स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई सेल्टा डी भिगोले ४–३ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २२ औं मिनेटमा पिओने सिस्टोले गोल गर्दै सेल्टा डी भिगोलाई सुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा लागो एस्पासले गोल गर्दै अग्रता दोब्बर पारे । ३३ औ मिनेटमा मिनेटपछि बार्सिलोनाका जेरेमी म्याथ्युले आत्मघाती गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३-० ले पछि पर्यो ।
५८ औ मिनेटमा जेराड पिकेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिस गरे । ६४ औ मिनेटमा पाएको पेनाल्टीमा नेमारले गोल गर्दै गोल अन्तर कम गरे । तर ७७ औ मिनेटमा पाबलो हरनानडेजले गोल गर्दै खेललाई ४-२ को स्थितिमा पुर्याए । जेराड पिकेले ८७ औ मिनेट आफ्नो व्यक्तिगत गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन । अन्त्यमा बार्सिलोना ४-३ गोल अन्तरले पराजित भयो । बार्सिलोना स्टार खेलाडी लोयोनल मेस्सी बिना मैदान उत्रेको थियो ।
लिगमा बार्सिलोनाको सिजनको यो दोस्रो हार हो । हार संगै बार्सिलोना अंक तालिकाको चौथो स्थानमा झरेको छ । शिर्ष ३ मा क्रमश : एथलेटिको म्याड्रिड, रियल म्याड्रिड र सेभिल्ला छन् ।