एनआईसी एशिया क्यापिटलले बिक्रीमा ल्याएको म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप गरिएसंगै इच्छुक लगानीकर्ताले मङ्सिर १८ गतेसम्म आवेदन दिन सक्ने छन् । सो मिति अगावै माग भन्दा बढीको आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर मङ्सिर १८ गते अगावै बिक्री बन्द गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले मङ्सिर ४ गते सोमबारबाट एनआईसी एशिया ग्रोथ फण्ड २ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको हो । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया ग्रोथ फण्ड २ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार १ अर्ब रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक एनआइसी एशिया बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस म्युचुअल फण्डको अवधि ७ वर्ष रहेको छ ।
हाल क्यापिटलले एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० फण्ड, र एनआईसी एशिया डाइनामिक डेट फण्ड योजना संचालन गरिरहेको छ । जस मध्ये एनआईसी एशिया डाइनामिक डेट फण्ड खुलामुखी योजना हो।