नयाँ स्टकको लाईसेन्स दिने बाटो खुलाउन फेरि पत्र लेख्ने सेबोनको निर्णय, 'साइन' हुन बाँकि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 07:03:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने बाटो खुलाउन आग्रह गर्दै नेपाल सरकारलाई फेरि पत्र लेख्ने निर्णय गरेको छ । आज बसेको बोर्डको संचालक समितिको बैठकले अर्थ मन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्ने निर्णय गरेको हो ।

यस अघि बोर्डले अर्थ मन्त्रालयलाई पत्र लेखेकोमा मन्त्रालयले थप स्पष्ट पार्न भन्दै बोर्डलाई पत्र फिर्ता गरेको थियो। मन्त्रालयको पत्र पछि बोर्डको आज बसेको संचालक समितिको बैठकले थप प्रष्ट पार्दै पत्र लेख्ने निर्णय गरेको हो। 

स्रोतका अनुसार निर्णय भए पनि संचालकहरुले निर्णयमा हस्ताक्षर भने गरेका छैनन् । यस पटक लामै पत्र लेखिएको र  पत्र तयार गर्न समय लागेकोले संचालकहरुले निर्णयमा हस्ताक्षर भने गरिनसकेको स्रोतले जनाएको छ ।  अब सो ड्राफ्टको प्रति सबै संचालकहरुलाई उपलब्ध गराईने छ। त्यसपछि संचालकहरुले पत्रको व्यहोरामा राय दिने छन् । त्यसपछि हस्ताक्षर भएर मात्र पत्र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्को कार्यालयमा जाने स्रोतले जनाएको छ । 

के छ ड्राफ्टमा ?

स्रोतका अनुसार सो ड्राफ्टमा अर्थ मन्त्रालयले नै नयाँ स्टक एक्सचेन्जको लाईसेन्स बोर्डले दिन सक्ने भनेर ५ वर्ष अगाडी नै पत्राचार गरेको, अर्थ समितिले यस अघि रोकेकोमा अर्थ समितिले पनि बाटो खुलाईसकेको, अदालतमा मुद्दा परेकोमा अदालतले रोक्नु नपर्ने भन्दै फैसला गरिसकेको, बोर्डले विगतमा गरेका अध्ययनले नयाँ स्टक एक्सचचेन्जको आवश्यकता देखिएको, ऐन र नियमावलीमा प्रष्ट व्यवस्था भएको, मन्त्रिपरिषदले नै नयाँ नियमावली जारी गरि नयाँ स्टक एक्सचेन्जको विषयमा थप प्रष्ट पारेको, सार्वजनिक सूचना जारी गरेर आवेदन समेत आह्वान भईसकेको र सबै तिरबाट बाटो खुलिसकेकोमा मन्त्रिपरिषदबाट पनि बाटो खुलाउन आग्रह गरिएको छ ।

बिहिबार वा शुक्रबारसम्ममा यो पत्र अर्थ मन्त्रालयमा पठाउने तयारी छ। अब फेरी यसकै लागि संचालक समितिको बैठक बस्नु नपर्ने भएकोले संचालकहरुले हस्ताक्षर गरेपछि पत्र पठाउने बोर्डको तयारी छ । कसैले फरक मत राखेमा सो सहित पत्र पठाउने तयारी भएको स्रोतको भनाई छ ।

यस अघि प्रधानमन्त्रीको निर्देशन अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । अब भने संसदको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडी बढाउँन बाटो खोलिदिएको छ । साथै सर्वोच्च अदालतले भने यस समबन्धमा परेको मुद्दाको रिट खारेज गर्दै नयाँ स्टक एक्सचेन्ज रोक्नु नपर्ने फैसला गरिसकेको छ । सो फैसलाको पूर्ण पाठ समेत आईसकेको छ ।

 नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल यहि पुस २० गते शुक्रबार सकिँदै छ । पुस २० सम्म २ वटा शनिवार बाहेक थप ३ वटा सार्वजनिक विदा रहेको छ । कार्यकाल सकिनु अगावै अध्यक्ष हमाल नयाँ स्टक एक्सचेन्जको लागि कम्तिमा आशय पत्र दिन चाहेका छन् । सोहि अनुसार समय धेरै नरहेकोले उनकै निर्णय बमोजिम पत्र लेख्दै प्रक्रिया खुलाईदिन आग्रह गरिएको बोर्ड स्रोत बताउछन् ।

नयाँ स्टक एक्सच्नेजको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ। हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुप, गोल्छा ग्रुप, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, भवानी राणा, खेतान ग्रुप, ज्योति ग्रुप, लक्की ग्रुप, दुगड ग्रुप लगायतको लगानी छ । 

त्यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समुह र गैर आवासीय नेपालीको पनि लगानी छ । कम्पनीमा एनआरएनका हालका अध्यक्ष कूल आचार्य, र बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने लगायतको लगानी रहेको छ । त्यस्तै  केडिया समूहका मनोज केडियाको लगानी रहेको छ । अग्नी ग्रुप, सिद्धार्थ ग्रुपको लगानी पनि यस कम्पनी रहेको बताईन्छ ।

अन्नपूर्ण एक्सचेन्जमा भने मुक्तिबोध न्यौपाने, सुरेन्द्रराज वाग्ले लगायतको लगानी छ । स्टक एक्सचेन्जमा व्यक्ति लगानी गर्न नपाइने भएकोले सबै लगानी संस्थागत हुन् । 

बोर्डले हिमालयन स्टक एक्सचेन्जलाई नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने लगभग निश्चित नै भईसकेको स्रोत बताउछन् । यदि हमाल नै अध्यक्ष् नदोहोरिएमा नयाँ आउने अध्यक्ष अर्कैलाई लाईसेन्स दिन सक्ने भएकोले जति सक्दो छिटो आशयपत्र दिने तयारीमा हमाल रहेको स्रोतको दाबी छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved