कोरोना भाइरस संक्रमाण जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेलहरु रोकिने भएको छ ।पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समिति कास्कीले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोनाको सङ्क्रमणबाट जोगिन एक हप्ताका लागि रङ्गशाला हाताभित्र सञ्चालन हुँदै आएका खेल गतिविधि, अभ्यास तथा अन्य प्रशिक्षण रोक लगाइएको हो ।
जिल्ला खेलकूद समितिका कार्यालय प्रमुख प्रकाश बरालले राष्ट्रिय खेलूकद परिषद्(राखेप)को निर्देशनअनुसार कोरोनाबाट सचेत र सजग रहन तथा भीडभाड हुन नदिन सबै खेलकूदकर्मीलाई आग्रह गर्दै सो निर्णय गरिएको जानकारी दिए।
राखेपले दुई साताअघिनै भीडभाड हुने कुनै पनि खेलकूद गतिविधि नगर्न सम्बन्धीत निकायलाई सूचना दिएको थियो । यहीबीचमा पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भने सञ्चालन भएको थियो । रङ्गशालाभित्र फुटबल, भलिबल, क्रिकेट, आर्चरी, टेनिस, ब्याडमिन्टनलगायतका खेल पूर्वाधार एकै थलोमा रहेकाले खेलाडी तथा खेलकर्मीको भीडभाड हुने गरेको छ । अहिले यहाँ रङ्गशालाभित्र निर्माणाधीन फुटबल रङ्गशालाको कामसमेत प्रभावित बनेको छ ।