डेनमार्कका नेपालीहरुमा क्रिकेटले खुसि ल्याएको छ। कुनै बेला भेटघाट र रमाइलोका लागि स्थापना भएको नेपालीहरुको क्रिकेट क्लबले डेनमार्कको डेनिस क्रिकेट संघको दोस्रो डिभिजनमा प्रवेश पाउँदा त्यहाँका नेपालीहरु हर्षित र गौरवान्वित भएका छन।
बिद्यार्थी हुँदा भेटघाट र रमाइलोका लागि स्थापना भएको क्लब छोटो अवधिमा नै व्यवस्थित क्रिकेट क्लब बन्ने अवस्थामा पुगेको छ। सन २०१६ मा डेनिस क्रिकेट संघमा दर्ता भई व्यवसायिक रुपमा क्रिकेट खेल्दै गरेको नेपालीहरुको क्रिकेट क्लब डिभिजन ४ देखि डिभिजन ३ मा स्तरोन्नति हुँदै डिभिजन २ मा प्रवेश गर्न सफल भएको छ।
१३ मध्ये ११ खेलमा जित हात पारेको 'हिमालयन स्पोर्ट्स क्लब' ले उत्कृष्ट प्रदशन गर्दै प्रशंसा र सराहनाका साथसाथै तेस्रो डिभिजनमा उत्कृष्ट अनुशासित टिमको उपाधी समेत जितेको क्लबका उपकप्तान शुभाषिस ओझाले बताए।
'सन २०१६-१७ मा हामीले डिभिजन तीन अन्तर्गत कोपेनहेगनमा १४ क्लबसंग प्रतिस्पर्धा गर्यौं' ओझाले भने, 'अर्को बर्ष डिभिजन दुईमा ८ बलिया क्लबसंग प्रतिस्पर्धा गर्दैछौं।'
आगामी दिनमा खेलाडी र क्लब व्यवस्थापनका लागि कठिन रहेको बताउदै ओझाले भने, 'हामी चुनौतिपूर्ण समयबाट गुज्रिदै छौं, डेनमार्कका फरक फरक शहरहरुमा खेल्न जानुपर्ने हुन्छ, एकातर्फ फिटनेश लेभल व्यवस्थापन गर्नुपर्ने हुन्छ भने अर्को तर्फ कलेज र कामको समेत तालमेल मिलाउनु पर्नेहुन्छ, त्यसमा पनि पिच र अम्पाईर खर्चले आर्थिक चुनौती समेत थपिएको छ।'
त्यस्तै क्लब संयोजक कृष्ण चन्द आफ्ना पुराना संघर्षका दिन सम्झिदै भन्छन,'सुरुवातमा जब हामीले क्लब दर्ता गर्ने प्रयास गर्यौं, हामि तिरस्कृत भयौं र हाम्रो क्षमताप्रति प्रश्न उठाइयो, तर हाम्रो मेहनतले उनीहरुको सोच परिवर्तन गर्न सफल भएका छौं' उनले अगाडी थप्छन, 'खेलकुदमा केन्द्रित स्थानीय मिडियाले हाम्रो उपलब्धिबारे 'हिमालयबाट आएका साना मान्छेहरु' भन्ने शिर्षकमा समाचार लेख्यो, त्यसपछि क्रिकेट मैदानमा हाम्रो उपस्तिथी समेत देखियो।'
क्लब कोषाध्यक्ष सुशिला हमालले आगामी दिनमा वित्तिय समस्याहरु आउन सक्ने बारे जानकारी गराएकी छिन। 'ती दिनहरु आउंदै छन जब हामीले वित्तीय चुनौतीको सामना गर्नुपर्ने हुन्छ, तेस्रो डिभिजनमा खेल्दै गर्दै हाम्रो खर्च २५ हजार क्रोनर अर्थात ४ लाख नेपाली रुपैयाँ परेको थियो' हमालले भनिन,'अर्को बर्ष जब हामीले दोस्रो डिभिजन अन्तर्गतको खेल खेल्दै हुनेछौं,हाम्रो खर्च ३ गुणाले बढेर ८० हजार क्रोनर अर्थात नेपाली १३ लाख रुपैयाँ पुग्नेछ।'
स्थानीय सरकारी संस्थाले अहिलेसम्म खेल मैदान र चेन्जिङ्ग रुमको सुविधा निशुल्क प्रदान गरिरहेको छ। महासंघले खेलाडीहरुलाई कोचिङ्ग तालिमहरु समेत प्रदान गरिरहेको छ। 'महासंघले हामि पहिलो डिभिजनमा पुगेपछि मात्र आर्थिक सहयोग गर्नेछ, त्यो बेलासम्म हामी आफै खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ तर अर्को बर्ष हामीलाई सम्भवत: बढी सहयोग चाहिनेछ' हमालले भनिन।
क्लबका कप्तान विप्लव अग्रहरीले खेलाडीहरुको मेहनत र योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्तरुपमा प्रतिस्पर्धाहरुमा सहभागी हुने बताए । 'व्यस्त तालिका र चुनौतीका बावजुद पनि खेलाडीहरु प्रतियोगितामा भाग लिई उत्कृष्ट खेल प्रदशन गर्न उत्सुक छन्' उनले भने।
हाल क्लबसँग २५ जना खेलाडीहरु छन भने यो क्रम बढिरहेको छ। गत वर्ष सबल क्षेत्रीलाई राईजिङ्ग ट्यालेन्टको उपाधी दिईएको थियो भने कुलश अधिकारीलाई क्लबको उत्कृष्ट बलरको उपाधी दिईयो । त्यसैगरि सुजन अघिकारीलाई वेष्ट फिल्डर र विकास तिमिल्सिनालाई बेष्ट अलराउण्डरको उपाधी प्रदान गरिएको थियो ।
क्बलले आगामी दिनमा स्पोन्सर खोज्ने, तालिम कार्यक्रमहरु संचालन गर्ने लगायतका योजनाहरु लिएको छ। मेहनत र कडा परिश्रमका साथ नेपाली खेलाडीहरु डेनमार्क क्रिकेटमा पहिचान बनाउदै छन। 'खेलाडीहरुले सम्पूर्ण नेपालीहरुलाई गौरवान्वित बनाएका छन, उपलब्धिमा रमाउदै साथ दिने समय आएको छ' कप्तान अग्रहरीले बताए।