रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 10:14:59 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स स्पिनिङ मिल्सले  माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमामा माघ १० देखि योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न लागेको हो। 

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा योग्य संस्थागत लगानीकर्ताले माघ १४  गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको छ। यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने छन् । यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न पाउने छैनन् । 

 सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार कम्पनीले कुल निष्काशन गर्न लागिएको शेयर १९ लाख २६ हजार ६ सय कित्ताको ४० प्रतिशतले हुन आउने शेयर ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्ने भएको हो।  

योग्य  संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने ब्यबस्था छ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य  संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले विदेशमा रहेका नेपाली श्रमिक र त्यसपछि  सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन अनुमति प्रदान गरेको हो । 

पवन गोल्यान यस कम्पनीका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका संचालक हुने भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध संचालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ । कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ । 

रिलायन्स स्पिनिङ मिल्स  बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  दोस्रो कम्पनी बनेको छ ।सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved