इटालीको अपराजित यात्रामा ‘ब्रेक’ लगाउँदै स्पेन नेसन्स लिगको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 09:44:02 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन च्याम्पियन इटालीको अपराजित यात्रामा पुर्णविराम लगाउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ ।

सान सिरोमा बुधबार राति भएको खेलमा स्पेनले १० खेलाडीमा सिमित युरोपियन च्याम्पियन इटालीलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गरे । घरेलु टोलीका लोरेन्जो पेलिग्रेनीले सान्त्वना गोल फर्काए ।

लियोनाद्रो बोनुची दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ४२औं मिनेटमा इटाली १० खेलाडीमा समेटिन पुगेको थियो । खेलको १७औं मिनेटमा फेरान टोरेसको गोलबाट स्पेनले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोरेसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

सन् २०१८ सेप्टेम्वर १० मा नेसन्स लिगमै पोर्चुगलसँग १–० ले पराजित भएयता इटाली ३८औं खेलमा पराजित हुन पुगेको हो । जसमा २८ जित र ९ बराबरीको नतिजा रहेको थियो । यो अवधिमा इटालीले ९३ गोल गर्दा १२ गोल मात्रै खाएको थियो ।

गए रातीको खेलबाट स्पेनले गत जुन जुलाईमा भएको युरोकपको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भोगेको हारको बदला लिन सफल भएको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि इटालीले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै युरोको फाइनलमा स्थान बनाएको थियो । फाइनलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी भएपछि इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमै ३–२ ले पराजित गर्दै इटाली युरो च्याम्पियन बनेको थियो ।

अब स्पेनले बेल्जियम र फ्रान्सबीचको विजेतासँग उपाधिका लागि १० अक्टोवरमा प्रतिस्पर्धा गर्नेछ । बेल्जियम र फ्रान्सबीचको दोस्रो सेमिफाइनल आज राति हुँदैछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved