
पर्यटक बोक्ने सवारी साधानका चालक र सहचालकलाई पोसाक र परिचयपत्र अनिवार्य गरिएको छ । पर्यटक बोक्ने गाडीलाई व्यवस्थित गर्न पर्यटन विभागले पोसाक र परिचयपत्र अनिवार्य गर्न लागेको जनाएको छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले वैशाख १ गतेबाट पोसाक र परिचयपत्र अनिवार्य नगरे कारबारही गरिने बताएका छन् ।
अहिले विभिन्न होटल तथा ट्राभल कम्पनीहरुले पनि पर्यटक लक्षित सवारीसाधन सञ्चालन गर्दै आएका छन् । यीनलाई व्यवस्थित गर्न विभागले परिचयपत्र र पोसाकको अवधारणा ल्याएको हो । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटक बोक्ने सवारीसाधनलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले यो प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष रामशरण कार्कीले विभागले तोकेको मितिबाटै पूर्णरुपमा पोसाक र परिचयपत्र लगाउने गरी तयारी भइरहेको बताएका छन् ।
अहिले देशभर करिब ५ हजार पर्यटक बोक्ने सवारीसाधन सञ्चालनमा छन् । यसअघि नै पोसाक र परिचय पत्र अनिवार्य भनिए पनि कार्यान्वयनमा भने आएको छैन ।