![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा युएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन जोड्दै नेपाललाई ३११ रनको लक्ष्य दिएको हो ।
युएईको लागि आशिफ खानले सर्वाधिक १०१ रन बनाए । उनले विस्फोटक ब्याटिंग गर्दै ४२ बलमै १०१ रन बनाएर नट आउट रहे । त्यस्तै मोहम्मद वासिमले ६३ रन तथा अरविन्दले ९४ रन बनाए ।
आज नेपाली बलरहरु महँगा सावित भएका छन् । आज सन्दिप लामिछानेले आफ्नो १० ओभरमा ८० रन खर्चिए। सोमपाल कामीले ९ ओभरमा ७४ रन तथा गुलशन झाले ९ ओभरमा ६३ रन खर्चिए ।
आजको खेलमा जित निकाल्नको लागि नेपालले हालसम्म कै बढी रन बनाउनु पर्ने छ । यस अघि नेपालको उच्च स्कोर २९७ थियो । आज युएईले ३११ रनको लक्ष्य दिएकोले नेपालले आज जित निकाल्न हालसम्म कै उच्च स्कोर बनाउनु पर्ने छ । युएई आज नेपाल विरुद्द बनाएको ३१० रन युएईको हालसम्म कै दोस्रो ठूलो स्कोर हो ।
आजको टिममा नेपालले एक परिवर्तन गरेको छ । आज करण केसी, ज्ञानेन्द्र मल्ल , र प्रतिस जिसी बेन्चमा रहेका छन् । आजको टिममा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजबंशी, भिम शार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दिप लामिछाने रहेका छन् ।
यो लिग कै अन्तिम खेल हो । यो खेल नेपालको लागि सबैभन्दा महत्वपूर्ण छ । यो खेल जितेमा नेपालले सिधै एक दिवसीय विश्वकप ग्लोबल छनौट खेल्न पाउने छ। आजको खेलको लागि समर्थकहरु राति देखि नै टियु क्रिकेट मैदान पुगिसकेका छन् । आज नेपाललाई समर्थन गर्न काठमाडौँ बाहिरका समर्थकहरुपनि ठूलो संख्यामा काठमाडौँ आएका छन् ।
हाल अंक तालिकामा नेपाल ३८ अंक सहित चौथो स्थानमा छ। नेपालले युएई विरुद्दको खेल पनि जिते नेपालको ३६ खेलबाट ४० अंक हुने छ । ४० अंक हुँदा नेपाल अंक तलिकामा नामिबियालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लने छ । युएईलाई पराजित गर्दै नेपालले अंक तालिकामा तेस्रो स्थान हाँसिल गरेमा नेपालले सिधै एक दिवसीय विश्वकप ग्लोबल छनौट खेल्न पाउने छ। एक दिवसीय विश्वकप ग्लोबल छनौट जिम्बाबमा हुने छ। विश्वकप ग्लोबल छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।
तर वर्षाको कारण अंक बराबर गर्नु पर्ने बाध्यता आयो भने नेपाल र नामिबियाको समान ३९ अंक हुनेछ र राम्रो रन रेट भएकोले नेपाल भन्दा मथि रही नामिबिया सिधै एक दिवसीय विश्वकप ग्लोबल छनौट खेल्न पाउने छ।
नेपालले युएईसंगको यो अन्तिम खेल नजिते पनि नेपालले एक दिवसीय विश्वकप ग्लोबल छनौट खेल्न पाउने सम्भावना कायम नै रहने छ। तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ। नेपालको दिवसीय बरियता कायम नै रहने पक्का भईसकेको छ।