जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपिओ मंगलबार बिहान बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले मंगलबार बिहान १०:३० बजे आईपिओ बाँडफांड गर्न लागिएको जानकारी दिए । कम्पनीले मंसिर १६ गतेदेखि आईपिओ निष्काशन गरेको थियो ।
स्थानीय बासिन्दालाई शेयर निष्काशन गर्दा बिक्रि नभएको दुई लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ ।
आईपिओमा ८३ हजार ७७० जना आवेदकले ५९ लाख १७ हजार ५२० कित्ताको लागि आवेदन दिएको अन्तिम तथ्यांक रहेको छ । यस हिसाबमा सबै आवेदकले आईपिओ पाउने निश्चित भएको छ । कुल ८३ हजार ७७० जना आवेदकलाई पहिलो चरणमा १० कित्ताका दरले ८ लाख ३७ हजार ७७० कित्ता बाँडफाँट हुने छ । त्यस्तै बाँकि रहेको ७ लाख १७ हजार ४६३ कित्ता गोलाप्रथाबाट बाँडफांड हुने छ । यस हिसाबमा ७१ हजार ७४६ जनाले थप १० कित्ता पाउने छन् । अर्थात् ७१ हजार ७४६ जनाले कुल २० कित्ता शेयर पाउने प्रारम्भिक आंकलन गरिएको छ ।
क्यापिटलले कर्मचारीलाई छुट्याएको शेयरमा पुरै आवेदन नपरेको जनाएको छ । सो शेयर पनि सर्वसाधारणलाई नै वितरण हुने प्रावधान रहेकोले २० कित्ता शेयर पाउने लगानीकर्ताको संख्या थप केहि बढ्ने छ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रहेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० बर्ष रहेको छ ।