कमोडिटी ठगी प्रकरणका मुख्य योजनाकार मेक्सका सीइओ जितेशसहित ३ जना जेल चलान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 04:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नियम विपरित वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ परेका चार मध्ये मेक्सका सिइओसहित तीन जना पूपक्षका लागि कारागार चलान भएका छन् । उक्त ठगी प्रकरणका काठमाडौँ प्रहरीले दुई महिनाको अनुसन्धानपछि दिएको प्रतिवेदनका आधारमा सरकारी वकीलको कार्यालयले फागुन ३ गते ४१ जना विरुद्ध अभियोजन दर्ता गरेको थियो । उनीहरु विरुद्ध ठगी, सङ्गठित अपराध र राष्ट्र बैंक ऐन २०५८ को कसुर गरेको आरोप लगाइएको छ ।

उक्त ठगी प्रकरणमा ४१ मध्ये प्रहरीले चार जना मात्रै पक्राउ गर्न सकेको छ । कुल ५१ जना आरोपी रहेपनि प्रहरीले अरुको पहिचान गर्न नसक्दा ४१ जना विरुद्ध मात्रै काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको हो । उनीहरु विरुद्ध ६७ जनाले १० करोड ठगी भएको भनी उजुरी दिएका छन् । 

काठमाडौँ जिल्ला अदालतले ‘मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड’ (मेक्स)का प्रमुख कार्यकारी अधिकृत भारतीय नागरिक जितेश सुरेन्द्रण, मेक्सका डिजिएम नरेन्द्रप्रसाद भट्ट, स्पेल इनभेष्टमेन्ट प्रालिका सञ्चालक तथा १८ वटा कमोडिटी ब्रोकरका व्यवस्थापक सुनिल श्रेष्ठलाई कारागार चलान गरेको हो । कमोडिटी ब्रोकरका कर्मचारी कमला श्रेष्ठलाई तीन लाख धरौटीमा रिहा गरिएको छ । 

प्रहरीको अनुसन्धान अनुसार यस प्रकरणमा अहिलेसम्म मुख्य दोषी पाइएका भारतका तमिलनाडू स्थायी घर भइ हाल काठमाडौँमा बसोबास गरिरहेका जितेश सुरेन्द्रण सन २००० देखि २००७ सम्म भारतमा कमोडिटी मार्केटमा विज्ञको रुपमा काम गरेका थिए । उनी सन् २००७ मा नेपाल आएका थिए ।

त्यसयता उनी सन २००७ देखि २०१८ सम्म मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड र क्लियरिङ्ग ब्रोकर ‘हिमालयन कमोडिटी’ दुवै कम्पनीको प्रमुख कार्यकारी रहेको र सोहीअनुसार सेवा सुविधा पनि लिएका पाइएको छ । उनी नै यस ठगीका मुख्य योजनाकार रहेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

जितेश सुरेन्द्रणलाई नेपाली नागरिक नरेन्द्रप्रसाद भट्ट, सुनिल श्रेष्ठ र कमला श्रेष्ठले प्रत्यक्ष रुपमा सघाउँदै आएका थिए । नरेन्द्रप्रसाद भट्ट मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेडको डिजिएम र ‘हिमालयन कमोडिटी’का पब्लिक रिलेसन म्यानेजर तथा अर्का व्यक्ति सुनिल श्रेष्ठ १८ वटा ब्रोकरका व्यवस्थापक भएको खुलेका छ ।

अनुसन्धानको क्रममा (मेक्स)को नाममा करिब सात अर्ब सम्पति भएको भेटिएको र उनीहरुबाट १२ हजार नागरिक ठगीमा परेको खुल्न आएको समाचार बिजपाटीले यस अघि नै प्रकाशन गरेको थियो । उनीहरुले तीन अर्ब रक भने नेपाली नागरिकबाट सोझै ठगी गरेको खुलेको अनुसन्धानमा खटिएका ती प्रहरीले बताए । कुल सात अर्ब भने उनले कारोबार नै गरेको उनका ल्यापटपमा भेटिएको कारोबार विवरणले खुलेको छ । 

उनीहरुलाई गत पुसमा प्रहरीले पक्राउ गरेको थियो । झण्डै २ महिना लगाएर प्रहरीले अनुसन्धान गरी  सरकारी वकिलको कार्यालमया प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा फागुन ३ गते मुद्दा दर्ता भएको थियो । ५ र ४ गते उनीहरुमाथि बयान भएको र ८ गते सोमबार थुनछेक बहसपछि अदालतले तीन जनालाई कारागार पठाइएको हो । 

कसरी नेपालको कमोडिटी बजार पसे जितेश 

नेपालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भइ नेपाल सरकारलाई राजश्व तिरेर सन् २००७ सालदेखि नै वस्तु विनिमय बजार (कमोडिटी)ं सञ्चालनमा आएको थियो । 

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदाको पहिलो बजेटमार्फत वस्तु बजारलाई नियमन गर्ने व्यवस्था भएको थियो । सोही आधारमा २०७४ सालमा यससम्बन्धी ऐन प्रमाणिकरण भएर राजपत्रमा पनि प्रकाशित भएको थियो । 

त्यही आडमा जितेश सुरेन्द्रण नेपाल पसेर कारोबार अघि बढाएका हुन् । उनी यस विषयमा जानकार व्यक्ति पनि थिए । किनकी उनी कमोडिटी विज्ञका रुमपा त्यस अघि भारतका काम गरिसकेका व्यक्ति थिए ।

तर नेपाल सरकारबाट २०७४ सालमा एक निर्णय गरी नेपालमा वस्तु विनियम बजारलाई नियमन गर्नुपर्ने र नियमनको व्यवस्था नहुँदासम्म कमोडिटी बजार सञ्चालन नगर्न निर्देशन नै भएको थियो । 

राजपत्रमा आएलगत्तै नेपाल धितोपत्र बोर्डले अर्को व्यवस्था नभएसम्म (अनुमति दिने व्यवस्था नभएसम्म) वस्तु विनिमय बजारसम्बन्धमा कुनै पनि प्रकारको कारोबार नगर्न २०७४ सालमा सूचना सार्वजनिक गर्यो ।

त्यसपश्चात डिसीएक्स, एनडेक्स, कोमेन, राइजेललगायतका कमोडिटी एक्सचेन्जहरुले आफ्नो कारोबार बन्द गरे । तर मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)ले २०७९ मङ्सिर मसान्तसम्म पनि कारोबार जारी राख्यो । 

नियमनको दायरामा नआइ कारोबार सञ्चालन नगर्न २०७४ मा निर्देशन भए पनि पछिल्ला ५ वर्षसम्म मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)ले निरन्तररुपमा वस्तु विनिमय बजारको कारोबार जारी राख्दा राज्यको उपस्तिथिमा आशङ्का उब्जिएको छ । 

भारतीय नागरिक जितेश सुरेन्द्रणले नेपालमा कानुन विपरित कमोडिटी बजार सञ्चालन गरिरहँदा उनका अन्य सहयोगी वा ‘मालिक’को थिए भन्ने कुरा अहिलेसम्म बाहिर आउन सकेको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved