कलर्स एक्स फ्याक्टरले जारी एभरेस्ट प्रिमियर लिग टि २० प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा कलर्सले सगरमाथा लेजेण्डसलाई ९ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिंग गरेको कलर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन जोड्यो । कलर्सका लागि कप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामी मगरले अर्ध शतक प्रहार गरे । मल्लले ५२ तथा मगरले ५६ रन जोडे । त्यस्तै हरीशंकर शाहले १३, फजलयर रहमानले २१ तथा योगेन्द्र कार्कीले २१ रन जोडे । सिद्दान्त लोहनी र अमर रौटेला बहने समान ३ रन मै आउट भए ।
सगरमाथाका तर्फबाट महबुब आलम र बिक्रम सोबले समान २-२ तथा राहुल बिश्वकर्मा र राहुल श्रीवास्तवले समान १-१ विकेट लिए ।
१६९ रनको लक्ष्य पाएको सगरमाथा लेजेण्डसले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५९ रन मात्र जोड्यो । सगरमाथाका लागि बिनोद भण्डारीले ४८, सुनिल धमलाले ४६, अनिल मण्डलले १४, मेहबुब आलमले २३ तथा बिक्रम सोबले ११ रन जोडे ।
जितसंगै कलर्सले महत्वपूर्ण २ अंक जोडेको छ । उता तेस्रो हार बेहोरेको सगरमाथा भने अंक बिहिन छ ।