
नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नयाँ टिमबाट अष्ट्रेलियाको बिग ब्यास लिग खेल्ने भएका छन् । लामिछानेले होबर्ट हरिक्यान टिमबाट लिग खेल्ने भएका हुन् ।
यस अघिको २ सिजन मेलबर्न स्टार्सबाट खेलेका उनलाई स्टार्सले अनुबन्धन गरेको थिएन । त्यसपछि उनलाई होबर्टले अनुबन्धन गरेको हो । होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफिथले सन्दिप धेरै सम्भावनायुक्त खेलाडी भएकोले उनको अनुबन्धन टोलीको लागि एक्स फ्याक्टर हुने बताएका छन् । सन्दिपले खेलको कुनै पनि चरणमा बलिङ गरेर आफ्नो रहस्यमयी स्पिनले खेलको दिशा नै परिवर्तन गर्न सक्ने मुख्य प्रशिक्षक ग्रिफिथले बताएका हुन् ।
लामिछाने आगामी जनवरीबाट टोलीमा आवद्द हुने छन् । यस अघिका २ सिजनमा सन्दिपले २० खेल खेलेका थिए भने २६ विकेट लिएका थिए ।
सन्दिपलाई अनुबन्धन गरेसंगै होबर्टको टोली पुरा भएको छ । होबर्टले अहिलेसम्म लिग जितेको छैन । सातौ सिजनमा फाइनल खेलेको होबर्ट उपविजेता मै सिमित भएको थियो । गत सिजन लिगमा चौथो हुदै प्ले अफ पुगेको होबर्ट एलिमिनेटरमा पराजित भएको थियो ।