उपत्यका पछि अब गोरखालाई लोडसेडिङ मुक्त बनाउने उर्जा मन्त्री जनार्दन शर्माले बताएका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्ड संगै गोरखा आएका मन्त्री शर्माले गोरखाको मुच्चोकमा कालिका हाइड्रो पावरमा उत्पादन भएको ६ मेगावाटको बिधुतलाई गोरखामा जोडिने र बाँकी रहेको बिधुतलाई केन्द्रिय प्रशारणको लाइनमा जोडिने बताएका हुन । शुक्रबारै उक्त हाइड्रो पावरको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका थिए ।
उज्यालो नेपाल बनाउने अभियान अन्तरगत गोरखालाई पनि पहिलो चरणको योजनामा राखेका काम अघि बढाईएको बताउदै मन्त्री शर्माले बुढिगण्डकी जलबिधुत आयोजनालाई सहयोग गर्न सम्पुर्ण गोरखालाई आग्रह समेत गरेका छन् ।
‘गोरखाको चिनारी हो गोरखा महोत्सव, गोरखाको गौरव यो जनताको उत्सब’ भन्ने मुल नाराका साथ पौष ८ गतेदेखी नवौं गोरखा महोत्सव एवम पश्चिमाञ्चल क्षेत्रीय कृषि, पर्यटन तथा ब्यापार मेला सुरु भएको छ । गोरखा सदरमुकाम स्थित खेलकुद मैदानमा सुरु भएको महोत्सव नौ दिन सम्म चल्ने छ ।
गोरखा उधोग बाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको महोत्सव उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहित संघिय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डे, भुमीसुधार मन्त्री बिक्रम पाण्डे, उर्जा मन्त्री जनार्दन शर्मा, पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उधोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मर्राका लगायतको उपस्थिती रहेको थियो ।
संघका अध्यक्ष श्रवण जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिना अक्सिजन हिमाल आरोहण गर्ने गोरखा छेकम्पारकी फुञ्ज्यो लामालाई सम्मान समेत गरिएको थियो ।