पर्यटकको रोजाइमा पर्यो रानी झुलाको वनपँधेरी पुल

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Jun 10, 2023 | 10:03:55 AM मा प्रकाशित

laxmi  sunrise bank

झोलुङ्गे पुल भन्ने वित्तिकै मानिसहरु स्वभाविक रुपमै रमाउने गर्छन् । उनीहरु आफ्नो मनलाई वहकाउन व्यक्तिगत या पारिवारिकरुपमा पनि यस्ता ठाउँहरुमा घुम्न,मनोरञ्जन लिन, रिफ्रेस हुनआदिका लागि जाने गर्छन् । गाउँघरबाट अलिक पर, कोलाहल पनि त्यत्ति नहुने, स्वच्छ वातावरण, मनोरम प्राकृतिक दृष्यावलोन गर्न पनि सकिने यस्ता थुप्रै अवस्थाहरु झोलुङ्गे पुलले अवसर दिलाइदिन्छ । त्यसैले मानिसको आकर्षण हुन्छ र घुम्न पुग्छन् ।

अधिकांश झोलुङ्गे पुल पहाडी भेगमा गहिरा खोँचहरु भएका र पक्की पुल बनाउन कठिन भएका वल्लो गाउँ र पल्लो गाउँलाई जोड्न निर्माण गरिन्छ।  खोलाको वारी र पारी खम्बा ठड्यार, दह्रो गरी बनाएको अंकुसमा अड्काएर फलामको डोरीमाथि फलाम या आल्मोनियमको पत्ता जडान गरेर छेउछेउमा कुनै धातुबाटै बनेको जालीको बार लगाएर बनाइएका हुन्छन् झोलुङ्गे पुल ।

वारिपारि अड्किएको र बीच भाग हावामा तैरिए जस्तै देखिने, झोलुङ्गो जस्तै हल्लिने, पुलको मुनितिरबाट कलकल र छङ्छङ्ग गर्दै ठुलासाना खोला बगिरहेको मनोरम दृष्य देख्न पाइने भएरै पनि यस्ता पुलहरुले मानिसहरुको मन लोभ्याउने गर्छ । 

हो, ठ्याक्कै माथि उल्लेख गरिए झैँ आन्तरिक पर्यकटको आकर्षक नयाँ गन्तव्य बनेको छ भक्तपुर चाँगुनारायणस्थित ‘रानी झुलाको वनपँधेरो झोलुङ्गे पुल । जुन काठमाडौँबाट २५ किलोमिटर टाढा रहेको छ । हाल जेठ १२ गते नेकपा एमालेका नेता महेश बस्नेतले उद्घाटन गरेको ‘रानी झुला’ चाँगुनारायण नगरपालिकाको वडा नं ६ र ७ जोड्ने झोलुङ्गे पुल हो । त्यहाँका वासिन्दाहरुलाई आवतजावत गर्न सहज होस् भनि बनाएको उक्त झोलुङ्गे पुल  आन्तरिक पर्यकटका लागि नयाँ आकर्षक गन्तव्य बन्न पुगेको छ ।

त्यहाँ रहेको हरियाली जंगल र सल्लाको सुगन्धले मानिसलाई लोभ्याउँछ । २५० मिटर लामो झोलुङ्गे पुलको बीचमा जाँदा साच्चै नै रमाइलो महसुस हुन्छ, सरर चिसो हावा, पुलबाट तल हेर्दा हरियाली जंगल, माथि पहाडबाट बगेर आएको पानीको बहाबको छङछङको आवाज सुन्दा एकछिन मनै फुरुङ्ग हुन्छ । सारा पीडा आफैँ हराएर जान्छ । 

शनिबार सार्वजनिक बिदाको मौका पारी त्यहाँ घुम्न जाने गर्दछन् । करिब २ हजारभन्दा बढी पर्यटक शनिबारको दिन आउने गरेको एक स्थानीयले बताए । कतिपय बेला विदेशी पर्यटक पनि देखा पर्ने गर्छन् । 

खोला किनारमा रहेका हरियाली र खोलाको बीच भागबाट तलमाथि हेर्दा त झन् अति नै मन लोभ्याउने दृष्य देख्न सकिने भएर पनि होला मानिसहरु झोलुङ्गे पुलहरुमा आकर्षित भएको सजिलै आँकलन गर्न सकिन्छ ।

त्यहाँ गएपछि झोलुङ्गे पुलको मात्र नभइ एकदमै सुन्दर झरनाको पनि मज्जा  लिन सकिन्छ । त्यही झोलुङ्गे पुलबाट ३ किलो मिटर जति टाढा सुन्दर झरना हरेको छ । जहाँ मानिसहरु घुम्न, फोटो खिच्न र गर्मी महिनामा चिसो पानीमा नुहाउन पुग्छन्। जहाँ पैदल हिडेर जानुका साथै २ पाङग्रे सवारी लिएर जना सकिन्छ । रानी झुला पुलबाट पैदल करिब २० देखि २५ मिनेट जतिमा पुगिन्छ । वरपरको सुन्दर सल्लाको रुखबाट निस्केको सुगन्ध र हरियाली हेर्दैहेर्दै त्यहाँ पुगेको पत्तै हुदैन । साथै झोलुङगे पुलको केही तल मुहान पोखरी पनि छ, जुन पर्यकटहरुले रुचाएको ठाउँ मध्ये एक हो ।

कसरी जना सकिन्छ ?

रानी झुला काठमाडौँबाट ४ पाङग्रे गाडी,२ पाङग्रे गाडीमा जना सकिन्छ । हामी २ पाङग्रे गाडीमा जाँदा कोटेश्वोरबाट त्यहाँसम्म पुग्न करिब ३५ देखि ४० मिनेट लागेको थियो । भक्तपुरको सल्लाघारी हुँदै नगरकोट जाने बाटोबाट जना सकिन्छ । सडकको अवस्था भने राम्रो रहेको छ ।  

झोलुङ्गे पुलले जन्मायो साना पसल 

रानी झुलामा घुम्न आउने मानिसहरुले थोरै व्यक्तिहरुले मात्र बाहिरैबाट खाने कुरा बोकेर आउने देखियो । ति बाहेकले त्यहीँ रहेको नाङ्ले पसलहरुबाट पनि,चाउचाउ, बिस्कुट इत्यादि खाने कुराहरु किन्ने गर्दछ । जसले गर्दा त्यहाँका साना व्यवसायीलाई केही भए पनि हातमा पैसा पर्नेगर्दछ ।

त्यहीँको लोकल काँक्रोमा नुन खुर्सानी दलेर खानेदेखि आइसक्रिम र चटपटे जस्ता खानेकुरा मजाले बिक्री हुन्छ ।

के भन्छ स्थानीय सरकार ?

चाँगुनारायण नगरपालिका नगर प्रमुख जीवन खत्री भन्छन्,'रानी झुलाले यहाँ पर्यकट बढाएता पनि यसको मुख्य काम भनेको वडा ६ र वडा ७ का वासिन्दा आवतजावतलाई सहजीकरण गर्न बनाइएको हो ।' 

साथै यस झोलुङ्गे पुलको खासै आवश्यकता यहाँको नागरिकलाई नपरेको बताउँछन् । तर पर्यटक तान्ने आकर्षक क्षेत्र बनेकोमा खत्री खुसी नै देखिन्छन्। पर्यकट बढेसँगै दायित्व पनि बढेको उनी बताउँछन्। नजिकै खानेपानीको मुहान भएकाले त्यसलाई जोगाउने र त्यहाँ बढेको फोहोर महिलालाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ। 

साथै हामीले चाँगुनारायणको वडा ६ का वडाअध्यक्ष धनबहादुर लामासँग केही कुरा पनि गर्यौ। उनि भन्छन्, 'यहाँ बजेटको दुरुपयोग भयो यस ठाउँलाई झोलुङगे पुलको आवश्यकता थिएन। यही पुल दूरदराज दुगम क्षेत्रमा बनाइदिएको भए त्यहाँका स्थानीयलाई सहज हुन्थ्यो। म एक वडा अध्यक्ष भएको कारण मैले मेरो स्थानीयबाट गाली खाएको छु।' उनि थप्छन, 'कसैको निजी स्वार्थमा यो बनेको हो। फेरि खुसी हुँदै कुरा गर्छन, 'अब नबन्नु बनिहाल्यो हामीले सकारात्मक भएर सोच्नुपर्छ यहाँ पर्यटक बढ्नु भनेको हाम्रा स्थानीयहरुको जनजीविका माथि उठ्नु हो यसलाई अझै व्यवस्थितरुपमा अघि बढाउन हामीले सहयोग गर्नुपर्दछ।'


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved