भएका र बीमाका पहुँच नभएका नेपालको झन्डै ७० प्रतिशत जनतामा पुग्ने यसको लक्ष्य हो। 

अहिलेको व्यवस्थाअनुसार लघुबीमाले ५ लाख रुपैयाँसम्मको जोखिम बहन गर्ने जिम्मेवारी लिएको छ भने यसको प्रिमियम अर्थात ५ लाखको जीवन बीमा गर्नलाई तिर्नुपर्ने शुल्क पनि एकदम थोरै हुन्छ। तर अहिले हामीले देखेका सुनेका जीवन बीमा कम्पनीले जतिको पनि जीवन बीमा गर्न सक्ने अधिकार छ भने त्यसको लागि जत्रो साइजको जीवन बीमा गर्ने हो त्यत्रो साइजको शुल्क तिर्नुपर्ने हुन्छ। स्थानीय तह, बिभिन्न संघ सँस्था, समाज अटाएका अन्य विभिन्न सामाजिक सँस्था मार्फत दुरदराज र शहरकै पनि आर्थिक र अन्य आधारमा तल्लो तहमा रहेका नेपालीहरु हाम्रा ग्राहक हुन्। उनीहरुबाट सानो र थोरै पैसा लिएर ५ लाखसम्मको जीवन बीमा गर्ने हाम्रो लक्ष्य हो। 

लघुबीमाले पनि जीवन बीमा कम्पनीहरु झैं एजेन्ट मात्र राखेर काम गर्छ कि अरु कुनै फरक मोडल रहेको छ ?

हामीले पनि एजेन्ट मार्फत नै काम गर्ने हो तर हाम्रा एजेन्ट भनेका स्थानीय तह, विभिन्न संघ संस्था, सामाजिक संस्था लगायतका हुन्छन्। विभिन्न कारणले धेरै मानिसहरु स्थानीय तह तथा स्थानीय संघ संस्थासँग जोडिएका हुन्छन्। कम आय भएका सबै नेपाली माझ पुग्ने हाम्रो लक्ष्य भएकाले  उनीहरुसँगको सहकार्य गरेर नै हामिले काम गर्ने हो। 

अहिले पनि धेरै स्थानीय सरकारले आफ्नो क्षेत्रअनुसार आफ्ना नागरिकलाई स्वास्थ्य लगायतका विभिन्न सेवा सुविधा दिइरहेका छन्। त्यसलाई लघुबीमामा जोड्लाई यी सबै स्थानीय तहसँगको सहकार्यमा नै लघु बीमा कम्पनीहरुले धेरै भन्दा धेरै कम आय भएका व्यक्तिको जीवन बीमा गर्ने हो। 

गार्डियनमा कसरी जोडिन सकिन्छ ?

गार्डियनका अभिकर्ता (एजेन्ट) र एजेन्टका रुपमा काम गर्ने स्थानीय तह, स्वास्थ्य सेविका, स्थानीय संघ सँस्था, सामाजिक संघ सँस्था, विभिन्न वित्तीय सँस्था, सरकारी निकायमा दर्ता भएका अन्य संघ सँस्था मार्फत जो कोहिले पनि सजिलै गार्डियनमा जीवन बीमा गर्न सक्छन्। त्यसमा पनि अहिले स्मार्टफोन चलाउने जो कोहिले पनि एकै क्लिकमा गार्डियनमा ५ लाखसम्मको जीवन बीमा गर्न सक्छन्।  मोबाइल बोक्ने जो कोहिले पनि एकै क्लिकमा बीमा गर्ने सक्ने सुविधा गार्डियनले दिएको छ। 

जसलाई लघुबीमाको बारेमा थाहा छैन, उनीहरुलाई हाम्रा एजेन्टहरुले लघुबीमाबारे बुझाउनु हुन्छ। यसको महत्त्व र आवश्यकता बुझाउनु हुन्छ। लघुबीमाको आवश्यकता र महत्त्व बुझेपछि लघुबीमा गर्नलाई गाह्रो छैन।  हाम्रो मोबाइल एप छ। एप डाउनलोड गरेरपनि लघुबीमा गर्न सकिन्छ भने सिधै वेबसाइटबाट पनि गर्न सकिन्छ। त्यतिले पनि नभए हाम्रा एजेन्टलाई सम्पर्क गरेर बीमा गर्न सकिन्छ। तर हाम्रो एपबाट लघुबीमा गर्नलाई यति सहज बनाएका छौँ कि अहिलेको मोबाइल चलाउने पुस्तालाई लघुबीमा गर्न फेसबुकमा एकाउन्ट खोल्न भन्दा सजिलो छ गार्डियनमा लघुबीमा गर्न।

नेपालमा बीमा गर्न त सहजै हुन्छ तर दाबी भुक्तानी पाउन अहिले पनि गाह्रो छ भन्ने सुनिन्छ, लघुबीमाको अवस्था पनि त्यस्तै हुन्छ कि ?

