३ वर्षमा पनि बनेन बुक विल्डिङको अनलाइन प्रणाली, सर्वोत्तम सिमेन्टको आईपीओ 'कागजी प्रकिया'बाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 10:46:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बुक विल्डिङ निर्देशिका लागु भएको ३ वर्ष भइसक्दा पनि स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणालीको विकास नभएपछि नेपाल कै पहिलो बुक विल्डिङको आईपीओको सिलबन्दी बोलकबोलमार्फत हुने भएको छ। सर्वोत्तम सिमेन्टले मङ्सिर ६ गतेदेखि बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमामा मङ्सिर ६ देखि योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न लागेको हो। 

तर हालसम्म पनि  स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली विकास नभएकोले योग्य संस्थागत लगानीकर्ताले  सिलबन्दी बोलकबोलमार्फत अर्थात् कागजी प्रक्रिया मात्र नै धितोपत्रका लागि आवेदन दिने भएका छन्। बुक विल्डिङ निर्देशिका २०७७ मा स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्ने ब्यबस्था छ ।

तर निर्देशिका लागु भएको ३ वर्ष बितिसक्दा पनि  प्रणाली विकास भने हुन सकेको छैन । सुरुमै बुक विल्डिङको आईपीओ विवादित भएपछि स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली विकासको लागि कसैले पनि चासो दिएका छैनन्। सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्ने तयारी गरेपछि नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानाको छोरीको नाममा कम्पनीको शेयर खरिद गरिएको भेटिएको थियो । त्यस्तै नेप्सेका तत्कालिन सीइओ चन्द्र सिंह साउदको श्रीमतीको नाममा पनि कम्पनीको शेयर खरिद गरिएको भेटिएको थियो । सोहि कारण भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्यो भने चन्द्र सिंह साउदले राजिनामा दिए 

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि पनि लामो समयसम्म बुक विल्डिङ प्रक्रिया अगाडी बढेन । लामो समयसम्म बुक विल्डिङ आईपीओ प्रक्रिया अगाडी नबढेपछि स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणालीको विकासको लागि कसैले पनि चासो नदिएका हुन् 

कुनै समय मर्चेन्ट बैंकर्सहरुले यो प्रणाली विकास गर्ने भन्दै छलफल अगाडी बढाएका थिए । त्यस्तै सिडीएसले पनि यो प्रणाली आफुले विकास गर्ने भन्दै छलफल बढाएको थियो।  तर लामो समयसम्म बुक विल्डिङ आईपीओ प्रक्रिया अन्योलमा रहेको र कम्पनीहरुले सहजै बुक विल्डिङ विधिबाट आईपीओ निष्काशनको लागि अनुमति पाउने नदेखिएपछि मर्चेन्ट बैंकर्स र सिडीएस स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणालीको विकास गर्नबाट पछि हटेको स्रोतको दाबी छ । प्रणाली विकास गरेपछि खासै प्रयोग नहुने देखिएको र लगानी नै नउठ्ने भएपछि उनीहरु ब्याक भएको स्रोत बताउछन्

त्यस्तै बुक विल्डिङ निर्देशिकामा यो प्रणाली विकास गर्ने जिम्मेवारी नेपाल स्टक एक्सचेन्ज नेप्सेको हो। नेप्सेले पनि यस विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको थियो । तर बोर्डका उच्च तहका अधिकारीहरुले नै अझै बुक विल्डिङको आईपीओ अन्योल मै रहेको, आईपीओ आएपनि वर्षमा १-२ मात्र आईपीओ आउने भएकोले अनलाइन प्रणाली विकास नगर्न नेप्सेलाई भनेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अनौपचारिक छलफलमा धितोपत्र बोर्डले नै अनलाइन प्रणाली विकास गर्नको लागि हतार नगर्न र सुरुका केहि आईपीओ सिलबन्दी बोलकबोलमार्फत गर्न भनेकोले नेप्सेले पनि अनलाइन प्रणाली विकास गर्नको चासो नदिएको हो 

बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न अनुमति माग गरेको सर्वोत्तम सिमेन्टले अनुमति पाए पनि रिलायन्स स्पिनिङ मिल्सले अझै अनुमति पाएको छ । आईपीओ अनुमति पाउन ढिलाई हुने, अझै पनि केहि जटिलता रहेको, सुरु मै विवादित भएकोले कम्पनीहरु बुक विल्डिङ भन्दा पनि प्रिमियम मै आईपी निकाल्न जाने देखिएकोले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणालीको विकास गर्न कोहि पनि उत्सुक नभएका हुन् ।  बुक विल्डिङ निर्देशिका २०७७ मा  स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्ने ब्यबस्था गरेकोले पनि सबैलाई 'हाईसन्चो' भएको देखिएको छ ।

सर्वसाधारणलाई निष्काशन हुने आईपीओमा भने मेरो शेयर मार्फत अनलाइन बाट नै आवेदन दिन सकिने छ । 

मङ्सिर ६ गतेदेखि बुक बिल्डिङको पहिलो आईपीओ

सर्वोत्तम सिमेन्टले मङ्सिर ६ गतेदेखि बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्दै छ । कम्पनीले पहिलो चरणमामा मङ्सिर ६ देखि योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न लागेको हो। 

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा योग्य संस्थागत लगानीकर्ताले मङ्सिर १० गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ४०१ देखि ६०१.५० रुपैयाँसम्मको मूल्य सीमा तोकेको छ। यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने छन् । यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न पाउने छैनन् । 

 सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्ने भएको हो।  

योग्य  संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने ब्यबस्था छ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य  संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। 

सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो । १५ महिनापछि कम्पनीले अनुमति पाएको हो । 

ग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन आउँन आग्रह 

नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपीओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न अनुमति प्राप्त संस्थालाई दर्ता हुन आउँन आग्रह गरिसकेको छ । नेप्सेले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न अनुमति प्राप्त संस्थालाई दर्ता हुन आउँन र दर्ता भईसकेकाको हकमा नवीकरण दस्तुर तिर्न आग्रह गरेको हो ।

नेप्सेले दर्ता शुल्क १० हजार र नवीकरण शुल्क ५ हजार तोकेको छ । हाल नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न  १३५ संस्थाले अनुमति पाएका छन् ।   


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved