जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष समितिले तयार पार्यो प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 07:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित ११ सदस्यीय संसदीय विशेष छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । हिजो बिहिबारबाट प्रतिवेदन लेखनको कार्य थालेको समितिले आज  बिहिबार प्रतिवेदनतयार पारिसकिएको समितिका एक सदस्यले जानकारी दिए ।

बजेट प्रस्तुत हुने अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यराती अनाधिकृत व्यक्तिलाई मन्त्रालयमै प्रवेश गराएर करका दरहरु हेरफेर गराएको आरोप लागेपछि जनार्दन शर्मामाथि छानबिन गर्न समिति बनेको थियो । उक्त समितिलाई सुरुमा दिईएको १० दिनको समयावधिमा काम नसकिएपछि पुनः १ हप्ता समय दिईएको थियो । थपिएको समय पनि आज सकिएको छ ।

 जनार्दन शर्मामाथि गम्भीर आर्थिक अपराध गरेको आरोप लागेको भएपनि यो आरोप पुष्टि हुने आधार समितिले भेट्न सकेन । प्रमाण नभेटेपनि संसदले दिएको समयसीमा भित्र प्रतिवेदन लेखनको काम सकेको हो। शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने तयारी समितिले गरेको छ ।

अर्थ मन्त्रालयले उक्त दिनको सीसीटीभी फुटेज डिलेट भएको जवाफ दिएपछि हार्डडिक्स मगाएर प्रहरीको फरेन्सीक ल्याबमा पठाईएको थियो । त्यहाँबाट फुटेज रिकभर भएको भएपनि मान्छे कोही पनि नचिनिने गरी ‘झ्यार झ्यार’ मात्रै देखिएको समिति सदस्यले बताएका छन् । विज्ञहरु नै राखेर हेर्दा पनि फुटेज केही नबुझिएको ती सदस्यले बताए ।

समितिका एक सदस्यका अनुसार सत्ता पक्ष र विपक्षका सांसदहरुको फरक फरक राय समेटिने गरी प्रतिवेदन बनेको छ।  ‘सीसीटीभी फुटेज केही बुझिएन, रिकभर भएपनि बुझ्दै नबुझिने मात्रै भेटियो’ समितिका एक सदस्यले भने, ‘अब आरोप प्रमाणित हुने कुनै पनि यथेष्ट प्रमाण नभेटिएपछि छानबिन समितिमा रहेका सांसदहरु पक्ष विपक्षमा विभाजित हुने कुरा स्वभाविक भईहाल्यो । सरकारको विपक्षमा रहेका साथीहरुले नोट अफ डिसेन्ट लेख्ने र पक्षमा रहेका साथीहरुले आरोप पुष्टि हुने आधार नभेटिएकाले सफाई दिनुपर्छ भन्ने आशयबाटै प्रतिवेदन लेखिएको छ।’

 ती सदस्यका अनुसार सीसीटीभी फुटेजबाहेक मन्त्रालयका सचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, राजस्व विभागका महानिर्देशक सहितका अन्य कर्मचारीसँग लिईएको बयान पनि प्रतिवेदनमा समेटिएको छ । तर, उनीहरु कसैले पनि बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको प्रवेश भएको स्वीकार गरेका छैनन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved