फार्मा एक्स्पोले नेपाली औषधि निर्यातको लागि वातावरण बनाउने छ (अध्यक्ष प्रधानको अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 02:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि उत्पादक संघले फागुन २५ गते बाट “९ औँ नेपाल फार्मा एक्स्पो २०२४” गर्दै छ । संघले भरतपुरमा फागुन २५ देखि २७ गतेसम्म ३ दिने एक्स्पो गर्न लागेको हो। 

यसै सन्दर्भमा एक्स्पोको उदेश्य, मुख्य आकर्षण, एक्स्पोबाट हुने लाभ, नेपाली औषधि उद्योगका समस्या, नेपाली औषधि उद्योगको अवस्था लगायत विविध समसामयिक विषयमा बिजपाटीले औषधि उत्पादन संघका अध्यक्ष महेश प्रसाद प्रधानसँग कुराकानी गरेको छ ।  

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

यो एक्स्पोको मुख्य उदेश्य के हो ?

“नेपाल फार्मा एक्स्पो २०२४” हाम्रो ९ औँ एक्स्पो हो । हामीले २ वर्षको अन्तरालमा फार्मा एक्स्पो गर्ने गरेका छौँ । नेपालमा उत्पादन भएका औषधिहरुलाई देखाउने, अन्य देशका औषधि बनाउने कम्पनीहरु नेपालमा ल्याएर प्रदर्शन गर्ने, औषधि बनाउने मेशिनरीको प्रदर्शनी गर्ने, र नेपाल बाहिर जतिपनि अनुसन्धान भएका अथवा काम भएका कयौँ राम्रा सामानलाई नेपालमा ल्याएर हाम्रा स्वास्थ्यकर्मीहरुलाई विकासक्रमबारे ज्ञान बढाउने हाम्रो मुख्य उद्देश्य रहेको छ । यो उद्देश्य पुरा गर्न हामीले बनाएको एउटा थलो एक्स्पो हो । 

एक्स्पोको मुख्य आकर्षण के के छन् ? अघिल्लो वर्ष भन्दा यस पटक के नयाँ छ ?  

हाम्रो एक्स्पोमा विभिन्न देशबाट औषधि क्षेत्रको नियामक सरकारी निकाय आउन थाल्नु भएको छ।  जाम्बिया, बंगलादेश लगायत देशबाट यो पटक पनि आउनु हुन्छ । उहाँहरुले हाम्रो अवस्था हेरेर हामीले कसरी औषधि उत्पादन गर्छौ भन्ने हेरेर नेपालको औषधि आफ्नो देशमा लैजानको लागि के कस्तो अवस्था छ भनेर बुझ्नलाई आउनु हुने छ । 

 त्यस्तै, अन्य देशका धेरै अनुभव बोकेका व्यक्तिहरु अथवा अनुसन्धान गरेका व्यक्तिहरुले आफुले अनुसन्धान गर्दा पाएको कुरालाई नेपाली औषधिकर्मीहरुलाई ज्ञान आदानप्रदान हुने छ। यो यस पटकको नयाँ कार्यक्रम हो ।  यो एक्स्पो मार्फत निर्यात गर्नको लागि वातावरण खोज्ने छौ। 

यो एक्स्पोमा आर्थिक कारोबार पनि हुन्छ कि हुदैन ? के के वस्तुको प्रदर्शनी रहन्छ ?

 हाम्रो एक्स्पोमा आर्थिक कारोबार केहि पनि हुँदैन । धेरैले जुत्ताको एक्स्पो गर्छन् , कोहिले गाडीको एक्स्पो गर्छन् । तर, हामीले यस्तो गर्दैनौ । हामीले औषधिबारे ज्ञान आदान प्रदान गर्छौ । यहाँ खरिद बिक्रि केहि पनि हुँदैन । ज्ञान आदान प्रदान गर्ने थलोको रुपमा यो थलो रहने छ । औषधि र औषधि बनाउने मेशिनरीको प्रदर्शन हुन्छ । सामान बेच्ने एक्स्पो यो होइन।  यो एक्स्पोमा औषधिको, मेशिनरीको, प्रविधिको  प्रदर्शनी हुन्छ । ’बि टु बि’ मार्फत भविष्यमा आथिक कारोबार हुन सक्छ। तर एक्स्पो मै आर्थिक कारोबार हुँदैन ।

मेलामा अन्तराष्ट्रिय कम्पनीहरु पनि आउँछन् ?

हामीले सञ्चालन गरेको यस एक्स्पोमा १६० ओटा स्टल रहने छन् । जसमा १३० ओटा कम्पनी विदेशबाट आउने भएका छन् । र नेपालबाट ३० ओटा स्टलहरु सहभागी हुनेछन् ।  

आम नागरिकलाई यसले के फाइदा हुन्छ ? यो एक्स्पोबाट कसले के लाभ पाउछन् ?

आम नागरिकलाई दुुई तरिकाले फाइदा हुन्छ । यस एक्स्पोमा स्वास्थ्य सँग सम्बन्धित ज्ञान लिन पाउछन् । कसरी औषधि बन्दो रहेछ भनेर हेर्न पाउँछन् । 

यसले चिकित्सकहरुलाई पनि धेरै फाइदा हुन्छ । उनीहरुलाई आफुले लेखेको औषधिहरु कस्तो गुणस्तरमा परिरहेको छ भनेर जान्ने अवसर प्राप्त हुन्छ  । कस्तो तरिकाले औषधिहरु बन्ने गर्दछन् भनि हेर्न पाउछन् । मिलिग्राम भन्दा पनि कमको मापन गर्ने मेशिनरीहरु प्रदर्शन हुन्छ, यसबाट चिकित्सकलाई आफुले सिफारिस गरेको औषधिमा कन्फिडेन्स बढ्छ ।    ठूला ठूला मेसिनहरुबाट औषधि बनाइन्छ ।  त्यसैले बाहिर कसरी औषधि बनाउदा रहेछन् भनेर चिकित्सकहरुलाई ज्ञान हुन्छ । 

विदेशका कुन कुन देशबाट, कस्ता कस्ता कम्पनीबाट औषधिको लागि कच्चा पदार्थ आउने रहेछ , जानकारी पाउने अवसर पनि यो एक्स्पोले दिनेछ ।

त्यस्तै, आम नागरिकले पनि औषधि बनाउदा कस्तो कस्तो मेसिन, प्रविधिको प्रयोग गरिदो रहेछ भनेर देख्न पाउछन् । र वैज्ञानिकहरुले पनि नेपालमा कस्तो कस्तो केमिकलहरु प्रयोग गर्दा रहेछन् भनेर थाहा पाउन सक्छन् । 

काठमाडौँमा नगरेर चितवनमा एक्स्पो गर्नुको कारण के हो ?

हरेक ठाउँको आफ्नै फाइदा र बेफाइदा हुन्छन् । काठमाडौँको सस्म्य के हो भने यहाँ उपयुक्त ठाउँ छैन । हामीलाई २ सय ओटा स्टल अट्ने ठाउँ चाहिएको हो । बाहिरबाट आउने सप्लायर्सहरुले ठाउँ खोज्छन् हामीले त्यो ठाउँ काठमाडौँमा पुर्याउन सकेनौं । त्यहिभएर एक्स्पो चितवनमा गर्न लागेका छौँ । हामीले काठमाडौँमा ७ ओटा एक्स्पो गरेका थियौँ । हामीले ८औँ एक्स्पो पनि चितवनमा गरेका थियौँ र ९औँ एक्स्पो पनि चितवनमा गरिरहेका छौँ । काठमाडौँमा भन्दा चितवनमा धेरै सुविधाहरु पाउन सकिन्छ । नारायणघाटमा एक्स्पो गर्ने स्थान नै छ । सहजै १६० वटा स्टल बनाउन सक्छौ । सुविधाको हिसाबले चितवन राम्रो हो तर, सिक्न चाहने मानिसहरु चाहि काठमाडौँमा धेरै हुन्छन् । 

नेपाली औषधिका समस्या के के छन् ?

नेपाली औषधिका समस्याहरु केहि पनि छैनन् । मानिसले हजारै समस्या देखाउने गर्छन् तर, यो क्षेत्रमा केहि पनि समस्याहरु छैनन् । हामीले नेपाल सरकारसँग आफ्नो कुराहरु राख्नु छ । त्यो कुराहरु राखेपछि नेपाल सरकारले पनि हाम्रा कुराहरु सुन्छ भन्ने हामीलाई आशा छ । किनकी सरकारले हामीलाई तपाईहरुका समस्याहरु के छन् ? कसरी काम गर्न सकिन्छ भनेर बोलाएको छ । साथै, स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयले पनि हाम्रा समस्याहरु लिएर आउन आग्रह गरेको छ । कठिन समय आएको भएर पनि सरकारले यस्तो गरेको हुन सक्छ । र यो क्षेत्रमा काम गरेर, विकास गरेर नै देखाउन भनेर हामीलार्ई बोलाएको जस्तो लाग्छ । तर, अहिलेको अवस्थामा सरकारले हामीसँग सहकार्य गर्ने बाटो खोजीरहेको छ । 

नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ कि सकिदैन ?  

आत्मनिर्भर भनेको आजको भोली हुने चिज हैन । सरकारको नीति अनुरुप आत्मनिर्भरतामा अग्रसर हुने हो । त्यसको निम्ति नेपाल सरकारले फार्मा क्षेत्रलाई कसरी लिन्छ भन्ने कुरासँग आत्मनिर्भरताको कुरा हुन्छ । जस्तैः अहिले सरकारले हामीसँग सहकार्य गर्ने चाहेको अवस्था छ । जुन सहकार्य गर्दा हामीले आफ्ना कुरा राख्छौँ । जसले गर्दा नेपालमा उत्पादन भएका औषधिहरु नेपालका संघ संस्थाहरुले नै प्रयोग गरिदियो भने आत्मनिर्भर हुन्छ । नेपालका आर्मी, प्रहरी, स्वास्थ्य सेवा विभाग, र सरकारी निकायले टेण्डरमार्फत औषधि लिंदा नेपाली उत्पादन लिए आत्मनिर्भरतर्फ अगाडी बढ्न सकिन्छ । 

नेपालमा उत्पादन भएको चिज नेपालमा नै प्रयोग गर्नु पर्यो, नेपालमा उत्पादन हुँदा हुँदै पनि अन्य देशबाट आयात गर्नु हुँदैन । आत्मनिर्भर भाषणले मात्र हुने हैन नेपाल सरकारले त्यो काम पनि गर्दिनु पर्छ । तिमिहरु जे सुकै गर्, मरे मर् भनेर छोड्दियो भने नेपाल आत्मनिर्भर हुँदैन । जसरी हामीले आफ्ना छोराछोरीलाई आत्मनिर्भर बनाउन  हुर्काउछौँ त्यस्तै गरि नेपाल सरकारले पनि औषधि क्षेत्रलाई हुर्काउनु पर्छ । हामीले पनि आत्मनिर्भर हुनको लागि कोशिस गरिरहेका छौँ । 

सरकारको कुन कुन नीति नियमले अप्ठेरो परेको छ ?  

नेपाल सरकारले नेपालमा उत्पादन भएका औषधिलाई टेन्डरमा लिदैनन् । अन्य देशमा गुणस्तर नभएका तर सस्तो पर्ने हुनाले अन्य देशबाट नै आयात गर्ने गरेका छन् । बाहिरबाट आउने औषधिको गुणस्तर हेरिदैन तर, हामीले उत्पादन गरेको औषधिको गुणस्तर हेरिन्छ । त्यसैले हाम्रो औषधि अलि महंगो पर्न जान्छ । गुणस्तर नभएको औषधि त १ पैसामा पनि पाउछ नि । 

नेपाल सरकारले नेपालमा उत्पादन हुने औषधिलाई अन्य देशबाट आयातमा रोक लगाउनु पर्छ । राष्ट्रले यति काम गर्दिन्छ भने राम्रो गुणस्तरको औषधि दिने दायित्व हाम्रो हो । औषधिको अभाव हुन नदिने दायित्व हाम्रो हो । उचित मूल्यमा औषधि प्रदान गर्ने काम हाम्रो हो । विश्वमा सबै भन्दा सस्तोमा औषधि बनाउने भारतले हो , हामीले भारत भन्दा पनि सस्तोमा औषधि उपलब्ध गराउने छौँ । तर, राष्ट्रले नेपाली उत्पादन लिनु पर्यो, त्यसपछि त उद्योग चलिहाल्छ नि । 

एक्स्पोमा आउने अवलोकनकर्तालाई के भन्न चाहनुहुन्छ ? 

स्वास्थ्यसँग समबन्धित क्षेत्रका सम्पूर्णलाई र आम नागरिकलाई म् एक्स्पोमा निमन्त्रणा दिन चाहन्छु  । सबैलाई आउनुहोस्, हेर्नुहोस, औषधिहरु कसरी भनिरहेका छन् अथवा कसरी बन्दा रहेछन् भन्ने विषयमा ज्ञान प्राप्त गर्नुहोस् । आफुलाई मनमा लागेका कुराहरु सोध्न पाउनु हुनेछ सोध्नुहोस् । कस्तो मेसिनले, कस्तो मानिसले कसरी बनाउने रहेछ भनेर अवलोकन गर्न पाउनु हुनेछ । औषधि बनाउनको लागि कच्चा पदार्थ कहाँ बाट ल्याउने रहेछ , कस्तो मानिसले बनाउदा रहेछन्, त्यो मानिसको ज्ञान कति हुँदो रहेछ भनेर थाहा पाउन यो एक्स्पो भ्रमण गर्नुहोला ।  एउटा चक्की उत्पादन गर्न कति मेहनत लाग्दो रहेछ भनेर प्रत्यक्ष हेर्न सक्नु हुनेछ। एक्स्पो अवलोकनपछि सबैले औषधि क्षेत्रबारे गर्व गर्न सक्नु हुनेछ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved