
स्लो ओभर रेटमा बलिङ गरेको अभियोगमा विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ अर्थात १९ लाख २० हजार नेपाली रुपैयाँ जरिवाना गरिएको छ।
रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान समेत रहेका कोहलीलाई इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको अभियोगमा जरिवाना लगाइएको हो ।
यस सिजनमा स्लो ओभर रेटका कारण कोहलीबाहेक अरु कुनै पनि कप्तान जरिवानामा परेका छैनन् । बिहीबार भएको खेलमा बैंगलोरले पञ्जाबसंग लज्जास्पद हार व्यहोरेको थियो ।
आइपीएलको १३ संस्करण अन्तर्गत बिहीबार राति बैंगलोरले आफ्नो दोस्रो खेल खेलेको हो । उक्त खेलमा बैंगलोर पञ्जाबसंग ९७ रनले हारेको थियो । टस जितेको बैंगलोरले पञ्जाबलाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो इनिङमा ब्याटिङ गर्न पाएको पञ्जाबले २०६ रनको टार्गेट दिएको थियो । जहाँ पञ्जाबका क्याप्टेन केएल राहुल एकलैले १३२ रन बनाएका थिए । राहुलले ६९ बलमा ७ छक्का र १४ चौकाको मद्दतले १३२ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको बैंगलोर १०९ रनमा नै समेटियो । उक्त खेलमा क्याप्टेन कोहली मात्र १ रन बनाएर पेबिलियन फर्किएका थिए । उनले ५ बलको सामना गरेका थिए ।
रोमाञ्चक कुरो त के हो भने राहुल एकलैले जति रन बनाए बैंगलोर त्यति रन पनि बनाउन सकेन् । राहुलले बनाएको भन्दा २३ रन कममा नै समेटियो बैंगलोर ।
आगामी सोमबार बैंगलोरले यस सिजनको आफ्नो तेस्रो खेल खेल्दै छ । उक्त खेलमा बैंगलोर मुम्बई इण्डियन्ससंग भिड्दै छ ।