मन्त्रालयको भागवण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 08:36:50 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रालयको भागवण्डा टुंगो लगाउन आज नयाँ सत्ता गठबन्धनको बैठक बस्दै छ। बैठक दिउँसो २ बजेको लागि बोलाईएको छ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र , र जनता समाजवादी पार्टी मिलेर नयाँ सत्ता गठबन्धन निर्माण भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । उनले  एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई मन्त्री नियुक्त गरेका हुन्। कसैको पनि जिम्मेवारी नतोकिएकोले उनीहरु सबैले बिना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

आज हुने छलफलले मन्त्रालयले भागवण्डा टुंगो लगाएपछि थप मन्त्रीको सपथ हुने बताईएको छ । मन्त्रालयको भागवण्डा मिलाउन एक कमिटी गठन गरिएको छ । कमिटीमा एमालेबाट शंकर पोखरेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट डा. स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठ रहेका छन्। 

सत्ता गठबन्धनले सोमबार नै ८ बुँदे सहमति गरेको छ । जसमा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ । सोहि अनुसार सत्ता गठबन्धनले लोसपा, नेकपा एस लगायतका दलसँग पनि छलफल गर्ने छ ।

सोम्बर भएको सहमतिमा  सम्झौतामा एमालेको तर्फबाट अध्यक्ष केपी ओली, माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

यस्ता छन् ८ बुँदे सहमति जस्ताको तस्तै : 

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालका बीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निम्नअनुसार निष्कर्षमा पुगेका छौं :

१. राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने । सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्ने ।

२. रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारलाई समर्थन गर्ने ।

३. सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने । नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।

४. सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने ।

५. सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।

६. सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।

७. यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने I

८. हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved