![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
नेपाल धितोपत्र बोर्डले अबको एक साता भित्र आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले आगामी मंगलबार वा बुधबारसम्ममा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिएका हुन् ।
बोर्डले गत वर्ष साउन १२ मा नीति कार्यक्रम सार्वजनिक गरेको थियो । यस पटक पनि सोहि समयको हाराहारीमा नीति कार्यक्रम सर्वजनिक गर्ने तयारी बोर्डले गरेको हो।
बोर्डले वैशाख १४ गते धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि राय सुझाव माग गरेको थियो । बोर्डले वैशाख मसान्तभित्र सुझाव दिन आग्रह गरेको थियो ।
बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले नीति कार्यक्रमको मस्यौदा तयार गर्छ । त्यसपछि बोर्डको संचालक समितिले पारित गरेपछि नीति कार्यक्रम सर्वजनिक हुन्छ।
नेपाल सरकारको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा प्राथमिकता र लगानीकर्ता लगायत अन्य सरोकारवालाहरूको अपेक्षा अनुरूप एवं कार्यान्वयन योग्य नीति तथा कार्यक्रम बनाउने बोर्डले जनाएको छ । नीति कार्यक्रममा बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियमनको पहुँच अभिबृद्धी, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजार सम्बन्धी विषयवस्तुहरू समावेश हुने बोर्डले उल्लेख गरेको छ। यस अघि सार्वजनिक भई प्रक्रिया मै रहेका विषय पनि नीति कार्यक्रममा समावेश हुने छन् ।