धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि दरखास्त आह्वान, १५ दिनको म्याद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 08:14:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले दरखास्त आह्वान गरेको छ । बोर्ड अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले आज फागुन १६ गते योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । 

समितिले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात् फागुन ३० गतेसम्म आवेदन दिन आग्रह गरेको छ । समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि मंगलबार कार्यविधि तयार पारेको थियो ।  समितिले 'नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८० ' तयार पारेको हो । समितिले कार्यविधि तयार पारे संगै  समितिले आज कार्यविधिको व्यवस्था बमोजिम धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि आवेदन खुलाएको हो। 

फेरियो मापदण्ड 

सिफारिस समितिले कार्यविधिमा उम्मेदवारहरुलाई अंक दिने मापदण्ड फेरेको छ ।  यस अघि धितोपत्र बोर्डमा रमेश हमाल नियुक्त हुँदा बनेको कार्यविधिमा उम्मेदवारको लागि कुल पूर्णाक १५० तय गरिएको थियो ।  यस पटक भने कार्यविधिमा कुल पूर्णाक १०० तय गरिएको छ ।   

नयाँ बनेको कार्यविधिमा व्यावसायिक कार्ययोजनाको लागि ४० अंक, शैक्षिक योग्यताको लागि १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको लागि १८ अंक र अन्तर्वार्ताको लागि ३० अंक गरि कुल १०० अंकमा उम्मेदवारको मुल्यांकन गरिने उल्लेख छ। यस पटक सिफारिस समितिले शैक्षिक योग्यता भन्दा व्यावसायिक कार्ययोजनालाई बढी महत्व दिएको छ । २०७८ सालमा बनेको कार्यविधिमा  कुल अंकमा शैक्षिक योग्यता, अनुभव र तालिमलाई ३६.६६ प्रतिशत भार दिईएको थियो। अहिले भने  शैक्षिक योग्यतालाई १२ प्रतिशत भार दिईएको छ । 

व्यावसायिक कार्ययोजनाको लागि तय भएको ४० अंक मध्ये पूँजी बजार सम्बन्धी ज्ञानको स्पष्टता र गहिराइ तथा नेपाल धितोपत्र बोर्डको यथार्थ अवस्था बारेको जानकारीलाई १० अंक, नेपालको पूँजी बजारको वर्तमान अवस्था, चुनौतीहरू तथा सम्भावनाका क्षेत्रहरूको पहिचान एवं विश्लेषणलाई ५ अंक,  पूँजी बजारको विकास तथा नेपाल धितोपत्र बोर्डको नियामकीय भूमिका तथा कार्यसम्पादनको प्रभावकारिता अभिवृद्धिका निम्ति पहिचान गरिएका सुदृढीकरणका उपायहरू एवं प्रस्तुत गरिएको कार्ययोजना तथा समयसारिणीको औचित्यता, सान्दर्भिकता तथा व्यावहारिकतालाई १० अंक,  विश्लेषणात्मक क्षमता तथा तार्किकताको लागि ५ अंक र सृजनशीलता , विश्वसनीयता तथा वैधतालाई ५ अंक र लेखनको ढाँचा तथा लेखन शैलीलाई ५ अंक दिइने उल्लेख छ। 

त्यस्तै यस गाही अन्तर्वाताको भार १३.३३ प्रतिशत थियो भने अहिले ३० प्रतिशत भार दिइएको छ । अहिले अन्तर्वाताको ३० अंक मध्ये नेतृत्व क्षमता (व्यक्तित्व, आत्मविश्वास, समस्या समाधान गर्न सक्ने क्षमता, तार्किकता, सृजनशीलता इत्यादि)लाई १० अंक, विषयवस्तुको ज्ञान र उद्देश्यको स्पष्टता तथा प्रतिबद्धतालाई १० अंक र उठान गरिएका विषय सम्बोधन गर्न सक्ने क्षमतालाई १० अंक दिइने उल्लेख छ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्नको लागि  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।  सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्यमा छन्।

  योग्यता विवरण 

१. धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरके लब्ध प्रतिष्ठित व्यक्ति ।


२. धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम देहायको योग्यता भएकोः

(क) नेपालको नागरिक भएको,

(ख) उच्च नैतिक चरित्र भएको,

(ग) धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य,व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल

गरेको, र

(घ) सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको ।


३. अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको, तथा देहायको अयोग्यता नरहेकोः

(क) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको,

(ख) प्रचलित कानून बमोजिम कालोसूचीमा समावेश भई त्यस्तोसूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको,

(ग) कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको,

(घ) मानसिक सन्तुलन ठीक नभएको । 


आवेदन पेश गर्ने प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजातः 


आवेदनसाथ अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित “नेपालधितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८०” को दफा ३ बमोजिमको कागजात तथा विवरणहरू आवेदक स्वयम्ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नु पर्नेछ ।

 आवेदनसाथ कार्यविधिको दफा ५ बमोजिमको व्यावसायिक कार्ययोजना चार प्रति खामवन्दी गरी पेश गर्नु पर्नेछ । खामवन्दी प्रस्तावको खामबाहिर आवेदकको नाम र “नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना“ उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ ।

यस्तो छ कार्यविधि 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved