फुटबलको विश्व प्रशासकीय निकाय- फिफाले फुटबल प्रतियोगिताहरुमा भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधि प्रयोग गर्ने विषय सर्वसम्मत पारित गरेको छ। स्वीट्जरल्याण्डको ज्यूरिकमा भएको फिफाको ऐतिहासिक बैठकले त्यस्तो निर्णय गरेको हो। उक्त बैठकमा अन्तर्राष्ट्रिय फुटबल असोसिएसन बोर्डका सदस्य राष्ट्रहरु माझ भीएआर प्रविधिको प्रभावकारिताबारे विश्लेषण प्रस्तुत गरिएको थियो।
खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटनाहरु जस्तै विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन भीएआर प्रविधि सहयोगी हुने बताइएको छ। विवाद भएमा भिडियो हेरेर खेल बारे निर्णय लिन सो प्रविधि सहयोगी हुनेछ। खेलको दृश्यहरु हेरेर प्रमुख रेफ्रीलाई सहायक रेफ्रीहरुले उनले लिएका निर्णयबारे समीक्षा गर्न सहयोग गर्नेछन्। केही घरेलु इंग्लिश फुटबल प्रतियोगितामा भीएआर प्रविधिको परीक्षण भएको छ। इटली र जर्मनीमा पनि यसको प्रयोग भइरहेको छ।
सो प्रविधि लागू गर्नका लागि अब फुटबल लिग वा प्रतियोगिता आयोजकहरुले बोर्डमा आवेदन दिनुपर्छ। आगामी जुन-जुलाई महिनामा रुसमा आयोजना हुन गइरहेको विश्वकप फुटबल प्रतियोगितामा सो प्रविधि प्रयोग हुने भनिएको छ तर त्यसबारेको निर्णय मार्च १६ मा हुने बैठकमा गरिने फिफा प्रमुख जानी इन्फन्टिनोले जनाएका छन्। भीएआर प्रविधि अहिलेको समयमा फुटबलको हिस्सा भएको इन्फन्टिनोको भनाइ छ। उक्त प्रविधिको प्रयोगप्रति आफू सकारात्मक भएको पनि उनले बताए।
गोल भए, नभएको, पेनाल्टी दिने वा नदिने, खेलाडीलाई रातो कार्ड दिइहाल्ने वा पहेलो कार्ड दिने भन्नेबारे खेलको भिडिओ हेरेर निर्णय लिइने बताइएको छ।
तर भीएआर प्रविधिको सिद्धान्त भनेको कम भन्दा कम हस्तक्षेप गर्नु र खेलका क्रममा हुने त्रुटिपूर्ण निर्णय हुन नदिन तथा निष्पक्ष खेल गराउनु भएको अन्तर्राष्ट्रिय फुटबल असोसिएसन बोर्डले बताएको छ । सो प्रविधिको प्रयोग पहिलो पटक सन् २०१६ डिसेम्बर मा गरिएको थियो। भीएआर प्रविधि प्रयोग गरिने निर्णयले फुटबल खेलको नयाँ युगको प्रतिनिधित्व गर्ने फिफा प्रमुख इन्फन्टिनोले बताउँछन्। तर सो प्रविधिले खेलमा सुस्तता निम्त्याउने र अन्योल पैदा गरिने कतिपय आलोचकहरुको भनाइ छ। भीएआर प्रविधिको विश्वव्यापी परीक्षण गत दुई वर्षदेखि भइरहेको छ।