गार्डियनले जति सहजै लघुबीमा गर्न सक्ने सुविधा दिएको छ। त्यति नै सहजरुपमा दाबी माग गर्ने र भुक्तानी हुने पनि बनाएको छ। गार्डियनमा लघुबीमा गरेकालाई दाबी भुक्तानी लिनलाई पनि बीमा गर्नलाई जस्तै सजिलो छ। 

जसरी एपबाटै लघुबीमा गर्न सकिन्छ। त्यसैगरि एपबाटै दाबी माग गर्न सकिन्छ। हामीले दाबी  भुक्तानीको लागि चाहिने कागजी प्रकृयालाई पनि एकदम सहज बनाएका छौँ। मृत्यु भए मृत्यु प्रमाणपत्र वा अन्य दाबी भए अन्य दाबी पुग्ने प्रमाणपत्र भए पुग्ने मापदण्ड बनाईएकोले दाबी प्रकृया छिटो र छरितो बनाइदिएको छ। दाबी प्रकृया कहाँ कुन डिपार्टमेन्टमा पुग्यो र के हुँदैछ भन्ने कुरा पनि एपबाटै हेर्न  दिएका छौँ। दाबी पुग्ने बित्तिकै उसको दाबी बराबरको रकम उसले इच्छाएको बैंक खाता वा मोबाइल पेमेन्ट गेटवेमा उत्तिखेरै पैसा भुक्तानी हुन्छ। 

गार्डियनले गर्न खोजेको कुरा धेरै सहज र सिधा छ। कम आय भएका तल्लो तप्कालाई सहजै लघुबीमा गर्ने र उनीहरुको दाबी पनि सहजै भुक्तानी हुने अवस्थाको सृजना गरेर बढी भन्दा बढी कम आएका नेपाली नागरिकको जीवनलाई बीमा गराउने हाम्रो उदेश्य हो। 

लघुबीमाका कस्ता प्रोडक्टका लागि यति सहज सुविधा हुन्छ ?

यो सहज सुविधा गार्डियनले ल्याउने सबै प्रकारका लघुबीमा प्रोडक्टमा उपलब्ध हुनेछ। अहिले हामीले ५ लाखसम्मको म्यादी (टर्म) जीवन बीमाबाट लघुबीमाको सुरुवात गरेका छौँ। निकट भविष्यमा आउने आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, अन्य लघु जीवन बीमा पनि यो सहजता हुनेछ। 

अन्त्यमा, लघु जीवन बीमाको क्षेत्रका सम्भावित चुनौती के हुन सक्छन् ?

हाम्रो मुख्य चुनौती भनेको नै तल्लो तप्कामा रहेका, चाहे त्यो आर्थिक रुपमा होस् या सामाजिक रुपमा होस् या अन्य रुपमा होस्, उनीहरुलाई जीवन बीमाको आवश्यकता र महत्त्व बुझाउनु नै हाम्रो मुख्य चुनौती हो। 

जीवन महत्त्वपूर्ण छ र जीवनमा सम्भावित घटनाहरु जे पनि हुन सक्छन र त्यस्ता घटना आइलाग्दा हामि बिशेषत आर्थिक रुपमा तयार नहुन सक्छौं वा आर्थिक रुपमा हामीलाई गाह्रो पर्न सक्छ भनेर उनीहरुलाई भविष्यमा घट्न सक्ने घटनाको आर्थिक रुपमा तयारी गर्नलाई लघु बीमा चाहिन्छ भनेर बुझाउनु पर्नेछ। कम आय भएकै कारणले ४-५ लाखको जीवन बीमा नगरेका होइनन्, उनीहरुलाई यसको आवश्यकता र महत्त्व बुझाउन नसक्दा अहिले पनि कम्तिमा ६० प्रतिशत नेपाली नागरिक जीवन बीमाको दायरा भन्दा बाहिर छन्। यसलाई चिर्ने नै हाम्रो मुख्य चुनौती हो। हामीले हाम्रा भएकै संरचनाको साथ लिएर उनीहरु मार्फत लघु बीमाबारे बुझाउने लक्ष्य लिएका छौँ। यहि लक्ष्य प्राप्ति नै हाम्रो मूल चुनौती हो। 

अहिले भएका जीवन बीमा कम्पनीले गर्दै आएको जीवन बीमामा ५ लाखसम्मको बीमाको हिस्सा ठुलो छ, त्यसैले नयाँ आएका लघु बीमा र पुराना जीवन बीमा कम्पनीबिच नै ग्राहक तान्ने प्रतिस्पर्धा हुन्छ भन्ने बजारको बुझाई छ ?

५ लाख या त्यति बराबरको जीवन बीमा गर्नेको हिस्सा ठुलो छ यो सत्य हो। तर भएका पुराना जीवन बीमा कम्पनी र हामीबीच ग्राहक खोस्ने प्रतिस्पर्धा होला भन्ने मलाई लाग्दैन। हामीले विभिन्न माध्यममार्फत धेरैलाई बीमा गर्नुपर्छ भनेर सिकाउने हो भने ठुला कम्पनीले पनि गर्ने त्यहि नै हो। अहिले पनि ६५ प्रतिशत भन्दा धेरै नेपालीहरु जीवन बीमाको दायरामा छैनन्। तिनीहरुलाई दायरामा ल्याउनलाई  संयुक्त प्रयास गर्ने हो। त्यसैले दायरा बढ्दै गर्दा ग्राहक खोस्ने प्रतिस्पर्धा हुदैन भन्ने मेरो विश्वास छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved