बार्सिलोनाका लियोनल मेस्सीले करियरको छ सयौँ गोल पूरा गरेका छन् । युरोपियन च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनल चरणको पहिलो लेगको खेलमा टोली लिभरपुलमाथि ३–० को शानदार जित निकाल्ने क्रममा मेस्सी एक्लैले बार्सिलोनाका लागि दुई गोल गरे । यो सँगै उनको गोल संख्या छ सय पुगेको छ ।
सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका १५ वर्षको अवधिमा छ सय गोल पूरा गरे ।
यससँगै मेस्सी आफ्ना खास प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोभन्दा कम खेलबाट छ सय गोल गर्ने खेलाडी बनेका छन् । हाल इटालियन युभेन्टसबाट खलिरहेका रोनाल्डोले गत शनिबार मात्रै सिरी ‘ए’ मा इन्टर मिलानविरुद्ध १ गोल गर्दै करिअरको छ सयौँ गोल पूरा गरेका थिए ।
त्यसको ५ दिनपछि मेस्सीले पनि करिअरको छ सयौँ गोल पूरा गरेका हुन् । एकअर्काका खास प्रतिस्पर्धी मानिने दुवै खेलाडीले एक साताको बीचमा क्लब करिअरको छ सयौँ गोल पूरा गर्दा चाँडो छ सय गोल भने मेस्सीले गरे ।
३१ वर्षीय मेस्सीले बार्सिलोनाका लागि कूल ६८३ खेलबाट छ सय गोल पूरा गरेका हुन् । तर, ३४ वर्षीय रोनाल्डोलाई विभिन्न क्लबबाट गरी छ सय गोल पूरा गर्न ८०३ खेलसम्म पर्खनुपरेको थियो । मेस्सीले रोनाल्डोभन्दा १२० कम खेल खेलेर ६०० गोल पूरा गरे ।
रोनाल्डो र मेस्सीबीच उमेर ३ वर्षको अन्तर छ । रोनाल्डोले पोर्चुगिज स्पोर्टिङ, इंग्लिस म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल मड्रिड र इटालियन युभेन्टसबाट खेले भने मेस्सीले हालसम्म एक मात्रै क्लब बार्सिलोनाबाट खेलिरहेका छन् ।