इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–० ले हराएको छ । टोटनह्याम्पलाई हराउदै युनाइटेडले महत्वपूर्ण जित निकालेको हो । यो सिजनका सर्वाधिक गोलकर्ता स्टार स्ट्राइकर ह्यारी केन बिना मैदान उत्रिएको टोटनइह्यामले युनाइटेडलाई निकै कडा चुनौती दिएको थियो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा एन्थोनी मार्शलले ८१ औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । थप खेलाडीको रुपमा मैदान छिरेका मार्शलले टिमका लागि महत्वपूर्ण गोल गरेका हुन् । जितपछि १० खेलबाट २३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम रहन सफल भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २८ अंक छ । २० अंकसहित टोटनह्याम तेस्रो स्थानमा यथावत रहेको छ ।